बैजनाथ ८ मा जग्गा नापजाँच कार्य सुरु



कोहलपुर (बाँके) ।

जिल्लाको बैजानाथ गाउँपालिका वडा नम्बर ८ मा जग्गा नापजाँच शुभारम्भ भएको छ । बैजनाथ गाउँपालिकाको आयोजनामा सोमबारदेखि वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच शुभारम्भ भएको हो ।

नापजाँच कार्यक्रमको एक कार्यक्रमका बीच बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले शुभारम्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै अध्यक्ष शाहीले यसअघि गाउँपालिकाका अन्य वडामा समेत नापजाँच भइसकेको बताए । उनका अनुसार गाउँपालिकाको नियमित कामअनुसार वडा नम्बर ८ मा समेत सुरु गरिएको हो ।

उनले भने, ‘हामीले निर्वाचित हुँदादेखि नै नागरिकको पक्षमा काम गर्दै आएका छौँ । गाउँपालिकाका अन्य वडामा नापजाँच भइसकेको छ । अब वडा नम्बर ८ मा सुरु भएको छ ।’ बैजनाथ गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भगन थारूले वडा नम्बर ८ को चाँदनी बजारबाट जग्गा नापजाँच सुरु भएको भएको बताए ।

उनका अनुसार जग्गा नापजाँच कार्य एक महिनाभन्दा बढी सञ्चालन हुनेछ । जग्गा नापजाँच कार्यका लागि गाउँपालिकाबाट दुईजना अमिन खटाइएको छ । यस्तै वडामा रहेको सहजीकरण समितिको सिफारिसमा एकजना जनशक्ति पठाइएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा ९८ जना भूमिहीन दलित, १४६ जना भूमिहीन सुकुम्वासी र १०५९ जना अव्यवस्थित बसोबासी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार