‘गोल्डकपले फुटबलमार्फत कोहलपुर चिनाउन भूमिका खेलेको छ’



हामी चौथो गोल्डकपसम्म आइपुग्दा धेरै कठिनाई झेल्दै, सिक्दै आइरहेका छौँ । विगतका प्रतियोगिता दर्शकहरूकै उपस्थितिका कारण सफल भएका हुन् । कोहलपुरलाई फुटबलका माध्यमबाट चिनाउने अभियान हो । आर्थिक रूपमा चलायमान गराउने र खेल क्षेत्रको विकास गर्ने हो । यसपटक टिकट फ्री गरिएको छ । निःशुल्क रूपमा प्रतियोगितामा सहभागिता जनाउन सक्नुहुनेछ । हाम्रो कामलाई हौसला प्रदान गर्न सहभागिताका लागि सम्पूर्णलाई आह्वान गर्न चाहन्छु।

                               कर्णबहादुर बस्नेत, संयोजक कोहलपुर गोल्डकप–२०८३

कोहलपुर गोल्डकपका विषयमा जानकारी गराइदिनुहोस् न ?

श्चिम नेपालको बहुप्रतिक्षित तथा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘कोहलपुर गोल्डकप’को चौथो संस्करण २०८३ हुँदैछ । विगतको तीन संस्करणमा प्राप्त अपार समर्थन र सफलतापछि कोहलपुर गोल्डकपको चौथो संस्करण निकै उत्साहका साथ सञ्चालन गर्दैछौँ । प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी हुँदै आएका छन् । गोल्डकप क्षेत्रीयस्तरका खेलाडीहरूको समेत प्रतिभा प्रर्दशन गर्ने थलोको रूपमा विकास भएको छ । यो गोल्डकपले पहिलो संस्करणदेखि दर्शकहरूको धेरै माया पाउँदै आएको छ । पहिलो संस्करणमा हामीले निःशुल्क प्रवेशको व्यवस्था गरेका थियौँ । त्यतिबेला दशौँ हजार दर्शकहरू उपस्थित हुनु भएको थियो । दोस्रो र तेस्रोमा तुलनात्मक रूपमा केही कम दर्शकहरूको उपस्थिति भयो । अहिले त प्याराफिटको व्यवस्था भएको छ । बढीभन्दा बढी दर्शकहरूको सहभागिता हुने अपेक्षा गरेका छौँ । एकपटकमा ५ हजार जना दर्शक अट्ने क्षमता रहेको छ । यसपटकको प्रतियोगितालाई पहिलाको भन्दा भव्य र सभ्य बनाउने योजना रहेको छ। यसपटक प्रतियोगितासँग निजी व्यावसायिक घराना पनि जोडिएको छ । कोहलपुर गोल्डकपमा पहिलोपटक मुख्य प्रायोजक र सहप्रायोजकहरू जोडिएका छन् । कोहलपुर नगरपालिका मुख्य प्रायोजक र अन्य पालिका प्रायोजकका रूपमा रहेका छन् ।

कोहलपुर गोल्डकप पहिलोदेखि चौथो संस्करणसम्म आइपुग्दासम्म तपाईँहरूको यात्रा कस्तो रह्यो ?

मैले पहिलो गोल्डकपमा सहयोगीको रूपमा भूमिका निर्वाह गरेँ । दोस्रो संस्करणमा सहसंयोजकको रूपमा भूमिका निर्वाह गरेको थिएँ । तेस्रो संस्करणमा आयोजक क्लबले मलाई संयोजकको जिम्मेवारी दियो । यसपटक पनि म प्रतियोगिताको संयोजकको भूमिकामा छु । वास्तवमा यो मेरो लागि चुनौती र अवसर दुवै थियो । प्रतियोगितालाई शान्त तथा मर्यादित र सफल रूपमा सम्पन्न गर्नका लागि मैले भूमिका खेलिरहेको छु । गोल्डकप ठूलो धनराशी लाग्ने प्रतियोगिता हो । आम बुझाइ सामान्य खर्च हुन्छ भन्ने छ । तर यसको व्यवस्थापनमा हामीलाई धेरै खर्च लाग्ने गर्दछ। प्रतियोगितामा लाखौँ रूपैयाँँ खर्च हुन्छ । अन्य व्यवस्थापनका लागि थुप्रै काम गर्नुपर्ने हुन्छ । पहिलोपटक प्रतियोगिता आयोजना गर्दा धेरैले पत्याएका थिएनन् । तर प्रतियोगिता हामीले सोचेको भन्दा राम्रो भयो । दोस्रो र तेस्रो संस्करण झन् राम्रोसँग सम्पन्न गर्न हामी सफल भयौँ । यसपटकको प्रतियोगिता अन्यभन्दा झन् परिस्कृत र भव्य हुनेमा हामी विश्वस्त छौँ ।

कोहलपुर गोल्डकप सञ्चालनका लागि कोहलपुरसहित बाँकेका स्थानीय तहको भूमिका कस्तो छ ?

कोहलपुर गोल्डकपको पहिलो संस्करणदेखि कोहलपुर नगरपालिकाको महत्वपूर्ण भूमिका रहेको छ । प्रतियोगिताको सञ्चालनका लागि आर्थिक पाटो मात्रै नभएर हामीलाई मार्गनिर्देशन, समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै अभिभावककीय भूमिका कोहलपुर नगरपालिकाले खेलिरहेको छ । नेतृत्वका रूपमा नगरप्रमुख पूर्णप्रसाद आचार्य ज्यूसहित उपप्रमुख ज्यू र कर्मचारीहरूको समेत राम्रो सहयोग कोहलपुर गोल्डकपले पाएको छ । बाँके जिल्लाका अन्य स्थानीय सरकारभन्दा कोहलपुर नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि निकै नै ठूलो लगानी समेत गरेको छ । त्यसको प्रतिफल कोहलपुर गोल्डकप पनि हो । अहिले रंगशाला समेत निर्माण गरिरहेका छौँ । अन्य थुप्रै खेलकुदका गतिविधि नगरपालिकाले गर्दै आएको छ । यसैगरी कोहलपुर गोल्डकप सञ्चालनको लागि बाँकेका केहीबाहेक अन्य स्थानीय सरकारले समेत हामीलाई राम्रो सहयोग गर्दै आएका छन् । कोहलपुर गोल्डकप सफल हुनुमा आंशिक रूपमा उहाँहरूको समेत भूमिका रहेको छ ।

कोहलपुर गोल्डकपले फुटबल विकाससँगै पर्यटन प्रवद्र्धन र आर्थिक क्षेत्रमा कस्तो भूमिका खेलेको छ ?

कोहलपुर गोल्डकपमा सुरुवातबाटै आठ वटा टिम सहभागी हुँदै आएका छन् । अफ्रिकी मुलुक क्यामरुनदेखि नाइजेरियाका टिमहरूको सहभागिता रहँदै आएको छ । नेपालका ‘ए’ डिभिजन क्लब, साविक विजेता र आयोजक निरन्तर सहभागी हुँदै आएका छन् । विभिन्न क्षेत्रबाट खेलाडीसहित अन्य महानुभावहरू कोहलपुरमा आउनु मात्रै हुँदैन । उहाँहरूको यहाँका विभिन्न स्थान घुम्नुहुन्छ, यहाँको रहनसहन, विकास निर्माण लगायतका क्षेत्रको प्रत्यक्ष अनुभूत गर्नुहुन्छ । यसले यहाँको खेलकुद विकास, होटल व्यवसाय प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा समेत भूमिका खेलेको छ । कोहलपुरलाई विभिन्न रूपमा चिनाउनको लागि गोल्डकपले भूमिका खेलिरहेको छ । गत वर्ष लुम्बिनी प्रदेशको ‘घुम्न जाऔँ बर्दिया’ भन्ने थियो । हामीले फाइनल पुग्ने दुई वटा टोलीका खेलाडीहरूलाई बाँकेमा सफारी गराएर बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलसम्म घुमाएका थियौँ । यसपटक पनि बाँके राष्ट्रिय निकुञ्जमा हामी घुमाउँछौँ ।

कोहलपुर गोल्डकपमा अन्य कुराजस्तो दर्शकको लागि के कुरा विशेष छ ?

कोहलपुर फुटबल रंगशाला यति छिटो निर्माण गर्न प्रेरित गरेको नै कोहलपुर गोल्डकपले हो । कोहलपुर गोल्डकप आयोजना गर्दैगर्दा आयोजक र स्थानीय सरकारले संघीय सरकार र एन्फालाई बजेट विनियोजनका लागि ठूलो मेहेनत गरेको प्रतिफलका रूपमा रंगशाला निर्माण भइरहेको छ । अहिले सात करोड रूपैयाँँमा रंगशाला निर्माण भइरहेको छ । अहिले तीनवटा प्याराफिट निर्माण भइरहेको छ । अहिलेको संस्करणमा साना प्याराफिटमा दर्शकहरू बसेर अवलोकन गर्न सक्नुहुनेछ । हामीलाई विशेष गरेर खेलाडीलाई प्रोत्साहित गर्ने हो । त्यसैले हामीले खेलमैदानलाई निकै परिमार्जित गरेका थियौँ ।

अन्त्यमा कोहलपुर गोल्डकपमा सक्रिय सहभागिताका लागि के आह्वान गर्नुहुन्छ ?

हामी चौथो गोल्डकपसम्म आइपुग्दा धेरै कठिनाई झेल्दै, सिक्दै आइरहेका छौँ । विगतका प्रतियोगिता दर्शकहरूकै उपस्थितिका कारण सफल भएका हुन् । कोहलपुरलाई फुटबलका माध्यमबाट चिनाउने अभियान हो । आर्थिक रूपमा चलायमान गराउने र खेल क्षेत्रको विकास गर्ने हो । यसपटक टिकट फ्री गरिएको छ । निःशुल्क रूपमा प्रतियोगितामा सहभागिता जनाउन सक्नुहुनेछ । हाम्रो कामलाई हौसला प्रदान गर्न सहभागिताका लागि सम्पूर्णलाई आह्वान गर्न चाहन्छु । सम्पूर्ण फुटबलप्रेमी खेलप्रेमीहरूलाई चुले निम्तो दिन चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार