काठमाडौँ, नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका- ३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् । अभियानको सुरुआत गर्दै उनले सक्नेले यस अभियानमा सहयोग गर्न र नसक्नेले असहयोग नगर्न आग्रह गरे ।

‘मैले पार्टी सभापतिका रूपमा भनेँ, एउटा सोचका साथ म आएको छु, यो काम सम्पन्न गर्ने हो, सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले कृपया मलाई असहज अवस्था सृजना नगरिदिनुहोला । कोही साथीहरू विशेष कारणले गर्दा आफ्नो ठाउँमा जान नसक्ने हुनुहोला, कोही नेपालबाहिर हुनुहुन्छ होला, कोही अशक्त हुनुहुन्छ, पार्टीले यो परिस्थिति बुझेको छ, त्यस्ता साथीहरूका लागि हामी विशेष व्यवस्था गर्छौं’, सभापति थापाले भने ।
क्रियाशील सदस्यताका सम्पूर्ण विषयका लागि ‘डिजिटलाइज’ गरिएको जानकारी दिँदै उनले सदस्यता अद्यावधिकरणका काममा सम्पूर्ण साथीहरूको सहयोग आवश्यक पर्ने बताए ।
सभापति थापाले पार्टीका जिम्मेवार व्यक्तिहरूले नबुझेका विषयका बारेमा पार्टी कार्यालय आएर महामन्त्रीसँग बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक चर्चा नगर्न आग्रह गरे । विगतमा अरूले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस पार्टी सभापति थापाले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्