सुदूरपश्चिममा स्थानीय सेवा नियमावली नबन्दा समस्या



टीकापुर ।

सुदूरपश्चिम प्रदेशमा स्थानीय सेवा सञ्चालनसम्बन्धी नियमावली निर्माणमा ढिलाइ हुँदा प्रशासनिक कामकाज र सेवा प्रवाह प्रभावित भएको भन्दै लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूले प्रदेश सरकारलाई ७ दिनभित्र प्रक्रिया अघि बढाउन अल्टिमेटम दिएका छन् । विद्यार्थीहरूले मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढीमा ज्ञापनपत्र बुझाउँदै ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ कार्यान्वयनका लागि आवश्यक नियमावली अझै नबनाइएकोप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

उक्त ऐन प्रदेशसभाबाट पारित भई २०८२ असार १५ गते राजपत्रमा प्रकाशित भए पनि त्यसअनुसारको नियमावली नआउँदा कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेको छैन । नियमावली अभावकै कारण प्रदेशभरका स्थानीय तहमा पद रिक्त अवस्थामा रहेको र त्यसले नागरिकलाई प्रदान गरिने सेवा–सुविधामा प्रत्यक्ष असर परेको विद्यार्थी सन्तोष रावलको भनाइ छ ।

जनशक्ति अभावका कारण विकास निर्माणका कामदेखि दैनिक प्रशासनिक सेवा समेत प्रभावित भइरहेको रावलले बताए । ज्ञापनपत्रमा नियमावली तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन तथा त्यसपछि प्रदेश लोक सेवा आयोगमार्फत स्थानीय सेवाका रिक्त पदहरूमा शीघ्र विज्ञापन खुलाउन माग गरिएको छ ।

विद्यार्थीहरूले आफ्नो मागलाई बेवास्ता गरिएमा थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनीहरूले युवाहरूको भविष्य, रोजगारीको अवसर र प्रदेशको समग्र विकासलाई ध्यानमा राखेर सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार