श्यामलाल पोखरेल । बुटवल ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिले बदलिँदो समयअनुसार अत्याधुनिक सवारीसाधनहरूबाट यात्रुमैत्री प्रविधियुक्त सेवा प्रवाह गरिएको बताएको छ । हरेक किसिमका चुनौतीहरूलाई सामना गर्दै आजसम्म यात्रुमैत्री सेवा प्रदान गरिएको र आउँदा दिनमा पनि समयको मागअनुसार सेवालाई थप यात्रुमैत्री बनाउने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले प्रतिबद्धता जनाए ।
प्रालिको छैटौँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष खरेलले औद्योगिक तथा व्यापारिक केन्द्र बुटवललाई केन्द्र मानेर देशका अधिकांश भूभागलगायत मेची–महाकाली र भारतीय सीमादेखि चीनको सीमासम्म भारतीय सहरहरूसँग सिधा यात्रुवाहक सवारीसाधन सञ्चालन गरिएको बताए । सरकारले सिण्डिकेटको नाममा २०७६ मा जबरजस्त कम्पनी ऐन २०६३ अनुरुप दर्ता हुन बाध्यात्मक परिस्थिति सिर्जना गरेकोप्रति उनले विरोध जनाए ।
बस व्यवसायी प्रालिले बुटवल उपमहानगरपालिकासँग सहकार्य तथा समन्वयमा काम गरिएको बताउँदै उनले भने, ‘स्थानीय स्वायत्त शासन ऐनअनुसार आफ्नो क्षेत्राधिकारभित्र रहेका संघ÷संस्थालाई सहज वातावरणमा सेवा सञ्चालन एवं संरक्षण गर्ने दायित्व नगरपालिकाको हो । उक्त दायित्व पूरा भएको छैन् ।’
उनले छाडा चौपायाका कारण सवारी दुर्घटना भई धनजनको क्षति भैरहेकाले छाडा चौपायालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न बुटवल उपमहानगरपालिकालाई आग्रह गरे । बुटवलको लुम्बिनी बस टर्मिनललाई स्वस्थ, सफा तथा सुन्दर यात्रुमैत्री र आकर्षित गराउन प्रालि प्रतिबद्ध रहेको बताउँदै सयौँ सङ्ख्याका सवारीका क्यूहरूलाई बजार क्षेत्रमा लाखौँ रूपैयाँँ बुझाई काउन्टर स्थापना गरी अव्यवस्थित रूपमा स्थानीय रुट एवं लामो रुटमा सञ्चालन गर्न बाध्य भएको प्रालिले जनाएको छ ।
लुम्बिनी बस टर्मिनलभित्र सवारीसाधन राख्न अवरोध हुने गरी जथाभावी काउण्टर राख्न इजाजत दिने, व्यवसाय सञ्चालन गर्ने तथा बहुतल्ला पार्किङ भवन निर्माण हुने कार्यप्रति गम्भीर रूपमा ध्यानाकर्षण भएको साधारणसभामा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बुटवल मैनावगरको अटो भिलेजमा सवारी मर्मतसम्भार तथा निर्माण गर्ने उद्देश्यले वर्कशपहरू स्थापना भए पनि उक्त क्षेत्रमा अन्य असम्बन्धित व्यवसायबाट अटो भिलेजको अस्तित्व संकटमा परेकाले यस विषयमा बुटवल उपमहानगरपालिकालाई गम्भीर बन्न आग्रह गरिएको छ ।
हाल यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिँदै आएको सडक इजाजतपत्रको म्याद चार महिना मात्र भएकाले वर्षमा ३ पटक यातायात कार्यालयमा जानु पर्ने परिस्थितिलाई सहज गराउन सरकारसँग प्रालिले माग गरेको छ ।
त्यस्तै प्रदेश सरकारमार्फत लिइने सवारी कर तथा आयकर प्रत्येक वर्ष वृद्धि हुँदै गएका कारण व्यवसायीले समयमै बुझाउन नसकी जरिवाना तिर्न बाध्य भएकाले उक्त कर घटाउन पनि सरकारसँग यातायात व्यवसायीले माग गरेका छन् । मूल्यवृद्धिलाई मध्यनजर गरी सरकारले तोकेको भाडाअनुसार वैज्ञानिक भाडादर कायम गरिनु पर्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध यातायात व्यवसायीहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्