
नेपालगन्ज (बाँके) ।
आज चैत १९ गतेबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बाँकेबाट यस वर्ष ४१ जना कैदीबन्दी र बालबिज्याइँकर्तासहित नौ हजारभन्दा बढीले एसइई दिन लागेका छन् । तथ्यांकअनुसार बाँकेमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीहरू घटेका छन् ।
यस वर्ष बाँकेबाट नौ हजार ६१५ जना विद्यार्थीले एसइई दिन लागेका हुन् । गत वर्ष बाँकेबाट १० हजार ४१६ जना विद्यार्थीले एसइई दिएका थिए। यस वर्ष गत वर्षभन्दा ८०१ जना कम विद्यार्थीले एसइई दिँदैछन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँके जिल्लाका विभिन्न ८ वटा पालिकाका २७ सामुदायिक र ९ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट सात हजार ९१३ नियमित र एक हजार ७०२ ग्रेड वृद्धि गरी जम्मा नौ हजार ६१५ जना विद्यार्थीले एसइई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिए ।
इकाई प्रमुख चौलागाईँका अनुसार दुई मदरसासहित १०५ सामुदायिक विद्यालय र १०६ संस्थागत गरी २११ विद्यालयका चार हजार ६७५ छात्रा र चार हजार ९४० छात्रले एसइई दिने भएका हुन् । उनका अनुसार १० वटा सामुदायिक विद्यालयका २७० नियमित र ५४ ग्रेड वृद्धि गरी ३२४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुनेछन् ।
जसमध्ये सामुदायिक १०५ विद्यालयका तीन हजार ३०२ छात्रा र तीन हजार ८३ छात्र गरी छ हजार ३८५ विद्यार्थी र संस्थागत १०६ विद्यालयका एक हजार ३७३ छात्रा र एक हजार ८५७ छात्र गरी तीन हजार २३० विद्यार्थी रहेका छन् । यस वर्ष सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्ती सोनारी गाउँपालिकामा चार, बैजनाथमा चार, खजुरामा चार र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक÷एक गरी ३६ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका शाखा अधिकृत घनश्यामबहादुर मुरावले जानकारी दिए ।
उनका अनुसार नेपालगन्जमा सात सामुदायिक र चार संस्थागत, कोहलपुरमा पाँच सामुदायिक र पाँच संस्थागत र अन्य सबै पालिकामा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । शाखा अधिकृत मुरावका अनुसार कूल ३६ परीक्षा केन्द्रमध्ये नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्जस्थित महेन्द्र मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै ३७५ जना विद्यार्थी र राप्ती सोनारी गाउँपालिका शमसेरगन्जस्थित शिवशक्ति मावि परीक्षा केन्द्रबाट सबैभन्दा कम १६२ जना विद्यार्थीले यस वर्षको एसइई दिन लागेका छन् ।
४१ जना कैदीबन्दी र बालबिज्याइँकर्ता सहभागी
बाँकेमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाहेक पनि ४१ जना परीक्षार्थीले एसइई दिन लागेका छन् । जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ३४ जना बालबिज्याइँकर्ता र दुई वटा कारागारमा रहेका सात जना कैदीबन्दीले पनि यस वर्ष एसइई दिन लागेका हुन् ।
डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका ३१ जना बालबिज्याइँकर्ताले एसइई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख ईश्वर शर्माले जानकारी दिए । त्यसैगरी, बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित नौवस्ता बालसुधार गृहका ३ जना बालबिज्याइँकर्ताले एसइई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख श्याम रानाले जानकारी दिए ।
त्यसैगरी नेपालगन्जस्थित नेपालगन्ज कारागारमा रहेका चार जना कैदीबन्दीहरूले एसइई दिन लागेका कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए । त्यसैगरी बैजनाथस्थित नौवस्ता कारागारमा रहेका तीन जना कैदीबन्दीहरूले पनि एसइई दिन लागेका कारागार प्रशासनले जनाएको छ ।
कारागारमा रहेका कैदीबन्दी र बालसुधार गृहमा रहेका बालबिज्याइँकर्ताहरूलाई त्यहाँबाट नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्थापन गरिएको समन्वय इकाई प्रमुख चौलागाईँले जानकारी दिए । बाँकेमा पछिल्ला तीन वर्षमा लगातार वृद्धि हुँदै गएको एसइई परीक्षा दिने विद्यार्थीको सङ्ख्या यस वर्ष घटेको हो । यसअघि २०७९ सालमा आठ हजार ८८६ जना, २०८० सालमा नौ हजार २९३ जना र २०८१ सालमा १० हजार ४१६ जना विद्यार्थीले जिल्लाबाट एसइई दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्