खजुरा (बाँके)।
एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा जेबिएम फुटबल एकेडेमी लखनउ प्रवेश गरेको छ । खजुरा गाउँपालिका–४ डि गाउँस्थित मिनी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा जेबिएमले गोर्खा ब्वाइज स्पोर्टस् क्लव बुटवललाई १ का विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
न्यू डाँफे स्पोर्टस् क्लवको आयोजनामा जारी प्रतियोगितामा जेबिएनका जर्सी नम्बर ७ का निखिल तामाङले खेलको १२औँ मिनेटमा टिमको लागि पहिलो गोल गरे । यसैगरी जेबिएनकै ९ नम्बर जर्सीका सुरज भण्डारीले ४३औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । भने जर्सी नम्बर १२ का उमेश दर्लामीले ६०औँ मिनेटमा तेस्रो गोल गरे ।
गोर्खाका जर्सी नम्बर १५ का सुजन थारूले सान्त्वना गोल गरे । दोस्रो हाफको सुरुमै कप्तान सुजन मगर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित जेबिएनले सम्हालिएर खेल्दै अग्रता जोगाउन सफल भयो । गोर्खाका जर्सी नम्बर २१ का उमेश थापा पनि खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।
जेबिएमका गोलरक्षक उमेश कुमार प्लेयर अफ द म्याच घोषित भए । गोलरक्षक उमेशले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गरे । यसैगरी दोस्रो सेमिफाइनल खेल आज शनिबार फोर ब्रदर्श एफसी र नाईजेरियन जोन क्लवबीच हुनेछ । प्रतियोगिताको फाइनल आइतबार हुने आयोजक न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।
न्यू डाँफे स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, संकटा एफसी, न्यू डाँफे स्पोर्टस् क्लब, जेभिएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लव सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता थियो । प्रतियोगिताको बिजेतालाई सात लाख रूपैयाँँ र द्वितीयलाई चार लाख रूपैयाँँ नगद पुरस्कार प्रदान गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्