व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्छः उपराष्ट्रपति यादव



पाटन (ललितपुर) ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमी व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्ने बताएका छन् । महिला उद्यमीहरुको उत्पादनलाई बिक्री प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा ललितपुरको झम्सिखेलमा आयोजित ९औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दीगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको बताए ।

“महिला उद्यमशिलताले व्यक्तिगत आर्थिक सशक्तिकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको सम्वाहक भूमिका निर्वाह गर्छ, महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ, महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ, यसबाट रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ”, उनले भने ।

उपराष्ट्रपति यादवले व्यापार मेलाबाट जिल्लास्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्न, उनीहरूको उत्पादनलाई बजारसम्म पु¥याउन र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्यमशिलताले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउँदा समाजलाई समावेशी बनाउने उल्लेख गर्दै उहाँले स्थानीय स्रोत र सीपमा आधारित उत्पादनले वातावरणमैत्री तथा दीगो विकासलाई प्रोत्साहन गर्ने बताए ।

महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले मेलाले महिला उद्यमशीलताको राष्ट्रिय अभियानलाई सहयोग पुर्याउने जानकारी गराउनुभयो । महिला उद्यमी महासङ्घमा हाल पाँच हजार ७०० भन्दा बढी महिला आबद्ध रहेका उहाँले जानकारी दिए । मेला तीन दिनसम्म चल्नेछ । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार