बैठकमा सही विषय उठाउँदा ट्रोल बनिन् प्रदेशसभा सदस्य सञ्जु



कोहलपुर (बाँके) ।

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको सातौँ बैठकमा राखेको अभिव्यक्तिका कारण प्रदेशसभा सदस्य सञ्जुकुमारी थारू ट्रोलको सिकार बनेकी छन् । चैत २३ गतेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य थारूले आफूहरू निर्वाचित हुँदै पोसाक उपलब्ध गराउने भने पनि अहिलेसम्म उपलब्ध नगराएको भन्दै प्रश्न उठाएकी थिइन् ।

बैठकमा उनले भनेकी थिइन्, ‘हामी निर्वाचित भइसकेपछि सचिवालयले डे«सका लागि कोटहरू उपलब्ध गराउने भनेको थियो । हामीले नापचाँज पनि गरेका थियौँ । नापजाँचमा तलमाथि भएका कारण म र केही माननीयहरूले अझै पनि डे«स (पोसाक) पाएका छैनौँ । पटकपटक सचिवालयमा कुरा राख्दा समेत सुनुवाइ हुन सकेको छैन ।’

तर बैठकलगत्तै विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा उनको अभिव्यक्तिलाई लिएर विवाद सुरु भएको थियो । उनले सभामा ८ मिनेट गरेको सम्बोधनमा समसामयिक राष्ट्रिय बहसका मुद्दा, प्रदेशसभाले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र सुशासन लगायतका विषयमा गम्भीर मुद्दा उठाएकी थिइन् । सम्बोधनको अन्तिममा प्रदेश सरकारको ध्यानाकर्षणका लागि बोलको दश सेकेण्डको भिडिओ काटेर उनलाई ट्रोल बनाइएको थियो ।

प्रदेशसभा सदस्यका हैसियतले वैधानिक रूपमा पाउने पोसाकको मुद्दा उठाउँदा उनले मानसिक प्रताडना र चरित्र हत्याको पीडा भोग्नु परेको छ । आफ्नो अभिव्यक्तिका विषयमा विवाद सिर्जना गरिएपछि उनले आफ्नो स्पष्टीकरण समेत दिएकी छन् । चैत २४ गते उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘हिजो मैले सदनमा उठाएका विषयपस्तुहरू एकतिर छन् ।तर, सामाजिक सञ्जालमा शेयर गरिएको भिडिओ क्लिप एकतिर छ ।’

उनको सातबुँदे स्पष्टीकरणमा नवगठित केन्द्रीय सरकारलाई बधाई तथा शुभकामना व्यक्त गरिएको, भ्रष्टाचार नियन्त्रण, मुलुकमा स्थिरतासहित आर्थिक सुशासन कायम गर्नुपर्ने, लगातार बढ्दो इन्धनको मूल्यलाई मध्यनजर गरी विद्युतीय साधन उपयोग र उत्पादनमा जोड दिनुपर्ने र र प्रदेश तथा केन्द्र सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको उल्लेख गरेकी छन् ।

यस्तै लुम्बिनी प्रदेश सरकाको बजेट कार्यान्वयनमा असहजता तथा संशोधन प्रक्रिया झन्झटिलो भएको उनले उल्लेख गरेकी थिइन् । उनको स्पष्टीकरणको सात नम्बर बुँदामा लुम्बिनी प्रदेश सचिवालय दिएको निर्देशनबमोजिम सम्पूर्ण प्रदेशसभा सदस्यहरूले एउटै रङ र एउटै डिजाइनको पोसाक लिनुपर्ने भनिएको र पोसाकको सबै रकम कटौती समेत भइसकेको उल्लेख गरेकी छन् ।

रकम कटौती भइसके पनि सचिवालयबाट पोसाक के कति कारणले समयमा उपलब्ध नगराइएको भनी पटकपटक सचिवालयमा कुरा राख्दा पनि किन अटेर गरेको र केही पोसाक खरिद्मा पनि कुनै आर्थिक स्वार्थ त छैन भनेर ध्यानाकर्षण गराएको उनको जिकिर छ । उनको आग्रह थियो, ‘तर भिडिओ नहेरिकन सानो क्लिप मात्रै कट गरेर अनावश्यक भ्युज बढाउनकै लागि भिडिओ शेयर गरेर समय खेर फाल्नुभन्दा भिडिओ पूरै हेर्नको लागि अनुरोध गर्दछु ।’

उनले आफूले सदनमा बोल्दा पोसाकको सट्टा कोट शब्द प्रयोग गरेको उनले जानकारी दिइन् । यो विषय केवल ‘कोट’को नभई समानता र न्यायको सिद्धान्तसँग जोडिएको थारूको दाबी छ । जनप्रतिनिधिहरूबीच कुनै पनि प्रकारको भेदभाव हुन नहुने भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

यस विषयमा लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले प्रदेशसभा सदस्यहरूले आफ्नो पारिश्रमिक काटिएपछि विरोध जनाएको बताएका छन् । उनले भने, ‘सरकारबाट दिएको होइन । उहाँहरूले आफ्नो तलबबाट काटिएको रकमको पोसाक खोज्नुभएको हो । तर, यसमा प्रदेशसभा सचिवालयको केही हात छैन ।’ उनले कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार प्रदेशसभा सदस्यहरूको तलब भत्ताको भर्पाइ गराएर उनीहरूको तलबबाट काटिएको समेत बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार