कोहलपुर ।
राप्तीसोनारी गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिप्रति सचेत युवा समूह राप्तीसोनारीले कडा आपत्ति जनाएको छ। शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै समूहले सार्वजनिक सरोकारका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिनुको सट्टा आलोचनात्मक आवाजलाई दोषारोपण र दबाबमार्फत दबाउन खोजिएको भन्दै आपत्ति जनाएको हो ।
समूहका संयोजक गोपाल रोकायद्वारा जारी प्रेस विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक निकायका गतिविधिमाथि प्रश्न उठाउनु, सूचना माग्नु तथा जनप्रतिनिधि र कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गर्नु नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गरिएको छ। यस्ता सवालहरूको तथ्यगत जवाफ दिनुको सट्टा आलोचनालाई नै गलत सावित गर्ने प्रयास स्वस्थ लोकतान्त्रिक अभ्यास नभएको समूहको भनाइ छ।
गत जेठ १४ गते राप्तीसोनारी गाउँपालिकाले कार्यालय परिसरमा कर्मचारी तथा जनप्रतिनिधिमाथि अभद्र व्यवहार र धम्कीपूर्ण गतिविधि भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। त्यसै विज्ञप्तिप्रति प्रतिक्रिया जनाउँदै सचेत युवा समूहले पारदर्शिता, आर्थिक अनुशासन, सेवा प्रवाह तथा निर्णय प्रक्रियासँग सम्बन्धित उठाइएका प्रश्नहरूबाट ध्यान मोड्न खोजिएको आरोप लगाएको छ।
समूहले यदि कसैले कानुनविपरीत कार्य गरेको भए निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै आलोचनात्मक आवाजलाई दबाब, त्रास वा कानुनी दुरुपयोगमार्फत नियन्त्रण गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिएको छ।
सार्वजनिक सरोकारका विषयमा खबरदारी गर्नु कुनै व्यक्ति वा संस्थाविरुद्धको अभियान नभई सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको पक्षमा गरिएको नागरिक दायित्व भएको समूहको भनाइ छ। साथै जनताको करबाट सञ्चालित निकायहरूले उठाइएका प्रश्नको तथ्य र प्रमाणका आधारमा जवाफ दिनुपर्ने उनीहरूको माग छ।
पत्रकार सम्मेलनमार्फत समूहले सम्बन्धित पक्षलाई भावनात्मक प्रतिक्रिया भन्दा माथि उठेर विषयवस्तुको तथ्यपरक सम्बोधन गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा कानुनलाई प्रतिशोध वा दबाबको माध्यम नबनाउन आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्