गुल्मी, गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।
यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा(काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि रु १० हजार ७०२ निर्धारण गरिएकोे उनले जानकारी दिए । निगमले यसअघि काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।
विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा रु तीन हजार ४०२ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए । उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ ।
वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ । नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ(रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ ।
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्