कृष्ण परियार । अर्घाखाँची ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लमही क्षेत्रमा १७ करोड रूपैयाँँभन्दा बढी लगानी गर्दै स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ । २०७४ सालमा स्थापना भएको बनगाउँ शाखामा हाल १ हजार २०० जना सदस्य आबद्ध रहेका छन् ।
शनिबार लमहीमा आयोजित वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रममा शाखा प्रमुख सन्तोष पोखरेलले शाखामार्फत हालसम्म ४ करोड ३ करोड रूपैयाँँ बचत संकलन भएको जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षमा १६ जना सदस्यका श्रीमान्को मृत्यु भएपछि ३ लाख ८ हजार रूपैयाँँ बराबरको बीमा दाबीमार्फत कर्जा मिनाहा गर्नुका साथै भुक्तानी गरिएको रकमसमेत फिर्ता गरिएको छ ।
त्यसैगरी, ५ लाख रूपैयाँँ ऋण लिएका एक सदस्यको बीमा दाबी प्रक्रिया समेत अगाडि बढाइएको शाखाले जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत यस वर्ष २ जना सदस्यलाई श्रीमान् गुमाएको अवस्थामा जनही २१ हजार रूपैयाँँका दरले काजक्रिया खर्च तथा २ जना सदस्यलाई जनही २ हजार रूपैयाँँका दरले सुत्केरी स्याहार खर्च उपलब्ध गराइएको जानकारी कार्यक्रममा दिइयो ।
कार्यक्रमकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ४ वटा महिला केन्द्रलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । प्रथम केन्द्र नं. ०१ मेरो नारायणी महिला केन्द्र, दोस्रो केन्द्र नं. ०७४ मेरो सुनौलो महिला केन्द्र, तेस्रो मेरो फुलबारी महिला केन्द्र र सान्त्वना केन्द्र नं. ०१०२ मेरो कोपिला महिला केन्द्र रहेका थिए ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कृषि विज्ञ इन्द्रबहादुर ओली विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए । साथै इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक युबराज चन्द, मेरो माइक्रोफाइनान्स प्रदेश कार्यालय बनगाउँ दाङका अधिकृत तर्कबहादुर रावल तथा अनुगमन अधिकृत अर्जुन पौडेलको समेत आतिथ्यता रहेको थियो ।
शाखाका कर्मचारी रुपध्वज खड्काले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका विभिन्न केन्द्रका प्रमुख तथा सदस्य गरी १२१ जनाको उल्लेखनीय सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्