काठमाडौँ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण मन्त्रालयलले हाललाई छ भाले र १२ पोथी गरी जम्मा १८ वटा कृष्णसार स्थानान्तरण गर्ने भएको जनाएको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रालयबाट गठित कार्यदलले पेस गरेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदनको सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाका आधारमा सो निर्णय गरिएको जनाएको हो ।
मन्त्रालयले भनेको छ, “कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवन जिल्लाको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने निर्णय भएको छ । मन्त्रालयबाट यो निर्णय भएपश्चात् विभिन्न समाचार र प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । लोपोन्मुख कृष्णसार विसं २०३३ मा बर्दियाको खैरापुरमा नौ वटामा सीमित भएको थियो । तत्पश्चात् प्रभावकारी संरक्षणका कारण यसको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।”
विश्वव्यापी अभ्यास र कार्यदलको सिफारिसका आधारमा कृष्णसार स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कृष्णसारको सङ्ख्या वृद्धि गर्न विगतको दशकमा सदर चिडियाखाना र खैरापुरबाट समेत गरी ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा स्थानान्तरण गरिएको स्मरण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्