कोहलपुर– ६ मा वडास्तरीय ब्याडमिन्टन सुरु



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । रझेना स्पोट्र्स क्लवको आयोजनामा नयाँ वर्षको उपलक्ष्यमा वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३ सुरु भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै नगरप्रमुख आचार्यले स्वस्थ रहन खेल खेल्न आवश्यक रहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाले खेलकुदमा लगानी गरेको छ । उनले वडा नम्बर ६ मा निर्माणाधिन मिनी कर्बडहललाई पूर्णता दिनको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कोहलपुर खेलकुदको सहरका रूपमा विकसित हुँदैछ । स्थानीय सरकारले खेलकुदमा लगानीपनि धेरै गरिरहेको छ ।’

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्रीकृष्ण थारूले वडा सरकारको सहयोगमा प्रतियोगिता सुरु भएको बताए । उनका अनुसार विभिन्न खेलमध्ये ब्याडमिन्टन पनि एउटा हो । खेलका माध्यमबाट वडालाई चिनाउनको लागि प्रतियोगिता सुरु गरिएको उनको भनाइ थियो ।

वडा सदस्य गोविन्द वाग्लेका अनुसार प्रतियोगितामा २५ वटा टिमको सहभागिता रहेको छ । कोहलपुर नगरपालिकाका अधिकांश वडाबाट टिमहरूको सहभागिता रहेको उनले जानकारी दिए । वडा सदस्य वाग्लेका अनुसार विजेताहरूलाई मेडल, प्रमाण पत्र प्रदान गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार