राजेन्द्र प्रसाद धिताल
नाउँमा हामीसँगै तरेका नयाँ मान्छेहरु अगाडि अगाडि हिडेका छन् । हामी पछाडि पछाडि छौं । चौतर्फी खुला मैदान छ । ठूला र चौडा खेतहरु छन् । म घरि मनै लोभ्याउने लहलह झुलेका पहेला धानका बालाहरुतिर नियाल्छु त घरि ठूल्ठूला हरिया तोरीबारीतिर हेर्छु । खेत खेतमा धान काट्न लागेका मानिसहरु देखिन्छन् । बाटामा भैसी, राँगा चराइरहेका गोठालाहरु भेटिन्छन् । बाटोमा मजस्तै स–साना बालबालिकाहरु कोही भेडा, बाख्रा चराइ रहेका छन् त कोही कपडाको भकुण्डो बनाएर खेलिरहेका छन् । हामी सरासर हिडिरहेका छौं । मान्छेहरु अनौठो मानेर हामीलाई हेरिरहेका छन् । हामीसँगै बाटोमा हिडिरहेका मानिसहरु आपसमा कुरा गरिरहेका हुन्छन् । तिनका पुरै कुरा हामी बुज्दैनौ । कहिलेकाँही यिनीहरु हाम्रा विषयमा पनि कुरा गर्छन् कि लाग्छ मलाई । कहींकहीं ससाना केटाकेटीहरु मलाई अनौठो तरिकाले हेर्छन् । म बज्यूको बुइमा छु । कान्छोबुबाले डोकोमा भारी बोक्नु भएको छ । हामीले पुराना र मैला लुगा लगाएका छौं । हाम्रो भेषभुषा यहाँको भन्दा नितान्त भिन्न छ । मैले टोपी, कोट, कोछ्या र सुरुवाल लगाएको छु । कान्छोबुबाले पनि यही पोशाक लगाउनु भएको छ । बज्यूले ठेटुवाको गामन, मखमलको चोलो लगाउनु भएको छ र कालो काम्लो ओढ्नु भएको छ । हामी यहाँका मान्छेहरुका लागि नयाँ छौँ हाम्रा लागि यो मैदानी परिवेश नयाँ छ । यो मैदानी दृष्य मलाई औधी रोचक लागिरहेको छ । यहाँको नवीनतालाई म एकोहोरो नियालिरहेको छु । यात्रामा भेटिएका मान्छेहरुको भेषभुषा नयाँ र अनौठो लागेको छ मलाई । पातला लुगा लगाएका छन् । कसैले पनि सुरुवाल लगाएका छैनन् ।
हामीले लगाएको लुगा र यिनले लगाएको लुगामा भिन्नता छ । बाटोबाट खेतमा मान्छेहरु लहरै धान काटिरहेका देखिन्छन् । बाटोमा हिड्ने मान्छेहरु, खेतमा काम गर्ने मान्छेहरु, गाई, भैसी, भेडा बाख्रा चराउने मान्छेहरु र बाटोमा खेल्ने केटाकेटीहरु सबै हामीतिर अनौठो तरिकाले हेर्छन् । केटाकेटीहरु बाटोबाट मलाई जिस्क्याउछन् । मलाई कसैले जुमलिया भनेको त कसैले पर्वतीया भनेर बोलाएका हुन्छन् । म स्वतन्त्र छैन, बज्यूको बुइमा छु । मलाई पैदल हिड्ने मन छ् । बाटोमा खेल्ने मन छ । यो नयाँपनको बारेमा सबैकुरा जान्ने मन छ । तर मलाई त्यो अवसर छैन । साँझ पर्नै लागेको छ । हामीले आज साझसम्म गन्तव्यमा पुगिसक्नु पर्ने छ । हामी सरासर हिड्दै छौँ । हिड्दा हिड्दै बाटामा जङ्गलबाट दाउराको भारी बोकेर हिडिरहेका महिलाहरु भेटिए । यी महिलाहरुले बज्यूसँग हामीले जानुपर्ने ठाउँको बारेमा सोधपुछ गरे । बज्यूले हामी जुम्लाबाट आएका हौं, गोला गिद्दपुरमा हाम्रो जग्गा छ, हामी त्यहीँ जानुपर्ने हो भनेर बेलीबिस्तार लगाउनु भयो । यी महिलाहरु निकै सहृदयी र सज्जन रहेछन् । यिनीहरू अछामबाट तराई झरेका रहेछन् । अहिले यिनको बसोबास थापापुर भन्ने गाउँमा रहेछ । अबको हाम्रो बाटोका यिनीहरू भरपर्दा साथी बने । यिनीहरूसग राजीपुरमा भेट भएको रहेछ । बाटोका गाउँहरुको बारेमा यिनीहरू बताउदै गए।राजीपुर, बगहीपुर हुँदै हामी थापापुर आइपुग्यौ । तिनीहरूमध्ये एक जना सहृदयी नारीले आफ्नो घरमा भारी राखेर हामीलाई बुढीकुलाको किनारसम्म पुर्याइदिनु भयो । पहिलोपटक बाटामा भेटिएकी मान्छेले यति धेरै सदभाव देखाएको देखेर बज्यू निकै कृतज्ञ बन्नु भयो ।
बुढीकुलाको किनारमा आफ्नो कुम्लो फुकाएर केही दाना ओखर र अलिकति सिमीको दाल दिनुभयो । यस अघि कहिल्यै नदेखेकी, नचिनेकी ती नारीको सहृदयी व्यक्तित्व मलाई असाध्यै आत्मीय लाग्यो । कताकता मैले तिनको मुहारमा आफ्नी आमाको झझल्को अनुभूति गरेको थिए।हामीलाई बूढीकुलाको किनारमा पुर्याएर उनी थापापुरतिर फर्किइन । हामी नाउँको प्रतीक्षामा बस्यौं । अब घाम अस्ताइ सकेको छ । सानो सुपुली नाउँ आउछ । हामी नाउँमा चढ्छौ र बुढीकुलो तर्छौ । बूढीकुलो तरिसक्दासम्म लगभग झिसमिसे अध्यारो हुन थालिसकेको हुन्छ । किनारमा आइपुग्छौ त हामीलाई पर्खेर पिता जी बसिरहनु भएको रहेछ । पिताजीलाई भेटेपछि मैले निकै ठूलो खुसी भेटाएको अनुभूति गरे।बज्यू र कान्छोबुबा पनि हर्षित हुनुभयो । अब म पिताजीको बुइमा बसे । पिताजीले खेतैखेतको बीचमा साघुरो बाटोबाट हामीलाई राति गिद्दपुर गाउँमा रहेको एउटा घरमा लैजानु भयो । घर पुग्दासम्म रात परिसकेको थियो । दाउराको उज्यालो बालेर त्यस अपरिचित घरका घर मालिकहरुले हामीलाई व्यग्र प्रतीक्षा गरिरहेका थिए । हामी पुग्यौं त्यस घरमा । खरले छाएको भुइ घर छ । घर लिपपोत गरेर घर चिटिक्क सफा गरिएको छ । घरमा बुढाबुढी र केटाकेटी गरेर ७ जना जति परिवारका सदस्य छन् । खाना खाने बेला भएको छ।खाना खानुभन्दा अगाडि केही शिष्टाचार र कुराकानी हुन्छ । घरका सबैजनाले बज्यूलाई नमस्कार गर्छन् ।
कान्छोबुबा घरका दुईजना मूली दम्पतीलाई नमस्कार गर्नुहुन्छ । मलाई हातमा ढोग गर्न भनिन्छ । म विनम्र ढोग गर्छु।यी अपरिचित परिवारसग हामी मिसिएका छौँ । हामी यो घरमा आज आईपुग्ने कुराको पूर्व जानकारी अगाडि आउने हटारुहरुले गरिसकेका रहेछन् । हाम्रो लागि पनि खाना तयार छ । घरबेटी बज्यै खाना पस्किनुहुन्छ । सबैजना लहरै बसेर भात खान थाल्छौ । आजको भात मलाई नितान्त नौलो लाग्छ । बिहानसम्म हामीले रातो भात खाएका थियौं । सिमीको कालो दाल खाएका थियौ । अहिले हेर्छु त भात मसिनो र सेतो छ । दाल पनि मसिनो र पहेँलो छ । म सम्झन्छु, जेठा बाले पहिले जुम्लामा हाटको बारेमा वर्णन गरेका कुराहरू । उहाँले मुग्लानमा सेतो भात पाइन्छ भन्नुभएको थियो । आजको खाना, बास र परिवेश मलाई अचम्म नौलो लाग्यो । लगभग १५ दिनपछि आज हामी कसैको घरमा बास बसेका छौं । पारिवारिक वातावरणमा खाना खाएका छौँ । एकदमै अपरिचित भएर पनि एउटै घरका सदस्यका रूपमा हामी यो घरमा बसेका छौं । खाना खाइसक्यौ । आगनमा ठूलो चुलोमा आगो बालियो । वरपरबाट अरु मानिसहरू बस्न आए । जुम्ला र औलका कुरा हुन थाले । म केही बुझेर केही नबुझेर कुरा सुनिरहेको छु । दुईजना मभन्दा अलिकति ठूला उस्तै उस्तै दाइहरु छन् । एक जना मजत्रै साथी छन् । एउटी म भन्दा ठूलो दिदी र एउटी मभन्दा अलिकति सानी बहिनी छन् । यी सबै केटाकेटी मेरो नजिकै बसेर कुरा सुनिरहेका छन् । मलाई यिनीहरू मेरा अत्यन्तै नजिकका आफन्त हुन् झै लागेको छ । यो घर पनि हाम्रो नै हो जस्तो लागेको छ । तर पनि मेरो मनमा जिज्ञासा छ ।यो घर कसको होला रु यी मान्छेहरु को होलान् रु प्रश्न मनमा खेलाइरहेको छु । अग्रजहरुका गफ चलिरहेका छन् । आज हामी सबै निश्चिन्त बनेका छौ । हाम्रो गन्तव्य पूरा भएको छ।हामी हाट आइसकेका छौँ । भोलि बिहानै उठेर अब हामीले हिड्नु पर्नेछैन ।
मैले बज्यूको बुइबाट छुटकारा पाएको छु । कान्छोबुबाले गह्ङ्र्गो भारीबाट छुटकारा पाउनु भएको छ । म पिताजीको अनुहार हेर्छु । बज्यूको अनुहार हेर्छु । कान्छोबुबाको अनुहार हेर्छु । सबैको अनुहारमा एक प्रकारको सन्तुष्टि छ । सबैको प्रदीप्त मुहार देखेर मलाई आनन्द आउछ । लामो समय गफिएपछि सबैजना सुत्ने तरखरमा लाग्न थाल्छन् । भुइँमा पराल ओछ्याइन्छ । परालमाथि परालबाट बनाइएको एक प्रकारको ओछ्याउने चिज जसलाई गुन्द्री भन्दा रहेछन्, ओछ्याइन्छ । त्यसमाथि साधारण लुगा ओछ्याएर हाम्रो विस्तारा तयार हुन्छ । महिलाहरु एक लहर सुत्छन । पुरुषहरु अर्को लरमा छौँ । म आज बज्यूसग सुतेको छैन । घरबेटी बाजे, पिताजी, कान्छोबुबा र मसगै सुतेका छौँ । म पिताजी र कान्छोबुबाको बीचमा छु । आजको अनुभूति मेरो लगि विछट्टै नौलो छ । मैले पहिलोपटक पिताजीका साथमा सुत्न पाएको छु । पितृ वात्सल्यको आत्मीय अगालो आएर म गदगद भएको छु । सबै प्रकारका भय, आशङ्का र अन्योलबाट म मुक्त भएको छु । पिताजीको न्यानो काख पाएर म तृप्त भएको छु । कति निदाए, थाहै भएन । बिहान उठ्छु त बिस्तारामा कोही छैन । सबै उठेर बाहिर गैसकेछन । म पनि बाहिर निस्कन्छु।बाहिर झलमल्ल उज्यालो भएको छ । घरबेटी बज्यै भैसीको आटो तयार गर्दै हुनुहुन्छ । बाजे भैसी धुन लाग्नु भएको छ । ४ र ५ वटा भैसी छन् । २ वटा साना पाडीहरु छन । काला र चिल्ला भैसी देखेर म लोभिन्छु । घरका नयाँ साथीहरुसग म अझै खुल्न सकेको छैन । मलाई उनीहरूसँग खुल्न र खेल्न मन लागेको छ । दुध धोइ सकेपछि घरका मानिसहरु कताकता आआफ्नो काममा भुल्न थाले ।
पिताजी कतै काममा जानुभयो । अब म कान्छोबुबा र बज्यूमात्र घरबाहिर अगेना नजिक बसेका छौं । उपयुक्त मौका मिलेपछि म बज्यूलाई यो घरका मानिसहरू को हुन् रु हाम्रो घर कहाँ छ भनेर सोधपुछ गर्छु । बज्यू म र कान्छोबुबालाई सविस्तार बताउनुहुन्छ । बज्यूले बताए अनुसार यो घर जेठा पण्डितको घर रहेछ । गाउँमा धेरैजसोले उहाँलाई आदरपूर्वक जेठाबाजे भन्दा रहेछन् । उहाँको नाम चाहि कविराज ढकाल रहेछ । तराईमा हाम्रो पहिलो आश्रय स्थल यिनै सज्जन पण्डितको घर रहेछ । उहाँहरुसँगको हाम्रो नाता केवल भावनात्मक र मानवताको रहेछ । बज्यू कुरा गर्दै हुनुहुन्थ्यो, पिताजी आउनु भयो । पिताजीले अब साझबाट हामी त्यहाँ तल बस्नेछौ भनेर एउटा ठाटी घर देखाउनु भयो । आफ्नै घरमा बस्न पाउने मिठो कल्पनामा म रमाउन पुग्छु । हामी कुरा गर्दै छौं । एकएक गरेर आगनमा मान्छेहरु जुट्दै छन् । थाहा हुँदै जान्छ । त्यो टोलमा वरिपरि सबै ढकाल परिवारको बस्ती रहेछ । जेठा बाजेका धेरै भाइहरु रहेछन् । पूर्वतिर साहिली बज्यैको घर छ । पश्चिमतिर राइला बाजेको घर छ । अलि पश्चिम दक्षिणमा माइला बाजेको घर रहेछ । मेरा पिताजीले माइला बाजेबाट जग्गा किन्नु भएको रहेछ । माइला बाजे त्यतिबेलाका ठूला जमिनदार हुनुहुँदो रहेछ । उहाँलाई सबैले चौधरी बाजे भन्दा रहेछन् । अब हाम्रो स्थायी बासस्थान चौधरी बाजेको घरमा हुने रहेछ । बिहानको खाना खायौं । पण्डित्नी बज्यैले स्नेहपूर्वक दाल, भात र दही खान दिनुभयो । घरका सबै सदस्यहरु र हामी लहरै बसेर सँगै खाना खायौं ।
खाना खाइ सकेपछि हामी चौधरी बाजेको घरमा गयौं । चौधरी बाजेको ठूलो ठाटी घर छ । भुइँ तलालाई दुई भागमा बाँडिएको छ र दुई भागमा दुई परिवार बसेका छन् । हामीलाई माथिल्लो तला अथवा ठाटीमा बस्ने बन्दोबस्त गरिएको छ । ठाटीलाई पनि दुई भागमा बाडिएको छ । पछिल्लो भागमा भात पकाउने चुलो छ । अघिल्लो भाग सुत्नको लागि छोडिएको छ । हामी जेठा बाजेको घरबाट सर्छौ । जेठा बाजेका परिवारका सबैजसो सदस्यहरु हामीसँगै आउनुहुन्छ र हाम्रो नयाँ बसोबासका लागि चाहिने सबै प्रबन्ध गर्न सहयोग गरिदिनु हुन्छ । अब हाम्रो तराईमा स्थायी बसोबासको प्रबन्ध हुन्छ । नयाँ ठाउँ भएर पनि मलाई न्यास्रो लागेको छैन । घरभरि मान्छेहरु छन् । सबैले सबैलाई माया गरेका छन् । अहिलेसम्म त त्यहाँ रहेका सबै केटाकेटीहरुसँग म खुलिसकेको छु । जेठा बाजेका छोराछोरीहरु मलाई आफ्नै भाइलाई जस्तै माया गर्दैछन् । मलाई यस्तो लागिरहेको छ कि यो ढकाल परिवार पनि हाम्रो परिवार नै हो । उहाँहरुको आत्मीयताले म गद्गद भएको छु ।









प्रतिक्रिया दिनुहोस्