‘नेपालगन्ज पश्चिमको एउटा आर्थिक मुहान हो’



सरकारले १७ लाख रोजगारी सिर्जना गर्ने भनेको छ । रोजगारीसँग धेरै कुरा जोडिएर आउँछ । अहिले पनि हामीसँग टेक्निकल जनशक्ति नभएर भारतबाट लिएर आउनु परिरहेको छ । त्यसैले प्राविधिक कलेज कसरी विकास गर्ने, उद्योगलाई कसरी प्रवद्र्धन गर्ने, आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

                                  सञ्जय अग्रवाल, उद्योगी नेपालगन्ज

औद्योगिक हिसाबले अन्य समकक्षी सहरभन्दा नेपालगन्ज पछाडि परेको भनिन्छ । तपाईँको मूल्यांकन के छ ?

यो गम्भीर सवाल हो । हामी यो कुरालाई लिएर पीडित पनि छौँ । नेपाल भन्नाले काठमाडौँलाई मात्रै मानिन थालियो । अरु सहरहरु सीमाको नजिक भएकोले त्यसको लाभ लिन सके । अर्काेतिर मुख्य बिक्री केन्द्र काठमाडौँलाई मात्रै मानिन थालियो । कुनै स्किम आयो काठमाडौँलाई मात्रै केन्द्रमा राखियो । अर्काेतिर ढुवानीले पनि महत्वपूर्ण भूमिका खेल्ने हुँदा यहाँका उद्योगहरुको उत्पादन काठमाडौँ पु¥याउनुपर्याे भने हामी महंगोमा पर्छाैँ । जसले गर्दा हामी अरु सहरको तुलनामा पछाडि प¥यौँ ।

यहाँका उद्योगहरुले यहीँ खपत हुने उत्पादनहरु गरिरहेका छैनन् ? यहाँका सकारात्मक पक्षहरु के छन् ?

नेपालगन्ज पश्चिमको एउटा आर्थिक मुहान हो । कर्णालीलाई केही पनि वस्तु चाहियो भने त्यो नेपालगन्जबाटै जान्छ । तर हामी व्यापारीहरुले पनि अब परम्परागत तरिकाले व्यापार गरेर हुँदैन । अब हामीले पनि व्यापार गर्ने तरिका बदल्नुपर्छ । औद्योगिकीकरणतर्फ जानुपर्छ । सानो उद्योगबाटै लगानी गरेर पनि गर्न सकिन्छ । सानो उद्योगमा लगानी कम हुन्छ, मार्जिन बढी हुन्छ, रिटर्न पनि बढी पाइरहेको हुन्छ । रोजगारी पनि बढी दिइरहेको हुन्छ । एउटा घरेलु उद्योगमा परिवारकै सदस्यहरु सहभागी भएर सञ्चालन भएका चाउमिन उद्योगहरु भयो, सालका पातहरुको अर्गानिक प्लेट बनाउने उद्योगहरु भयो यीजस्ता तमाम कामहरु भएका छन्, यसमा सम्भावना पनि छ । राज्यले कुन किसिमको उद्यागलाई प्रवद्र्धन गर्छ भन्ने मुख्य कुरा हो । नेपालगन्ज यसको कुरै उठेको छैन, जसको नेपालगन्जमा सम्भावना छ । अहिले बर्दियामा कर कम भएकोले उद्योगहरु त्यहाँ जाने क्रम बढेको छ । नेपालगन्जमा आउने उद्योगहरु पनि बर्दियामा गैरहेको छ । त्यसकारण हाम्रा जनप्रतिनिधिहरुले के बुझ्नुप¥यो भने सानो सानो सुधारलाई ध्यान दिनुप¥यो । मेरो कुरा तितो पनि लाग्न सक्छ ।

हाम्रो व्यापार संघले विकासको कुराभन्दा पनि भन्सार कडाइको कुरा मात्रै उठाइरहेको देखिन्छ । म के भन्छु भने उत्पादन कसरी बढ्छ ? व्यापारको स्ट्याडर्ड कसरी बढ्छ ? त्यसमा पनि त लाग्नुप¥यो नि । कसरी औद्योगिक क्षेत्रको विकास गर्न सकिन्छ ? त्यसतर्फ ध्यान दिनुपर्छ । अहिले सबैभन्दा सम्भावना भएको क्षेत्रका रुपमा पर्यटन व्यवसाय उदाएको छ । पर्यटन व्यवसायलाई जति सहज रुपले विकास गर्न सकिन्छ भन्नेतिर ध्यान दिनुपर्छ । नेपालगन्जलाई औद्योगिक सहर कसरी बनाउने ? औद्योगिक क्षेत्र चाँडो निर्माण गर्ने, नेपालगन्जमा पनि कसरी करमुक्त गरेर औद्योगिक विकास गर्न सकिन्छ भन्नेमा संघले कुरा उठाइदिएको भए राम्रो हुन्थ्यो होला । उद्योग वाणिज्य संघको प्रसंग आउँदा, समय समयमा विवादका कुराहरु पनि आइरहन्छन् । पछिल्लो समय संघका अध्यक्ष आफैँ भन्सार गएर राज्यले गर्नुपर्ने काम गरे भनेर आलोचना भइरहेको छ । उहाँहरु तपाईँले भनेको तिर किन नलाग्नुभएको होला ? यसमा उहाँहरुको आफ्नै दृष्टिकोण होला । अध्यक्ष जी आफैँ परिपक्व मान्छे हुनुुहुन्छ । तर मेरो विचारमा उहाँहरुले गर्नुभएको काम राज्यले गर्ने काम हो । हामी जनप्रतिनिधिमूलक संस्थाले त आवाज उठाइदिने हो । हामी आफैँ गएर सरकारी कर्मचारीले गर्ने काम गर्नेभन्दा उहाँहरुलाई नै विश्वास गर्ने हो । उहाँहरुको जिम्मेवारी उहाँहरुलाई नै छोडिदिनुपर्छ होला । बाँकी अध्यक्ष जी को विचार के छ उहाँलाई नै सोध्दा उपयुक्त होला ।

नेपालगन्जमा उत्पादनका हिसाबले कस्ता उद्यमहरुको सम्भावना बढी छ ?

मलाई के लाग्छ भने नेपालसँग प्राकृतिक स्रोतको उपलब्धता उच्च छ । आयात र निर्यात बराबरमा बनाउनुपर्छ भन्ने विषय लामो समयदेखि उठ्दै आएको कुरा हो । हामीकहाँ जडिबुटीको सम्भावना धेरै छ । तर, अहिले त्यो सामान्य रुपमा भइरहेको छ । यसलाई प्रवद्र्धन गर्नुपर्ने हुन्छ। त्यसको खेती कसरी गर्न सकिन्छ । त्यसबारेमा ठाउँ हेरेर किसानहरु प्रशिक्षित गर्नुपर्ने हुन्छ । पहाडमा स्याउ, सुन्तला जस्ता फलफूलहरुको प्रशस्त सम्भावना छ । त्यसलाई प्रशोधन गरे जुस बनाएर बाहिर कसरी पठाउने भन्ने योजना चाहिन्छ । हामीले पर्यटन उद्योगलाई पनि सानो रुपमा लिनुहुँदैन । कहीँ पनि पर्यटनले ठूलो भूमिका खेलिरहेको छ । दुबई जस्तो देशमा पनि पर्यटनले ठूलो भूमिका खेलेको छ । हामीसँग त सबै चिज छ । पहाडी क्षेत्रजस्तो रमणीय भूगोल हामीसँग छ । मलाई के लाग्छ भने सामान मात्रै निर्यात गर्ने सोच्नुहुन्न । पर्यटनको रुपमा यहाँका डाँडाखोलाहरु पनि निर्यात गर्न सकिन्छ । एजुकेसनल बिजनेशमा पनि धेरै पैसा छ । शिक्षामै धेरै पैसा बाहिर गइरहेको छ । अर्काेतिर मन्दिरलाई हामीले सानो रुपमा लिइरहेका छौँ । पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, मनकामना जस्ता मन्दिरहरुमा पर्यटकलाई आकर्षित गर्न सक्छौँ । हामी भारतमा गएर पैसा खर्च गरेर आउँछौँ । उनीहरुलाई यहाँ किन नबोलाउने । मन्दिरमा पनि कम पैसा छैन ।
त्यसका लागि पर्यटकलाई एकद्वार प्रणालीबाट इन्ट्री गर्ने र अनावश्यक झन्झटहरु हुन नदिने व्यवस्था गर्नुपर्छ । तर उनीहरुलाई हामी ठाउँ ठाउँमा दुःख दिन्छौँ । त्यही ह्यारेसमेन्टले गर्दा पर्यटकहरु यहाँ नआएर अन्त जाने गरेको मैले पाएको छु । उनीहरुका लागि बोलि भाषा, खान, पान सबै मिल्ने भएको रोजाइमा पर्नुपर्ने हो नि । हामीले यी कुराहरुलाई ध्यान दियौँ भने धेरै राम्रो हुन्छ ।

तपाईँले भनेजस्तै भारतीय नयाँ पुस्ता नेपाल आउन लालायित छन् भन्ने देखिन्छ । त्यसको वातावरण बनाउन कसको के भूमिका हुनुपर्ला ?

नीति बनाउने काम सरकारको हो । तर सम्भावना देखाइदिने काम यहाँका व्यवसायीहरुका अगुवा तथा नेतृत्वको पनि हो । सरकारसमक्ष हामीले सही मुद्दाहरु उठाउनुपर्छ । नेपालगन्ज–दिल्ली उडानको कुरा पनि उठिराख्छ । त्यो भयो भने रामै्र होला । तर मैले भन्दै आएको छु, धेरै पर्यटक आउने स्थलमार्गबाट नै हो । त्यसरी आउने पर्यटकलाई हुने ह्यारेसमेन्ट बन्द गर्नैपर्छ । होटल व्यवसायीहरुले पनि विभिन्न स्किमहरु पनि लागू गर्नुप¥यो । होटल व्यवसायीहरु भारतमा गएर सेमिनार गर्ने र यहाँ आउन आह्वान गर्ने गर्नुप¥यो । त्यहाँका पर्यटन व्यवसायीहरु यहाँ आएर सेमिनारमा सहभागी भइरहेका छन्, जुन सकारात्मक छ । त्यहीअनुसार हामी पनि त्यहाँ गएर हामीकहाँ दिइने सुविधाबारे जानकारी दिनुपर्छ ।

अन्तमा, नयाँ सरकारको नीति कस्तो हुनुपर्छ भन्ने यहाँको सुझाव छ ?

सरकारले १७ लाख रोजगारी सिर्जना गर्ने भनेको छ । रोजगारीसँग धेरै कुरा जोडिएर आउँछ । अहिले पनि हामीसँग टेक्निकल जनशक्ति नभएर भारतबाट लिएर आउनु परिरहेको छ । त्यसैले प्राविधिक कलेज कसरी विकास गर्ने, उद्योगलाई कसरी प्रवद्र्धन गर्ने, आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । अहिलेको सरकारको नियत सफा छ भन्ने देखिन्छ । तर सरकार आएको धेरै भएको छैन, सुरुमै तोडफोडको कुरा नगर्नुस् । अहिले निर्माणको कुरा गर्नुहोस् । सुरुमै बस्ती उठाइदिन्छौँ नभन्नुस् । जब तपाईँले रोजगारी सिर्जना गर्नुहुन्छ, त्यसपछि मानिसहरु आफैँले जग्गा किनिहाल्छन् नि । बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गर्ने, देशका उद्योगीहरुलाई पवद्र्धन गर्ने र आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राख्ने हो भने देश चाँडै सुध्रिन्थ्यो होला कि ?

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार