भेटेरिनरी एसोसिएसनको सम्मेलन रुपन्देहीमा



श्यामलाल पोखरेल । बुटवल ।

नेपाल भेटेरिनरी एसोसिएसनले यही चैत २७ र २८ गते रुपन्देहीमा १६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन गर्ने भएको छ । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानसम्बन्धी विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले भेटेरिनरी सम्मेलन गर्न लागिएको जनाइएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने शनिबार पत्रकार सम्मेलन गरी एसोसिएसनले जानकारी गराएको छ ।

सम्मेलनमा पशु विभागका तर्फबाट समग्र पशुपन्क्षी क्षेत्रको वर्तमान अवस्था र आगामी कार्यदिशाको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट नीतिगत प्रस्तुति रहने जानकारी गराइएको छ । सम्मेलनमा नेपालसहित ७ भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने छ। पशु चिकित्सकहरूको मात्रै सहभागिता रहने उक्त सम्मेलनमा १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताले प्राविधिक क्षेत्रमा गर्नुपर्ने सुधारका साथै नयाँ सरकारलाई नीतिगत सुधारका लागि सुझाव दिने कार्यक्रम रहेको नेपाल भेटरिनरी एसोसिएसनका अध्यक्ष डा. केशर सुवेदीले बताए ।

स्वास्थ्य महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तनबारे विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेशको व्यवस्थापनमा हुने सम्मेलनबाट मानव, पशु र वातावणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट उजागार गर्ने लक्ष्य राखिएको अध्यक्ष सुवेदीले बताए । उनले नेपाल पशुपालनमा आत्मनिर्भर उन्मुख रहेको र खसी बोकामा आतमनिर्भर बन्ने अवस्थामा रहेको बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता सम्मेलनको पूर्वसन्ध्यामा चैत २६ गते एष्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालभरका भेटेरिनरीहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव शंकर न्यौपानेले बताए ।

महासचिव न्यौपानेका अनुसार विद्यार्थीको क्षमता विकासलाई प्रोत्साहन गर्नका लागि स्टुडेन्ट पोष्टर प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । सम्मेलनमा २५ वर्ष बढी योगदान पुराएका अनुभवी पशु चिकित्सिकहरूलाई सम्मान तथा राष्ट्रियस्तरका विभिन्न पुरस्कारहरू प्रदान गरिने छ । तिलोत्तमास्थित होटल ड्रिमल्याण्डमा हुने सम्मेलनमा करिब ५ सय जना पशु चिकित्सकको उपस्थिति रहने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार