कोहलपुर ।
बाँकेको कोहलपुरमा प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकारसँगै नयाँ वर्ष २०८३ को शुभकामना आदनप्रादन तथा वृहत् सांगीतिक कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म कार्यक्रम सञ्चालन हुने भएको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले कोहलपुर–११ न्युरोडस्थित खुलामैदानमा प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकार नयाँ वर्ष २०८३ को शुभकामना आदनप्रादन तथा वृहत् सांगीतिक कार्यक्रम सञ्चालन हुने बताएको छ । मगर समुदायको मौलिक सांस्कृतिक, भाषा, भेषभूषा तथा परम्परागत खानपानको प्रदर्शनी गर्नुका साथै नयाँ वर्षको शुभकामना आदनप्रदान गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष भुपेन्द्र पुन मगरले जानकारी दिए ।
उनले पहिलोपटक आयोजना गर्न लागेको कार्यक्रमले मगर समुदायको मात्र नभई सबै समुदायलाई समेट्ने गरेर अघि बढेको बताए । उनले कार्यक्रममा विशेष गरेर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने जानकारी दिए । सांस्कृतिक झाँकी, परम्परागत खानाका स्टल, थारू गाउँ तथा मनोरञ्जनात्मक बाल उद्यानसहितको कार्यक्रममा व्यवस्था गरिने उनले बताए । उनले कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको समेत बताए ।
कार्यक्रममा राष्ट्रिय कलाकार नायक तथा मोडल पल शाह, गायक दुर्गेश थापा, लोकदोहरी गायक राजु परियार, मिलन लामा लगायतका दर्जनौँ राष्ट्रिय कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्