जलनकै कारण सिर्जनाको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा मृत भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । भेरी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनकै कारण भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

सिर्जनाको शव टोलको दोबाटो पर्ने चोकमा राति १२ बजेको समयमा फेला परेको थियो । वरिपरि घरैघर भएको चोकमा अधिकांश मानिसहरू जागै रहने समयमै महिलाको जलेको अवस्थामा भेटिएको घटनाले सनसनी मच्चाएको थियो । त्यसरी शव भेटिँदा पहिले नै हत्या गरेर जलाइएको हो या जलाएरै हत्या गरिएको हो भन्ने यकिन नभैरहेका बेला सिर्जनाको मृत्यु जलनकै कारण भएको पोष्टमार्ट रिपोर्ट आएको हो ।

‘पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण जलन नै हो भनेर आएको छ । अब मृत्युबारे थप अनुसन्धानका लागि सहज भएको छ । यद्धपि को कसको कस्तो संलग्नता छ भन्ने कुरा अनुसन्धान पूरा भएपछि मात्रै भन्न सकिने हुन्छ,’ डीएसपी पातलीले मिसन टुडेसँग भने । नेपालगन्ज– ८ रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जनाको शव उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घरबाट नजिकै भेटिएपछि आफन्तहरूले आरिफलगायत उनका परिवारका सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

घटनापछि भागेर भारत पुगेका आरिफलाई प्रहरीले घटना भएको अर्काे दिन नै पक्राउ गरिसकेको छ । आरिफसँगै उनकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी पातलीले बताए । जाहेरीमा नाम उल्लेख भएका थप केही व्यक्तिहरूको पनि खोजी भइरहेको पनि पातलीले जानकारी दिए । सिर्जना र उनका प्रेमी भनिने आरिफ ढपालीको लिभिङ टुगेदर सम्बन्ध खटपटपूर्ण रहँदै आएको र उनले नै हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

आरिफले पहिलेदेखि नै हिंस्रक व्यवहार देखाउने गरेकोमा आफन्तहरूको भनाइ छ । सिर्जनाको मृत्यु भएको अघिल्लो दिन पनि सिर्जना र ती व्यक्तिबीच खटपट भएको र सिर्जनामाथि कुटपिट भएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि प्रहरीले ती व्यक्तिलाई हिरासनमा राखेको थियो । तर, शनिबारै सिर्जनाले मिलापत्र गरी ती व्यक्तिलाई प्रहरीबाट छुटाएर लिएर आएकी थिइन् । तर मिलापत्र भएकै राति सिर्जना विभत्स अवस्थामा सडकमा मृत भेटिइन् ।

उक्त घटनापछि सिर्जनाका आफन्तहरूले आरोपित ढपालीको घरमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले सुरक्षा दिनु परिरहेको छ । बुधबार पनि घरमा आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर एकपटकका लागि सम्झाइबुझाई गरी छाडेको डीएसपी पातलीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार