लेक प्रसाद प्याकुरेल
विषयप्रवेश
किरण आचार्यद्वारा लिखित कृतिहरू विशेषतः उपन्यासहरू कुनै न कुनै दर्शनमा आधारित हुन्छन्। जसलाई बुझ्नका लागि कृति मात्रै पर्याप्त हुँदैनन्। बरु दर्शनका पाना पाना पल्टाउनुपर्ने हुन्छ। जसले गर्दा समीक्षकहरूमा दर्शन चेतको थप विकास भई ज्ञानको दायरा फराकिलो हुन्छ। यसर्थ ज्ञानको दायरा फराकिलो हुने गरी कृति समर्पण गर्न सक्नु आचार्यको प्रमुख वैशिष्ट्य हो। यही वैशिष्ट किरण आचार्यको दशौँ कृति शैलसुतेमा भेटिन्छ। शैलसुतेआचार्यको दर्शनमा आधारित पौराणिक स्रोतलाई आधार मानेर सिर्जना गरिएको कृति हो जहाँ कृतिको साजसज्जादेखि विभिन्न शीर्षक उपशीर्षकमा केन्द्रित विषयवस्तु, पात्र चयन, पात्र नामकरण, परिवेश निर्माण र सन्देशका तहसम्म पूर्वीय दर्शनलाई नै प्रसय दिने किसिमका यथार्थहरू समेटिएका छन्। पछिल्लो समय पौराणिक स्रोतलाई आधार मानेर उपन्यासको सिर्जना गर्न रुचाउने किरण आचार्य ’शैलसुते’ का माध्यमद्वारा ऋग्वेद, मार्केण्डेय पुराण रामायण, शिव महापुराण, महाभारत, स्वस्थानी व्रतकथा, श्रीमद्भागवत महापुराण आदिबाट आख्यानीकरण गरिएको कृतिको स्वाद चखाउन सफल देखिन्छिन्। खासगरी दक्ष प्रजापतिले आयोजन गरेको महायज्ञमा पति परमेश्वर शिवको निन्दनीय आलोचना सहन नसकेपछि हवनकुण्डमा देह विसर्जन गरेकी माता सती पुनः मेनका र हिमालय पर्वतकी छोरी पार्वतीको रूपमा धरा अवतरणको मूल कारण र आधारको सत्य तथ्य थाहा पाउनका लागि पनि आचार्यको दशौँ कृति शैलसुते निकै उपयोगी सिद्ध भएको छ। आम पाठकका मनमा प्रश्न उठ्न सक्छ आखिर आचार्यको शैलसुतेको अध्ययन चाहिँ किन? ३४९ पृष्ठको मोटो ठेलीलाई पढेबापत पाठकहरूले त्यस्तो के के प्राप्त गर्छन् ? यथार्थमा भन्नुपर्दा यस कृतिका अध्यताहरूले माता पार्वतीको गम्भीर तर आश्चर्य चकित तर्क क्षमता भएको बाल्यकाल, कैयौँ पराक्रमी कार्यहरू तथा झन्डै कहिल्यै नमर्ने अजर अमर सरहको वरदान पाएका शुम्भ निशुम्भबाट स्वर्गलाई मुक्ति दिलाउन गरेका प्रयासहरू त थाहा पाउँछन्।
उल्लिखित मूल कथासँगसँगै जोडिएर आएका देवी कौशिकीको उत्पत्ति कथा, कुमार कार्तिकेय र उनकी माता गङ्गाको कथा, गणेश जन्मको कथा, गङ्गा अवतरण, शुम्भ निशुम्भ वधको वास्तविकता लगायतका प्रसङ्गहरूको रोचक यथार्थ थाहा पाउनका लागि पनि यो उपन्यास उपयोगी मानिन्छ। त्यसो त प्रस्तुत कृति दर्शन प्रयोग, पौराणिक कालको राजनीति, राजनीतिभित्र प्रयोग हुने कूटनीति, छलकपट र जयपराजयका विषय समेत कृतिमा रोचक बनेर आएका छन्। युद्धले निम्त्याउने भयावह अवस्थाको चित्रण गर्दै युद्धमा जित्नेले पनि हार्ने र हार्नेले पनि हार्ने परिणति भोग्नुपर्ने भएकाले युद्ध कसैका लागि पनि किमार्थ फलदायी बन्न सक्दैन भन्ने सन्देश सम्प्रेषणताका दृष्टिले पनि आचार्यको प्रस्तुत उपन्यास उपयोगी देखिन्छ। पौराणिक युगमा देखापरेका कतिपय महिला पात्रहरूको राज्यका लागि फलदायी हुने रणनैतिक सुझाव, मै हुँ भन्ने ऋषिमुनिहरूको घमण्डलाई चुरचुर पार्ने विद्वता, समग्र महिला जातिहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने मान्यतासहितको नारीवाद केन्द्रित अस्तित्ववादी चिन्तन पर्गेलेर ज्ञानको क्षितिज फराकिलो बनाउने अवसर आचार्यको यसै कृतिबाट प्राप्त हुने भएकाले पनि पाठकहरू उल्लिखित विशेषताहरूबाट लाभान्वित हुन चाहने जो कोही अध्यताहरूका लागि शैलसुते एउटा राम्रो अध्ययन सामग्री साबित हुन सक्छ।
दर्शन प्रयोगगत विविधता
२.१ दर्शनको परिचय
युनानी दार्शनिक पाइथागोरसका अनुसार “ग्रीक भाषाको फिलोस (प्रेम)र सोफिया (विवेक) बाट फिलोसोफी अर्थात् दर्शन बनेको हो“(वैद्य,२०७६ पृ.२)। करिब २५०० देखि ३००० वर्ष अघि युनानबाट प्रारम्भ भएको दर्शन शब्दको प्रथम प्रयोक्ता पाइथागोरस हुन् भने आदर्शवादी दर्शनको जन्मदाता प्लेटो मानिन्छन् । सामान्यतया दर्शन भन्नाले जीवन र जगतलाई हेर्ने बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो। प्रकृति र मानव समाजको भित्री आँखा हो। यही आँखाले हरेक वस्तुलाई हेर्ने जाँच्ने बुझ्ने र सोही अनुरुप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्ने गर्छ। माक्र्सका अनुसार हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो। यही दर्शन केन्द्रित भएर लेखिएको किरण आचार्यको दशौँ कृति शैलसुतेभित्र चार्वाक (लोकायत) दर्शन,साङ्ख्य दर्शन,न्याय दर्शन,योग दर्शन जस्ता पूर्वीय दर्शन र नारीवादी दर्शन, अस्तित्ववादी दर्शन लगायत पाश्चात्य दर्शनहरूको बाक्लो प्रयोग भएकै कारण उल्लेखित कृति दर्शन प्रयोगका दृष्टिले महत्वपूर्ण साबित भएको छ। जसको विस्तृत चर्चा गरिनु सान्दर्भिक देखिन्छ।
२.२ पूर्वीय दर्शन
२.२.१ चार्वाक (लोकायत)दर्शनको प्रयोग
चार्वाक शब्द चारु + वाक भएर बनेको हो जसमध्ये चारु शब्दले राम्रो, मीठो, आकर्षक र वाक शब्दले वचन, कुरा, भाषण को अर्थ प्रदान गर्ने भएकाले चार्वाक शब्दको अर्थ मिठो वा आकर्षक कुरा गर्ने व्यक्ति लाई बुझाउँछ। यसर्थ चार्वाक दर्शनले राम्रो बोल, मिठो खाऊ र यहीँ रमाऊलाई महत्व दिएको पाइन्छ।लोकायत दर्शनले भौतिक वस्तु मात्र सत्य हुन्छ । प्रत्यक्ष देखिने भौतिक वस्तुलाई मात्र सत्य मान्ने लोकगायत दर्शन“न स्वर्गो नापवर्गो वा नैवात्मा पारलौकिकः।”(स्वर्ग, मोक्ष वा परलोक भन्ने कुनै कुरा छैन, आत्मा पनि परलोकमा जाने वस्तु होइन।) भन्दै आत्मा, स्वर्ग, नर्क, पाप–पुण्यलाई अस्वीकार गर्छ। ब्रह्म वा ईश्वरको अस्तित्व अस्वीकार गर्नुका साथै मानवीय जीवन क्षणिक भएकाले सुखपूर्वक बाँच्नुपर्छ “ऋणं कृत्वा घृतं पिबेत्” (ऋण लिएर भए पनि सुखपूर्वक जीवन बिताऊ)। लगायतका मान्यताहरू लोकायत दर्शनले अङ्गीकार गरेको छ। यही मान्यता केन्द्रित विभिन्न बहसहरू अघि सारेको शैलसुते उपन्यास लोकायत दर्शन प्रयोगका दृष्टिले महत्वपूर्ण देखिन्छ। कृतिभित्र लोकायत दर्शनका प्रणेता स्वयं बृहस्पतिलाई नै पात्र बनाएर उनकै माध्यमद्वारा प्रस्तुत गरिएको लोकायत दर्शन केन्द्रित सारगर्भिक विचारहरु यस प्रकार छः संसार रमणीय छ। जीवनलाई आनन्दमय बनाउ उत्सवमय बनाउ …. आनन्द नै ब्रह्म हो। तसर्थ आनन्द लेउ सुख नै जीवन हो आनन्द नै जीवन हो। बडो सौभाग्यले व्यक्तिले जीवन प्राप्त गरेको हुन्छ। यसलाई व्यर्थ नबनाउ।… जीवन क्षणिक छ नाशवान छ चोलाको पुनरागमन असम्भव छ यो आत्मा स्वर्ग नर्क पाप धर्म सबै काल्पनिक कुरा हुन्। दृश्य वस्तु अर्थात् भौतिक वस्तु मात्र सत्य हुन्छ। अदृश्य वस्तुलाई विश्वास गर्नु भनेको ब्रह्म केवल परिकल्पना हो। यसको कुनै अस्तित्व छैन तसर्थ अहिलेसम्म जीवन छ सुखपूर्वक जीवनको व्यथित गर्नुपर्छ।(पृष्ठ ४५)
२.२.२ सांख्य दर्शनको परिचय
सांख्य दर्शनका प्रवर्तक महर्षि कपिल मानिन्छन्। “सांख्य” शब्द संख्या बाट बनेको हो, जसको अर्थ तत्त्वहरूको गणना वा विवेचन गर्नु हो। यस दर्शनमा जगत् र जीवनलाई २५ तत्त्वहरूको विश्लेषण मार्फत व्याख्या गरिएको छ जसमा प्रमुख रूपमा—प्रकृति,महत्तत्त्व (बुद्धि),अहंकार,मन,पाँच ज्ञानेन्द्रिय,पाँच कर्मेन्द्रिय,पाँच तन्मात्रा,पाँच महाभूत पुरुष समावेश छन्। सांख्य दर्शन निरिश्वरवादी दर्शन हो। यसमा सृष्टिको लागि ईश्वरको आवश्यकता मानिँदैन। प्रकृति–पुरुषको संयोगबाट नै सृष्टि सम्भव भएको मानिन्छ। सांख्य दर्शन अनुसार अविद्याका कारण पुरुषले आफूलाई प्रकृतिसँग एकाकार ठान्दा बन्धन उत्पन्न हुन्छ। जब पुरुष र प्रकृतिको भिन्नता (विवेक ज्ञान) प्राप्त हुन्छ, तब मोक्ष सम्भव हुन्छ। मोक्षको अर्थ दुःखबाट पूर्ण मुक्ति हो। पुरुष भन्नाले सांख्या दर्शनमा वर्णित प्रकृति र पुरुषमध्ये पुरुष चेतन, नित्य र निष्क्रिय तत्त्व हो, जसलाई आत्मा पनि भनिन्छ। यो चेतन तत्त्व जुन नित्य शुद्ध र अविकारी हुन्छ। सांख्य दर्शन अनुसार पुरुषलाई कर्ता नमानी साक्षीका रूपमा मात्र मान्ने गरिन्छ। त्यसैगरी प्रकृति जड (अचेतन) मूल तत्त्व हो, जसबाट सम्पूर्ण भौतिक र मानसिक जगत् उत्पन्न हुन्छ। यो त्रिगुणात्मक हुन्छ (सत्त्व, रजस्, तमस्) परिवर्तनशील र सक्रिय हुन्छ। प्रकृतिले पुरुषको अनुभव र मुक्तिका लागि सृष्टि गर्छ। पुरुषको सान्निध्यबाट प्रकृति सक्रिय हुन्छ र विभिन्न तत्त्वहरूको विकास हुन्छ। सांख्य दर्शनले सुझाए अनुरूपको मान्यताहरू शैलसुतेका विभिन्न प्रसङ्गहरूमा पाइन्छ भने प्रकृति र पुरुषको मूल प्रसङ्ग पृष्ठ १६३ मा उल्लेख गरिएको छ। यसर्थ शैलसुते साङ्ख्य दर्शनका दृष्टिले पनि चर्चनीय देखिन्छ। साङ्ख्य दर्शनले सुझाएको कार्य कारण सम्बन्ध सम्बन्धी विचारहरू पनि कृतिमा भेटिन्छ। कृतिभित्र पृष्ठ १६२ मा कार्य, कारण सम्बन्धको बारे चर्चा गर्दै कुनै पनि कार्य हुनलाई त्यसका पसलतिर कारण अवश्य हुन्छ। श्रेष्ठ स्थिति एवं लय ब्रह्मकै आदेश अनुसार चल्छ समग्रमा ब्रह्मलाई प्रकृतिको आवश्यकता पर्छ भने प्रकृतिलाई ब्रह्मको दुवै एक अर्काका परिपुरक हुन् दुवैमा एकको अभाव हुन गए सृष्टि असम्भव हुन्छ। बालिका शैलसुतेले प्रस्तुत गरेका विचार दर्शन केन्द्रित छन्।
२.२.३ न्याय दर्शनको परिचय
न्याय दर्शन भारतीय वैदिक (आस्तिक) दर्शनहरूमध्ये एक महत्वपूर्ण दर्शन हो। यस दर्शनका प्रवर्तक महर्षि गौतम (अक्षपाद) मानिन्छन्। न्यायसूत्र यसको प्रमुख ग्रन्थ हो। “न्याय” शब्दको अर्थ तर्क, विवेक, उचित निर्णय वा सही ज्ञान भन्ने हुन्छ। न्याय दर्शनको मुख्य उद्देश्य सही ज्ञान (प्रमा) प्राप्त गरी अविद्या नष्ट गर्दै मोक्ष प्राप्त गर्नु हो। यस दर्शनमा तर्क, अनुमान र प्रमाणद्वारा सत्यको खोजी गरिन्छ, त्यसैले यसलाई तर्कप्रधान दर्शन पनि भनिन्छ। प्रमाणः न्यायदर्शनमा महत्वका साथ हेरिएको प्रमाणलाई प्रमाको बारेमा वास्तविक ज्ञान दिने तत्त्वका रूपमा बुझाइएको छ।“प्रमियते अनेन इति प्रमाणम्“ जसद्वारा कुनै विषयको ज्ञान हुन्छ त्यसैलाई प्रमाण भनिन्छ (वैद्य,२०७६ पृ. १०३)। न्याय दर्शनले चार प्रकारका प्रमाण स्वीकार गरेको छ—
क) प्रत्यक्ष प्रमाण
“तत्राक्षमक्षं प्रतीत्योत्पध्यते इति प्रत्यक्षम् अर्थात् इन्द्रिय र वस्तुको प्रत्यक्ष सम्पर्कबाट प्राप्त ज्ञानलाई प्रत्यक्ष प्रमाण भनिन्छ“ (वैद्य,२०७६ पृ. १०४)। जस्तै आँखाले घडा देख्नु।
ख) अनुमान प्रमाण
“जुन प्रत्यक्षपूर्वक हुन्छ त्यो अनुमान हो, अर्थात् जहाँ केहीको प्रत्यक्ष भएर बाँकी पनि छ भन्ने ज्ञान हुन्छ“ (आचार्य, २०७३ पृ.४५८) त्यसलाई अनुमान प्रमाण भनिन्छ। जस्तै धुवाँ देखेर वा प्रत्यक्ष भए पछि त्यहाँ आगो पनि छ भन्ने अनुमान गर्नु नै अनुमान प्रमाण हो।
ग). उपमान प्रमाण
समानताका आधारमा प्राप्त ज्ञान उपमान हो। जस्तै “गाईजस्तै देखिने जनावरलाई गवय भनिन्छ” भन्ने सुनेर वनमा देखिएको जनावरलाई गवय ठहर गर्नु उपमान प्रमाणको उदाहरण हो।
घ) शब्द प्रमाण
विश्वसनीय व्यक्तिको कथन वा वेदवाक्यबाट प्राप्त ज्ञान शब्द प्रमाण हो । यस अन्तर्गत गुरु वा शास्त्रको उपदेश आदि पर्दछन्। उल्लिखित प्रमाणहरूमध्ये पनि प्रत्यक्ष र अनुमानका प्रमाणहरू सँग सम्बन्धित थुप्रै प्रसङ्गहरु प्रयोग भएका छन् भने आंशिक रुपमा उपमान प्रमाण र शब्द प्रमाणको पनि प्रयोग भएको छ। यस सन्दर्भमा “केवल भ्रमलाई प्रेम गर्छ भ्रमलाई रुचाउँछ साँचो अर्थमा सत्यको तुलनामा भ्रमलाई नै वर्ण गर्छ“ ( आचार्य, २०८२ पृ. ३४)। लगायतका हरफहरूले अनुमान प्रमाणलाई महत्व दिनुका साथै डोरीमा सर्पको भ्रान्ति हुने वा धुवा देख्दा पक्कै आगो छ भन्ने अनुमान लगाउन सकिने अनुमतिवादमा आधारित साधारणीकरणको समेत उपयोग गरेको छ।
२.२.४ योग दर्शन
योग दर्शनका प्रवर्तक महर्षि पतञ्जलि मानिन्छन्। यस दर्शनको मुख्य ग्रन्थ योगसूत्र हो जसमा जम्मा १९४ सूत्रहरू रहेका छन्। (ढकाल र कोइराला, २०७२ पृ. ७१) “योग” शब्द संस्कृतको युज् धातुबाट बनेको हो, जसको अर्थ जोड्नु, एकाग्र गर्नु वा नियन्त्रण गर्नु हो। पतञ्जलि योगसूत्र अनुसार “योगश्चित्तवृत्तिनिरोधः” अर्थात् चित्तका वृत्तिहरूको निरोध गर्नु नै योग हो। यहाँ चित्त भन्नाले मन, बुद्धि र अहंकारको समष्टि बुझिन्छ।वृत्ति भनेको चित्तमा उत्पन्न हुने तरङ्ग वा परिवर्तन हो।चित्तका प्रमुख पाँच वृत्तिहरू हुन्—प्रमाण,विपर्यय,विकल्प, निद्रा,स्मृति । यी वृत्तिहरू चञ्चल हुँदा मानिस दुःख र बन्धनमा पर्छ। योग अभ्यासद्वारा यी वृत्तिहरू नियन्त्रणमा आएपछि चित्त शान्त हुन्छ र पुरुषले आफ्नो वास्तविक स्वरूपको अनुभूति गर्छ। यही अवस्था चित्तवृत्ति निरोध हो। योग दर्शन लाई चल्ने क्रममा अष्टाङ्ग मार्गको चर्चा गरिनु अपरिहार्य हुन्छ। चित्तवृत्ति निरोधका लागि योग दर्शनले अष्टाङ्ग योग (आठ चरणको साधना मार्ग) प्रस्तुत गरेको छः
यम – अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह
नियम – शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वरप्रणिधान
आसन – शरीरलाई स्थिर र सुखद बनाउने साधना
प्राणायाम – श्वास–प्रश्वासको नियन्त्रण
प्रत्याहार – इन्द्रियलाई विषयबाट फर्काउने अभ्यास
धारणा – चित्तलाई एक बिन्दुमा केन्द्रित गर्नु
ध्यान – निरन्तर एकाग्र चिन्तन
समाधि – ध्यानको पूर्ण अवस्था यी आठ अंग क्रमशः अभ्यास गर्दा साधकको शरीर, मन र आत्मा शुद्ध हुँदै जान्छ। यसरी सैद्धान्तिकरण गरिएको योग दर्शनको कशीमा राखेर किरण आचार्यकृत शैलसुतेको मूल्याङ्कन गर्दा पृष्ठ १२९, ३० मा योग दर्शनको प्रयोग भएको देखिन्छ। हिमालय र उनका प्रजाहरूले गरेको योगाभ्यास र त्यसबाट प्रभावित भएर शैलसुताले पनि योग गर्न इच्छा जाहेर गर्दा आएका संवादहरू योगदर्शन केन्द्रित छन्। त्यसैगरी पृष्ठ १०८ र १०९ मा शैलसुतेले आफ्नो पिता हिमालयसँग आफू तपस्या गर्ने र अरुले जस्तै ध्यान गरेर सिद्धि प्राप्त गरी महादेवका निम्ति योग्य बन्ने कुरा अभिव्यक्त गर्दा पिता हिमालयले मस्तिष्कलाई तीक्ष्ण बनाउन, मेधा शक्ति बढाउन, आनन्द प्राप्त गर्न लगायतका विविध सन्दर्भ केन्द्रित भएर ध्यानको महत्त्वका बारेमा अघि सारेका विचारहरुले पनि कृतिलाई योग दर्शनको सामिप्यता प्रदान गरेको छ।
२.३. पाश्चात्य दर्शन
२.३.१ अस्तित्ववादी दर्शन
मानिसलाई अस्तित्वपूर्ण व्यक्ति मानी अस्तित्वलाई नै विशेष महत्व दिँदै मानवीय जीवनको नवीन अर्थ र मूल्यको खोजी गर्ने मान्यता हो अस्तित्ववाद। अस्तित्ववादको प्रारम्भ दोस्रो विश्वयुद्ध (१९३९–१९४५) को भयङ्कर विविसिकाको प्रतिक्रिया स्वरूप नियतिवाद तथा आदर्शवादको विरोधमा सन् १९४३ देखि भएको हो (शर्मा र लुइटेल, २०७६ पृ. ३४२)। दोस्रो विश्वयुद्धले मानवीय अस्तित्व नै संकटमा पर्न थालेपछि देखा परेको अस्तित्ववादी मान्यताको पृष्ठभूमि पास्कलको ईश्वर र पदार्थ सम्बन्धी सिद्धान्त, हसरेलको प्रत्यक्ष ज्ञानसम्बन्धी मान्यता, डिल्थीको हिगलवादी तर्कवादको विरोध, नित्सेको ईश्वर मृत्युको घोषणा जस्ता मान्यताहरूले निर्माण गरेको हो। यस मान्यतालाई मूर्त रूप दिने दार्शनिकहरूमा सोरेन क्रिकेगाड, कार्ल यास्पर्स, ग्याब्रियल मार्सल आदि उल्लेखनीय छन्। मूलतः आस्तिक चिन्तनलाई जोड दिए पनि नास्तिक चिन्तनबाट समेत अछुतो रहन नसकेको अस्तित्ववादी मान्यता प्रयोगका दृष्टिबाट समेत किरण आचार्यको उपन्यास शैलसुते महत्वपूर्ण रहेको हुँदा शैलसुते भित्र परेका अछुतोवादी मान्यतालाई संक्षेपमा चर्चा गरिनु सान्दर्भिक देखिन्छ। किरण आचार्यको उपन्यासभित्र मूलतः नारीवादी पात्रहरूमा अस्तित्ववादी चिन्तन प्रकट भए तापनि आंशिक रूपमा केही पुरुष पात्रहरूले समेत अस्तित्ववादी चिन्तन प्रस्तुत गरेका छन्।
स्वर्गका राजा इन्द्रले आफ्नो अस्तित्व जोगाउन गरेको युद्ध, युद्धबाट पराजित भइसकेपछि कहिले गुफाभित्र लुकेर, कहिले भेष बदलेर अस्तित्व रक्षा गरेका प्रसङ्गहरू, शुम्भ, निशुम्भ जस्ता बलशाली दानवहरूले सिङ्गो दानव जातिकै अस्तित्व रक्षार्थ गरेका घोर तपस्या एवं युद्धहरू अस्तित्ववादी कोणबाट प्रशंसनीय मानिन्छन्। यस सन्दर्भमा नमुचीको प्रसङ्गलाई प्रस्तुत गरिनु बढी सान्दर्भिक ठहर्छ। नमुचिका माध्यमद्वारा ज्ञान साधनाबाट प्राप्त गर्न सकिन्छ न कि बलजफती भन्ने आशय त प्राप्त हुन्छ नै उनै नमुचीले आफ्नो बर्चस्व जोगाउनका लागि गरेको अडान र अरुका अगाडि झुक्न नचाहने प्रवृत्ति अस्तित्ववाद केन्द्रित देखिन्छ। खासगरी उपन्यासमा वर्णित नमुची पात्र इन्द्रले मार्ने प्रयास गर्दा वा बन्दी बनाएर सकेसम्मको यातना दिन खोज्दा पनि आफूले साधनाबाट प्राप्त गरेको ज्ञान दिनुको साटो बरु मर्न चाहन्छन् तथापि आफ्नो अडानमा टसकोमस देखिदैनन् । आफ्नो ज्ञानमा आफ्नै मात्र अधिकार रहेको र यसलाई कसैले बलजप्ती गर्दैमा झुक्न वा शरण पर्न नचाहने नमुचीको स्वभावले अस्तित्ववादी मान्यतालाई अङ्गीकार गरेको छ। अस्तित्ववादी चिन्तनमा विशेषतः नारी पात्रहरू खरो भएर उभिएको देखिन्छ। यस सन्दर्भमा नारी अस्तित्वमाथि धावा बोल्ने ऋषिहरूप्रति शोधाका तीनवटी अयोनिजा कन्या हरूले उठाएको आवाज र नारीहरूसँग पनि क्षमता छ भने उनीहरूलाई सम्मानपूर्वक हेरिनुपर्छ उनीहरूको मानमा मर्दन आउने काम गर्नु किमार्थ क्षम्य हुन सक्दैन भन्ने मान्यता केन्द्रित विचार प्रस्तुत हुँदा अस्तित्ववादी चिन्तन प्रादुर्भाव भएको देखिन्छ। शैलसुताको केटाकेटी छँदादेखि नै अरुको विचारलाई भन्दा आफ्ना विचारलाई प्राथमिकता दिने र आफ्नो निर्णयमा आफू हिँड्ने र अरुलाई पनि हिँडाउने प्रयासहरू, माता पार्वतीको महादेवसँगको बहसमा विशेषतः नारी अस्तित्व माथि नै प्रश्न उठ्दा पार्वतीले गरेको प्रतिकार र नारी अस्तित्व केन्द्रित सकारात्मक विचारहरू समेत अस्तित्ववाद निकट मानिन्छन्।
२.३.२ नारीवादी दर्शन
पुरुषद्वारा स्थापित नारी सम्बन्धी समस्त धारणा दृष्टिकोण पूर्वाग्रह मान्यता कल्पना र साहित्यमा नारीको स्थिर चरित्र चित्रण आदिलाई नकार्दै नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्ने मान्यता (शर्मा र लुइटेल, २०७६ पृ. ३७१) नै नारीवाद हो। नारीवाद अन्तर्गत समान अधिकारको सुनिश्चिता,लैङ्गिक भेदभावको अन्त्य,महिला सशक्तीकरण जस्ता पक्षहरूका माध्यमद्वारा सामाजिक न्याय स्थापना गर्ने धेय राखिएको हुन्छ। यस किसिमको नारीवादी स्वर सन्धानका दृष्टिले पनि किरण आचार्यको शैल सुते महत्वपूर्ण कृति बनेको छ। कृतिको आवरण सज्जा, नामकरण देखि प्रमुख पात्रको चयनसम्म नारीलाई नै महत्व दिएर लेखिएको यस कृतिमा नारीहरू निरिह नभई बलशाली देखिएका छन्। महादेवसँग शास्त्र सम्वत प्रश्नहरूको उठान गर्दै बहस छेड्ने सामर्थ राख्ने नारी जस्ता सिङ्गो स्वर्गलाई नै हायलकाल पारेर राज गरिरहेका बलशाली एवं लगभग अमर रहने वरदान पाएका सुम्भ निसुम्भ जस्ता दानवहरूलाई पनि तह लगाएर शान्ति स्थापना गर्ने शक्तिशाली व्यक्तित्वका रुपमा पनि नारीहरू नै प्रस्तुत भएका छन्। कृतिभित्र महादेवले तपस्या भङ्ग गर्ने तत्त्व र युवतीहरूलाई विध्वंसा शब्दले सम्बोधन गर्दाका क्रममा बालिका शैलसुतेले उठाएका प्रश्नहरू र नारीहरूको मर्यादाहरुलाई माथि उठाउन गरेका प्रयासहरू (आचार्य, २०८२ पृ.१६२) नारीवादी आवाज बनेर आएका छन् भने अत्यन्त विदुषी वेद ज्ञाता तत्त्व ज्ञाता योगिनी स्वरूपा धर्ममूर्ति अयोनिजा कन्याहरूले सनक, सनन्दन, सनातन र सनत कुमार लगायतका मानसपुत्रहरूलाई आफू बसेको आसन नछोडेको, स्वागत, सत्कार नगरेको मानभाव र उचित सम्मान दिन नसकेको आरोपमा उनै ऋषिहरूद्वारा श्रापित भए पश्चात् आफू नारीहरू भएकै कारण आफ्नो ज्ञानको मूल्याङ्कन हुन नसकेको र पुरुषरुपी अहंकारले उन्मत्त ऋषिहरुले नै सानो निउमा महिलाहरूलाई श्रापित गरेर आफ्नो अहमताको प्रदर्शन गर्ने शोभाप्रति कटु आलोचना गर्दै छेडेको बहस तथा तर्क वितर्कबाट स्वयं ऋषिहरुले नै लज्जाबोध गरेका छन्। यस प्रसङ्गमा अयोनिजा कन्याहरूले उठाएको नारीवादी चेत प्रशंसनीय देखिन्छ।
उपन्यासभित्र काली नामक पात्रले नारी जातिको स्वस्फुर्त प्रेमलाई समेत स्वीकार्न नसक्ने शिवको धिष्टताबाट क्रोधित भई अपार शक्तिशाली शिव भन्दा ज्ञानी विवेकी र युद्ध कौशलमा निपूर्ण बन्नका लागि कठोर तपस्याको बाटो रोजेको प्रसङ्ग आएको छ। काली जस्ती दरबारमा हुर्केकी कोमल नारीले स्वयं बलशाली शिवलाई नै परास्त गर्ने गरी कठोर तपस्या अकल्पनीय रहेको ठहर गरी राजा हिमालयले प्रारम्भिक ज्ञान दिन बोलाइएका ऋषिहरूले युद्ध ज्ञान लिने हक नारीमा नभएको विचार व्यक्त गर्दै पुरुषको तुलनामा नारीलाई निकै कमजोर र परिवारमा सुख ल्याउने मात्रै खेलौना जस्तो सम्झेका छन्। यसक्रममा उनीहरुले “राजन बालिकालाई युद्धज्ञानको के प्रयोजन हुन सक्दैन। उनीहरूको कार्य त संहारले निरस एवं पाषणकारी हुन पुगेको पुरुषको जीवनमा आनन्द एवं खुसीको वर्षा गर्नु हो। परिवारमा सुख शान्ति ल्याउनु हो“ (आचार्य २०८२ पृ.१८५)। भन्ने विचार अघि सारेका छन्। ऋषिहरूको विचारमा पूर्णरूपले असहमति जनाउँदै कालीले नारीहरूको भूमिका महत्व र उनीहरूले प्रदर्शन गर्न सक्ने क्षमताको नजरअन्दाज नगर्न सुझाउँदै उनै ऋषिहरूसँग गरेको गहन संवादमा नारीवादी चिन्तन सशक्त रूपमा देखापरेको छ।
आचार्यको शैलसुते पौराणिककालीन नारीहरूको भूमिकालाई प्रस्ट्याउन सक्षम छ। उपन्यासमा केही अप्सराहरूको भूमिकालाई छोडेर अन्य नारीहरूको भूमिकालाई महत्वका साथ प्रस्तुत गरिएको छ । यस क्रममा युद्ध जित्नका लागि कला कौशल पूर्णरूपले प्रस्तुत हुने क्षमता भएका व्यक्तित्वका रुपमा नारीहरूलाई लिइएको छ। रूपले सुसज्जित नारीहरूको कुटिलतापूर्ण र कलात्मक कार्य व्यापारका कारण शुम्भ र निशुम्भ जस्ता दानवहरूले स्वयं अत्यन्त बलशाली पुरन्दर इन्द्रमाथि सजिलै विजय प्राप्त गरेका छन्। पौराणिक कालमा नारीहरूको महत्वलाई अग्र स्थानमा राखेको देखिन्छ। नारी भोग्या होइनन् सल्लाहका अधिकारी हुन्। भन्ने प्रसङ्ग उपन्यासका धेरै अंशहरुले पुष्टि गरेका छन्। यही क्रममा महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने हो भने त यिनीहरूले हामी पुरुषले भन्दा निकै कुशलतापूर्वक कार्य गर्ने थिए। हाम्रो त अस्तित्व नै समाप्त पारिदिने थिए (आचार्य, २०८२ पृ. ३४) भन्दै मै हुँ भन्ने सुम्भ निशुम्भ जस्ता दैत्यहरूले समेत नारी शक्ति र क्षमताको मुक्तकण्ठले प्रशंसा गर्नुले पनि तत्कालीन नारीहरूको क्षमता प्रकाशमय भएको छ। उपन्यासका दानव पात्र शुम्भ निशुम्भले आफ्नी श्रीमतीहरूको योजना मुताबिक हिँड्दा युद्धमा सफलता प्राप्त पश्चात अमरावती प्राप्त गर्नु, अमरावती राज्य प्राप्त गरेपश्चात आफ्नी माता दनुले दरबार प्रवेश नगरुन्जेलसम्म आफूहरू पनि दरबार प्रवेश नगर्नु जस्ता घटनाक्रमहरूले मनुस्मृतिको यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता।” अर्थात् जहाँ नारीहरूको सम्मान र पूजा गरिन्छ त्यहाँ देवताहरू प्रसन्न हुने मात्र नभई दानवहरू समेत प्रसन्न भएको यथार्थ प्रस्तुत गरिएको छ। समग्रमा नारी पात्रलाई महत्व दिएर शीर्षकीकरण गरी सोही अनुरुपको कथावस्तु संयोजन गरी नायकत्व प्रदान गरिएको उपन्यास भएकाले पनि शैलसुते नारीवादी कोणबाट प्रशंसनीय कृति बनेको हो।









प्रतिक्रिया दिनुहोस्