शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा अझै क्षयरोगका विरामीको जोखिम कायम रहेको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका नौ जिल्लामध्ये बर्सेनि कैलाली र कञ्चनपुरमा बढी क्षयरोगी रहेका छन् । प्रदेश निर्र्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष प्रदेशमा क्षयरोगी विरामी दर बढ्दै गएको छ ।
आर्थिक वर्ष ०७७–७८ मा दुई हजार आठ सय २६ जना, आर्थिक वर्ष ०७८–७९ मा तीन हजार चार सय २४ जना, आर्थिक वर्ष ०७९–८० मा तीन हजार दुई सय १४ जना, आर्थिक वर्ष ०८०–८१ मा तीन हजार छ सय १८ जना रहेकोमा आर्थिक वर्ष ०८१–८२ मा तीन हजार छ सय ४८ जना विरामी रहेको उल्लेख छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेशमा एक हजार आठ सय ४० क्षयरोगीका विरामी रहेको उल्लेख छ । नौ जिल्लामध्ये कैलालीमा आठ सय १२ र कञ्चनपुरमा पाँच सय चार विरामी रहेको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्ममा डोटीमा ७८ जना क्षयरोगका विरामी रहेका छन ।
त्यस्तै, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका विरामी रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा क्षयरोगका कारण मृत्यु हुनेको दर कूल विरामी सङ्ख्यामा कमी आउन सकेको छैन । उपलब्ध तथ्यांकअनुसार प्रत्येक वर्ष प्रतिलाख जनसङ्ख्यामा करिब ५५ जनाको मृत्यु क्षयरोगका कारण हुने गरेको छ । यो दर घटाउन समयमै निदान र पूर्ण उपचार सुनिश्चित गर्नु आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
चालू आर्थिक वर्षमा प्रदेशका कूल विरामी सङ्ख्यामध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिममा आर्थिक वर्ष ०८१–८२ मा एक सय ३७, आर्थिक वर्ष ०८०–८१ मा एक सय १६ र आर्थिक वर्ष ०७९–८० मा एक सय २१ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिममा दुई हजारभन्दा बढी नयाँ क्षयरोगी बर्सेनि फेला पर्ने गरेको तथ्यांकले देखाएको छ ।
सो तथ्यांकअनुसार गत आर्थिक वर्षमा यस प्रदेशमा तीन हजार छ सय ४८ जना नयाँ क्षयरोगी फेला परेका थिए । जसअनुसार सबैभन्दा बढी एक हजार पाँच सय १३ कैलाली र सबैभन्दा कम बाजुरामा एक सय ४१ जना क्षयरोगी फेला परेका थिए । कोभिडयता सुदूरपश्चिममा पहिचान लक्ष्यअनुसार हुन नसक्दा क्षयरोगी विरामीको सङ्ख्या बढ्दै गइरहेको कार्यालयको भनाइ रहेको छ ।
पाँच पालिकामा उच्च क्षयरोगी दर
सुदूरपश्चिममा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकामध्ये पाँच पालिकामा उच्च क्षयरोगीको दर रहेको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार बाजुराको बडिमालिका नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, कञ्चनपुरको दोधार चाँदनी गाउँपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा उच्च क्षयरोगी दर रहेको छ ।
निर्देशनालयका अनुसार बडिमालिकामा दुई सय १९, दोधारामा दुई सय ९५, महाकालीमा दुई सय ६१, बेलडाँडीमा दुई सय ४३ र लालझाँडीमा दुई सय ९७ क्षयरोगी रहेका छन् । निर्देशनालयका अनुसार कैलाली सबैभन्दा बढी विरामी धनगढी उपमहानगरपालिका ४२९ जना सबैभन्दा कम मोहन्याल २२ जना, कञ्चनपुर सबैभन्दा बढी विरामी भीमदत्त नगरपालिका २२६ जना सबैभन्दा कम बेल्डाँडी ५१ जना रहेको उल्लेख छ ।
दश सबैभन्दा बढी बिरामी भएका पालिकामध्ये ६ कैलाली तथा ४ कञ्चनपुरमा स्थानीय तह रहेका छन् भने सबैभन्दा कम विरामी भएको पालिकामा बाजुराको जगन्नाथ गाउँपालिका रहेको छ । जहाँ दुई जनामात्र क्षयरोगी विरामी रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्