सामसङका ७८ हजार कामदारले पाउने चार लाख डलर बोनस



काठमाडौँ।

सामसङले मेमोरी चिप बनाउने ७८ हजार कामदारहरूलाई औसतमा झण्डै चार लाख डलर बराबरको बोनस दिने भएको छ । विश्वकै सबैभन्दा ठूलो मेमोरी–चिप निर्माता कम्पनी सामसङलाई आर्टिफिसियल इन्टेलिजेन्सका (एआई) कारण भएको सञ्चालन नाफाको १०.५ प्रतिशत हिस्सा दिइने सम्झौतालाई कम्पनीको श्रमिक युनियनले अनुमोदन गरेपछि सो बोनस पाउने भएका हुन् ।

एआईका कारण धेरै नाफा भएकाले हाल कायम रहेका अन्य बोनस योजनाहरूमार्फत् वितरण गरिने १.५ प्रतिशतबाहेक थप बोनस नदिए हड्ताल गर्ने युनियनले धम्की दिएको थियो । सम्झौता भएपछि करिब २२ अर्ब ६० करोड डलरको सञ्चालन नाफाबाट मेमोरी चिप बनाउने कर्मचारीहरूले औसतमा झन्डै चार लाख डलरको बोनस पाउने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ ।

चिप डिभिजनका लागि छुट्टयाइएको कूल बोनस रकमको करिब ४० प्रतिशत हिस्सा सबैलाई समान रूपमा बाँडिनेछ भने बाँकी हिस्सा प्रत्येक बिजनेस युनिटको कार्यसम्पादनमा निर्भर हुनेछ । यस अनुसार मेमोरी–चिपका कामदारहरूले जनही चार लाख डलर जति पाउने अपेक्षा गरिएको छ ।

यो सम्झौता सामसङको दक्षिण कोरियाली प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सले गत वर्ष गरेको सम्झौताजस्तै हो । एसकेले कामदारहरूलाई आगामी १० वर्षसम्म सञ्चालन नाफाको १० प्रतिशत दिने वाचा गरेको थियो । यसको मतलब एसकेका ३५ हजार कामदारहरूले औसतमा जनही चार लाख ७३ हजार डलर बोनस पाउने अपेक्षा गरिएको छ ।

एआई प्रणालीहरूमा प्रयोग हुने हाई–ब्यान्डविथ मेमोरी चिप्सको तीव्र रूपमा बढ्दो मागका कारण यी दुवै कम्पनीहरू लाभान्वित भइरहेका छन् । सामसङ हालै १० खर्ब डलरको बजार पूँजीकरण हासिल गर्ने पहिलो दक्षिण कोरियाली कम्पनी बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार