दृष्य एक दृष्टिकोण अनेक !



विष्णु पादुका

संसारले तपाईंलाई उसले चाहे जसरी हेर्न खोज्छ । तपाईं अरुको चाहना अनुरुप भैदिँदा तपाईं रहनु हुन्न । तपाईं जस्तो हुनुहुन्छ त्यस्तो देख्न संसार चाहन्न । तपाईंको संसार जतिसुकै सानो भए पनि त्यसले राख्ने दृष्टिकोणले खास फरक पार्दैन । फरक हुनु र फरक देखिन खोज्नु फरक कुरा हुन् । यहि फरक अस्विकार गर्नु नै जीवनको दुख हो भने पात्र परिस्थिति र परिवेशलाई सरल र सामान्य नजरले हेर्दा संतोष र सुख पनि छ यहि जीवनमा । संसारमा औपचारिकतालाई ठूलो कुरा मानिन्छ । वास्तविकता भन्नू त हरेकको फरक हुन्छ । प्रत्येक कोणबाट दृष्य फरक देखिन्छ । भन्नेले भनेको र सुन्नेले सुनेको कुरा उस्तै जस्तो लागे पनि बुझाइ फरक हुन्छ । भन्नेले स्पष्ट भन्न सक्दा सुन्नेले अस्पष्ट सुन्न सक्छ । कुरा मुछेर बोल्नेको पनि सुन्नेले छानेर सुन्न बुझ्न सक्छ । सुन्नु र बुझ्नुको आयाम पनि भिन्न हुन्छ । जसले जसरी अथ्र्याए पनि पानी न ताती बादल उठ्दैन । बादल चिसो नभई वर्षा हुँदैन । पानीको यो चक्र राजनीतिमा अदृश्य रूपमा चलिरहन्छ । योजना र सम्भावनाको पुल बलियो हुन्छ र अदृश्य हुन्छ । देखाउन औपचारिकता चाहिन्छ । ब्यवहारमा वास्तविकता आउने गर्छ । ब्यवहार र वास्तविकता बीचको अन्तरमा खेल्नु नै बौद्धिकता र राजनीतिक पटुता सावित हुँदै आएको छ । इतिहासले यहि भन्छ । वर्तमानले यो देखाइरहेको छ ।

औपचारिकता र वास्तविकता फरक कुरा हुन् । वास्तविकता भोगाइ हो । तर त्यो वास्तविकतालाई औपचारिक ढाँचामा ल्याईदा धेरै कुरामा अन्तर हुन्छ नै । तर जहिल्यै शब्दका बलमा ती छिद्र पुरिने काम हुन्छ । भाद्र तेईस र चौबीस अघिको वास्तविकता र दुईदिनका भयावह घटना कार्की आयोगले कसरी केलाउला ? किन यो ढिलाइ ? वास्तविक घाउ भोग्ने र वास्तविक घटनाका साक्षीहरू पनि औपचारिक दस्तावेजमा विश्वास गर्नुपर्ने छ तर त्यसको प्रतीक्षा निकै लामो हुँदैछ । मानिसले बनाएका प्रत्येक संरचनाहरु राज्य, न्याय र इतिहासका दस्तावेज सबैको आधार सत्य खोज्नु हो । तर विडम्बना के छ भने, सत्य आफैं कहिल्यै पूर्ण रूपमा औपचारिक ढाँचामा अट्दैन । त्यो बाँचिन्छ, महसुस गरिन्छ, भोगिन्छ । त्यसैले औपचारिकता र वास्तविकता सधैं समानान्तर हिँड्ने दुई रेखा हुन् । एक अर्कासँग नजिकिए पनि कहिल्यै पूर्ण रूपमा भेट्दैनन् । वास्तविकता कुनै रिपोर्ट होइन । कुनै निर्णयपत्र होइन । त्यो एउटा महसुसको तह हो । कानुनी कागजमा घटना भनेर लेखिन्छ । त्यो आँसु हो । प्रतिवेदनहरूमा पीडितको बयान भनिन्छ । भाद्र तेइस र चौबीस जस्ता दिनहरू जहाँ समय नै थामिएको जस्तो लाग्छ । त्यहाँ घटेका पीडा कुनै आयोगको अनुच्छेदमा पूर्ण रूपमा समेटिन सक्दैन । त्यो त साक्षीको आँखामा बसेको छ । पीडितको शरीरमा टाँसिएको छ । अझ धेरै न्याय खोजेका शान्त आँखामा मौनताको हतियार बनेर रहेको छ ।

औपचारिकता भनेको समाजले बनाएको एउटा ढाँचा हो । न्याय दिन, तथ्य प्रमाणित गर्न, र इतिहास लेख्न आयोगहरू, छानबिन र प्रतिवेदन यी सबै प्रयासहरू सत्यलाई समात्ने र न्याय दिने प्रयास हुन् भन्नेकुराको विकल्प हुँदैन सामान्यजनका लागि । हरेक घटना पछि त्यसको चिरफार गर्न बनेका आयोग उपर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ , के शब्दले ती पीडाको सम्पूर्ण आयाम समेट्न सक्छ ? औपचारिकता आवश्यकता छ किनकि त्यसले उत्तरदायित्व निर्धारण गर्छ । तर यसले प्रायः सत्यलाई सरल बनाउँछ । वर्गीकृत गर्छ र कहिलेकाहीँ स्वीकार्य बनाउने क्रममा वास्तविकताको तीखोपन गुमेको हुन्छ । अनुभुतीको स्तर पातलो हुन्छ । शब्दको शक्ति कि पुल जस्यो कि पर्दा जस्तो हुनपुग्छ । शब्दहरूले छिद्र पुरिन्छन् । शब्दहरू दुई किसिमले काम गर्छन् ।कहिलेकाहीँ ती पुल बन्छन् अनुभव र बुझाइबीच कहिलेकाहीँ ती पर्दा बन्छन् । सत्यलाई छोप्नमा प्रयोग हुन्छन् । जब कुनै आयोगले प्रतिवेदन लेख्छ । त्यहाँ शब्दहरू चयन गरिन्छन् । मापन गरिन्छन् । कहिलेकाहीँ नरम पारिन्छन् । किनकि औपचारिक भाषा सधैं सन्तुलित हुन खोज्छ जबकि वास्तविकता प्रायः असन्तुलित हुन्छ । बौद्धिकताको असमंवेदनसिल प्रयोग जस्तो लाग्छ यो प्रक्रिया । ढिलाइ केवल प्रशासनिक समस्या होइन । त्यो आफैंमा एउटा राजनीति हो । किन ढिलाइ हुन्छ ?

प्रमाण संकलनको जटिलता

राजनीतिक दबाब , सत्यको असहजता , दोषी र शक्तिको सम्बन्ध ? तर पीडितका लागि प्रत्येक दिनको ढिलाइ भनेको न्यायको दूरी बढ्नु हो । समय यहाँ निष्पक्ष हुँदैन । समयले प्रायः पीडालाई मेटाउँदैन बरु झन् गहिरो पो बनाउँछ । सबैभन्दा ठूलो विडम्बना यो हो कि जसले घटना भोग्यो, जसले आफ्नै आँखाले देख्यो, उसैले अन्ततः औपचारिक कागजमा विश्वास गर्नुपर्छ । यो एउटा अस्तित्वगत प्रश्न हो । के त्यो स्मृति पर्याप्त छैन ? किन ती पीडाले प्रमाण खोज्छन् ? यहाँबाट विश्वासको संकट जन्मिन्छ । जब औपचारिकता ढिलो हुन्छ, अधूरो हुन्छ, वा संशोधित हुन्छ । त्यो केवल एउटा प्रतिवेदन असफल हुनु होइन त्यो समाजको नैतिकता कमजोर हुनु पनि हो । औपचारिकता र वास्तविकता शत्रु होइनन्, तर तिनीहरूबीच विश्वस्त जोडाइ चाहिन्छ । औपचारिक संरचनाले मानवीय संवेदनशीलता अँगाल्नुपर्छ । प्रतिवेदन लिखित तथ्य मात्र नभएर अनुभूतिको प्रतिध्वनि पनि बन्नुपर्छ । पीडितको आवाजलाई तथ्यांक भन्दा माथिको सत्य मान्नुपर्छ । सत्य न त केवल कागजमा छ न त केवल सम्झनामा । त्यो दुबैको बीचमा हुन्छ । जहाँ शब्द र मौनता एकअर्कालाई छुन खोज्छन् ।औपचारिकता बिना वास्तविकता अराजक हुन सक्छ । वास्तविकता बिना औपचारिकता निर्जीव हुन्छ । प्रश्न आयोगले के लेख्छ भन्ने मात्र होइन । समाजले कति गहिरो सुन्छ र विश्वास गर्छ भन्ने हो ।
यो केवल प्रक्रिया वा आयोगको प्रश्न मात्र होइन । मानव सभ्यताले सत्यसँग कसरी व्यवहार गर्छ भन्ने गहिराइको मापन पनि त हो ।

तर पुनब्र्याख्या कहिले पुनःआघात हुन पनि सक्छ । कुनै पीडितलाई बारम्बार सोधिने प्रश्नहरू, के भयो ? कसरी भयो ? किन भयो ? यी औपचारिकताका लागि आवश्यक देखिन्छन् । यो सत्यको खोजी हो कि सत्यमाथि नियन्त्रण हो? पीडितको अनुभव एकपटक भएको घटना मात्र होइन, त्यो जीवनभरि बाँचिरहने पीडा हो । त्यसलाई बारम्बार शब्दमा अनुवाद गर्न बाध्य पार्नु एक किसिमको दोस्रो तेस्रो हिंसा हो । शरीर माथि होइन कि संवेदनशील स्मृतिमाथि आक्रमण हो ।जब संरचना असंवेदनशील बन्छ औपचारिकता निष्पक्ष हुन खोज्छ । तर संवेदनशील हुन सक्दैन । किनकि त्यो औपचारिक नियममा बाँधिएको हुन्छ ।यहाँ एउटा द्वन्द्व जन्मिन पुग्छ । न्यायको लागि तथ्य चाहिन्छ । मानवताको लागि निर्मम न्याय पनि आवश्यक हुन्छ । तर औपचारिकता प्रायः ती भोगाइका घाउलाई अपूर्णता ठान्छ । समाजले न्यायको खोजी गर्छ र राज्य त्यसको लागि औपचारिक संरचना निर्माण गर्छ । आयोगहरू गठन हुन्छन् । छानबिन अघि बढ्छ । प्रतिवेदनहरू तयार हुन्छन् । यी सबै व्यवस्थित समाजका अनिवार्य आधार हुन् । तर यति हुँदाहुँदै पनि एउटा गहिरो विडम्बना सधैं रहिरहन्छ । समय आफैंले कहिल्यै समय तोक्दैन । कुनै भयावह घटना घट्दा त्यसले कुनै प्रक्रिया पर्खँदैन । कुनै औपचारिकतालाई सम्मान गर्दैन । त्यो अचानक आउँछ । समाजको सामु एक नाङ्गो सत्य छोडेर जान्छ । यहीँबाट सुरु हुन्छ वास्तविकता र औपचारिकताको बीचको मौन द्वन्द्व । वास्तविकता भोगाइ हो । जीवित अनुभव हो । अनुभवहरू सदैव सकारात्मक हुन जरुरी हुँदैन । जसलाई कुनै कागज, कुनै प्रतिवेदनले पूर्ण रूपमा समेट्न सक्दैन । कुनै पीडितको आँसु, उसको मौनता, वा उ भित्रको चिच्याहट औपचारिक भाषामा अनुवाद हुँदा धेरै कुरा हराउँछन् ।

जब समाजले भन्छ पर्ख , प्रक्रिया चलिरहेको छ । यो वाक्य केवल प्रशासनिक जानकारी हुँदैन । त्यो त पीडितका लागि एक प्रकारको अधूरोपनको अनुभूति हुन्छ । किनकि पीडाहरू समयसँगै स्थगित हुँदैनन् ।तिनले त प्रत्येक क्षणमा चिमोटिरहेका हुन्छन् । औपचारिकता आवश्यक छ त्यसले न्यायलाई संरचना दिन्छ । उत्तरदायित्व निर्धारण गर्छ । तर यसको सीमाना पनि उत्तिकै स्पष्ट होलान् । औपचारिकताले प्रक्रियाका लागि समय लिन्छ । प्रमाण खोज्छ, सन्तुलन कायम गर्न खोज्छ । तर वास्तविक रूपमा सन्तुलित हुँदैन । त्यो असहज, असमान र कहिलेकाहीँ अव्यवस्थित हुन्छ । यही कारणले गर्दा औपचारिकता कहिलेकाहीँ संवेदनाहीन देखिन थाल्छ । विशेषतः त्यतिबेला जब पीडितलाई बारम्बार आफ्नो अनुभव दोहोर्याउन बाध्य पारिन्छ । यस्तो अवस्थामा न्यायको खोजी स्वयं पीडाको पुनरावृत्ति जस्तो भएर भासिन्छ। समयलाई प्रायः निष्पक्ष मानिन्छ तर पीडितका लागि समय सधैं निष्पक्ष हुँदैन । ढिलाइले घाउ निको पार्दैन बरु त्यसलाई गहिरो बनाउने सम्भावना बढाउँछ । प्रत्येक बितेको दिनले एउटा मौन प्रश्न उठाइरहन्छ । मेरो पीडाले कति समयपछि मान्यता पाउँछ ? यहाँ समय केवल घडीले होइन कि न्यायको दूरी मापन गर्ने एक अदृश्य मापदण्डले देखाउनु पर्ने हो ती दुखाइहरूमा । यही सन्दर्भमा सबैभन्दा गम्भीर प्रश्न मानविय संवेदनशीलताको हो । औपचारिकता र वास्तविकताको बीचमा कतै मानवीयता हराउँदै गएको अनुभूति हुन्छ । जब कुनै पीडितलाई निरन्तर प्रश्नहरूको घेरामा राखिन्छ, जब घटनालाई बारम्बार केलाइन्छ, त्यो केवल सत्यको खोजी रहँदैन । त्यो घाउ गिजोल्ने प्रक्रिया बन्न सक्छ । यस्तो अवस्थामा न्यायको उद्देश्य नै प्रश्नको घेरामा पर्छ । यदि न्यायले पीडितलाई फेरि पीडित बनाउँछ भने त्यो न्याय कति न्यायपूर्ण रहन्छ ?

त्यसैले अब आवश्यकता केवल प्रक्रियालाई निरन्तरता दिने होइन कि त्यसलाई मानवीय बनाउने हो । औपचारिक संरचनाले तथ्य मात्र होइन, अनुभवलाई पनि स्थान दिनुपर्छ । पीडितको प्रतीक्षालाई असहयोगको साटो एक प्रकारको सान्त्वना दिन ढिलाइ गर्नु हुन्न । ढिलाइलाई सामान्य ठान्ने प्रवृत्तिबाट बाहिर निस्कनुपर्छ, किनकि ढिलो आएको न्याय धेरैपटक अधुरो न्यायमा रूपान्तरित हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा पीडितलाई केस को रूपमा हेर्नुको सट्टा एक जीवित मानवीय अनुभवको रूपमा हेर्नु पर्छ । न्याय केवल कागजमा लेखिएको निर्णय मात्र होइन। त्यो एउटा पीडितले आफूलाई सुनेको, बुझेको, र सम्मानित भएको महसुस हुनुपर्छ । औपचारिकता आवश्यक छ, तर त्यसलाई पूर्ण बनाउन त्यसमा संवेदनशीलताको स्पर्श अनिवार्य छ ।वास्तविकता कठोर हुन सक्छ, तर त्यसलाई बुझ्ने तरिका मानवीय हुनुपर्छ । समाजको परिपक्वता यसमा मापन हुन्छ कि उसले कति छिटो निर्णय गर्छ । उसले कति गहिरो महसुस गर्न सक्छ । न्याय तब मात्र पूर्ण हुन्छ । त्यो कागजबाट बाहिर निस्केर मानिसको घाउसम्म पुगोस् र त्यहाँ केवल निर्णय होइन, व्यबहारमै अन्तरको अनुभव गर्न पाइयोस् । प्रतीक्षाको लामो अबधिले शंकाको समाज निर्माण गरेका थुप्रै इतिहास छन् । विश्वास आर्जन भन्दा परिस्थिति जन्य स्वार्थले दुखाइलाई निरन्तर छायामा पारेको छ । कामना गरौं छिटो भन्दा छिटो न्यायाको अनुभूती सञ्चार होस् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार