कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा सामुदायिक कुकुरको बन्धाकरण, रेविजविरुद्धको भ्याक्सिन र पोषण वितरण कार्यक्रम सम्पन्न भएको छ । बेवारिसे पशु व्यवस्थापन अभियन्ता गीता क्षेत्री वर्नवालको सक्रियतामा दुईदिने ‘शल्यक्रिया, बन्ध्याकरण तथा रेबिज खोप अभियान २०२६’ सम्पन्न भएको हो ।
चैत १४ र १५ गते गरी दुईदिन सञ्चालन भएको कार्यक्रममा करिब १ सयभन्दा बढी कुकुरहरूको बन्ध्याकरण गरिनुका साथै रेविजविरुद्धको भ्याक्सिन र पोषण वितरण गरिएको वर्नवालले बताइन् । उनका अनुसार कोहलपुर– ११ साझा चोकस्थित पुरानो कृषि शाखाको भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘बाँकेको कोहलपुरमा पहिलोपटक कार्यक्रम सम्पन्न भएको छ । सयौँ कुुकुरहरूको बन्ध्याकरण गरिएको छ । रेविजविरुद्धको खोप लगाएका छौँ । साथै कमजोर कुकुरहरूलाई पोषणसमेत वितरण गरेका छौँ,’ उनले भनिन् । पशु अभियन्ता समेत रहेकी वर्नवालले सडकमा बेवारिसे अवस्थामा भेटिने, तातोपानी खन्याइएका, शरीरका विभिन्न भाग काटिएका पशुहरूको उद्धार र उपचार गराउँदै आएकी छन् ।
उनले आफूले सो कार्य लामो समयदेखि काठमाडौँसहितका देशका विभिन्न सहरहरूमा गर्दै आएको बताइन् । कोहलपुरकी स्थानीय समेत रहेकी उनले केही समययता कोहलपुरमा समेत व्यक्तिगत खर्चमा बेवारिसे पशुहरूको उद्धार र व्यवस्थापन गर्दै आएकी छन् । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्मा समेत सहभागी भएकी थिइन् ।
उनले व्यक्तिगत रूपमा यस्ता सामाजिक कार्य हुनु सकारात्मक रहेको बताइन् । उनका अनुसार यस्ता सकारात्मक कार्यमा स्थानीय सरकारको समेत सहयोग खाँचो छ । आगामी दिनमा वडाको तर्फबाट सहयोग गर्ने उनले बताइन् । कार्यक्रम सञ्चालनका लागि टीएफसी नेपाल र चिया सेवाले प्राविधिक सहयोग गरेका थिए । अभियान सञ्चालनका लागि के९ एडले प्रायोजन गरेको थियो । टीएफसी नेपालले प्राविधिक जनशक्तिका साथै अन्य खर्च समेत सहयोग गरेको अभियन्ता वर्नवालले बताइन् ।









प्रतिक्रिया दिनुहोस्