मिसन संवाददाता,कोहलपुर (बाँके),
स्वतन्त्र पार्टी (रास्वपा) बैजनाथ गाउँपालिका समितिले बैजनाथ गाउँपालिकाले संघीय सरकारको निर्देशनविपरित विद्यार्थी भर्ना सुरुको भन्दै आपत्ति जनाएको छ । पार्टीको बैजनाथ गाउँपालिका समितिले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनविपरीत भर्ना प्रक्रिया सञ्चालन गरिनु अत्यन्त गम्भीर, आपत्तिजनक र निन्दनीय कार्य भएको बताएको छ ।

सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि २० गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने तथा २१ गतेदेखि पठनपाठन सुरु गर्ने स्पष्ट निर्देशन जारी गरेको थियो । तर,बैजनाथ गाउँपालिकाले वैशाख ७ गतेदेखि नै भर्ना प्रक्रिया सुरु गरेको भन्दै रास्वपाले औपचारिक रुपमा असन्तुष्टि जनाएको हो ।
बैजनाथ गाउँपालिका समितिका सभापति धन बहादुर बस्नेतद्धारा विज्ञप्तिमा सरकारको निर्देशनविपरित सुरु गरिएको भर्ना अभियान सामान्य प्रशासनिक कमजोरी नभई प्रचलित कानुन,संघीय संरचना तथा सरकारको निर्णयमाथिको ठाडो चुनौती भएको बताए ।
रास्वपाले तत्काल उक्त भर्ना प्रक्रिया स्थगन गरी छानबिन गर्न माग गरेको छ । साथै, यस कदमबाट शिक्षा क्षेत्रमा पर्ने सम्भावित असरको जिम्मेवारी गाउँपालिका कार्यालयले लिनुपर्ने स्पष्ट गरेको छ ।पार्टीले अभिभावक तथा विद्यार्थीलाई पनि संघीय सरकारको निर्देशनअनुसार वैशाख १५ गतेपछि मात्रै भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । शिक्षा क्षेत्रमा पारदर्शिता, सुधार र विद्यार्थी हितको पक्षमा आफूहरू प्रतिबद्ध रहने सभापति बस्नेतले बताए । उनका अनुसार पहिलो चरणमा विज्ञप्ति जारी गरेर गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ ।









प्रतिक्रिया दिनुहोस्