परवाहामा ‘लोक संस्कृति उत्सव’ सम्पन्न



धनुषा, जिल्लाको औरही गाउँपालिका-२ परवाहामा स्थानीय लोक, संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले ‘परवाहा लोक संस्कृति उत्सव’ आयोजना गरिएको छ । युवा नाट्यकला परिषद् परवाहाको आयोजना तथा औरही गाउँपालिकाको सहयोगमा उत्सव सम्पन्न भएको हो । युवा नाट्यकला परिषद्का अध्यक्ष अनिल मिश्रले मौलिक लोक, संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताए ।

उनका अनुसार सोमबारेदेखि सुर भई आजसम्म सञ्चालन भएको उक्त उत्सवमा मिथिलाञ्चलका विविध सांस्कृतिक विधा प्रस्तुत गरिएका थिए । उत्सवका क्रममा ‘सांस्कृतिक सङ्क्रमण’ तथा ‘सांस्कृतिक पुनरुत्थान कि पुनर्विचार’ विषयमा विचार विमर्शसमेत गरिएको थियो । त्यसैगरी विद्यापति गीत, संस्कार तथा व्यवहारसम्बन्धी गीत, गोधना र गाथा गायन प्रस्तुत गरिएको आयोजकले जनाएको छ । लोरिक, दिनभद्री, सलहेस नाचलगायत मिथिलाञ्चलका प्रख्यात ऋतुगीत, श्रमगीत तथा नारदी कीर्तनसमेत प्रस्तुत गरिएको थियो ।

अध्यक्ष मिश्रले आधुनिकताको प्रभावका कारण मौलिक संस्कृति ओझेलमा पर्न थालेकाले यसको संरक्षण अपरिहार्य भएको उल्लेख गर्नुभयो । गाउँघरमा रहेका पुराना लोकगीत, नाच तथा परम्परागत ज्ञानको अभिलेखीकरण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यसहित उत्सव आयोजना गरिएको उनको भनाइ छ । उनले भने, “हाम्रो पहिचान हाम्रो संस्कृति हो । नयाँ पुस्तामा यसको महत्त्व क्रमशः हराउँदै गएकाले यसलाई जोगाउनु आवश्यक छ ।”

उत्सवमा स्थानीय कलाकारका साथै सांस्कृतिक अभियन्ता, अनुसन्धानकर्ता तथा सरोकार भएकाको उल्लेख्य सहभागिता थियो । मिथिला क्षेत्रको सांस्कृतिक विविधतालाई उजागर गर्दै परवाहा क्षेत्रलाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार