सुर्खेत–२ र सल्यानमा पहिलो दल बन्यो रास्वपा



वीरेन्द्रनगर ।

सुर्खेत–२ र सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनाअनुसार कर्णालीका यी दुई क्षेत्रमा रास्वपा पहिलो दल बनेको हो । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईँका अनुसार समानुपातिकतर्फ पहिलो दल बनेको रास्वपाले सुर्खेत–२ मा ३३ हजार ६९९ मत प्राप्त गरेको छ ।

नेपाली काँग्रेसले १४ हजार ३२० मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ भने नेकपा (एमाले)ले १२ हजार ६२, नेपाली कम्युनिष्ट पार्टीले चार हजार २८९ र श्रम संस्कृति पार्टीले दुई हजार २७१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १२५ मत प्राप्त गरी क्रमश तेस्रो, चौथो र पाँचौँ बनेका छन् ।

सूचना अधिकारी चौलागाईँले दिएको जानकारी अनुसार सुर्खेत–२ मा एक लाख २८ हजार ४६७ कूल मतदाता रहेका थिए । जसमा यो क्षेत्रमा ७३ हजार ११३ मत खसेको थियो । ७० हजार ४४२ मत सदर हुँदा दुई हजार ६७१ मत बदर भएको थियो भने समानुपातिकतर्फ सो क्षेत्रमा ५७ दलहरूले भाग लिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै, सल्यानमा प्रत्यक्षतर्फको निर्वाचनमा दोस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्वपाले २५ हदार ६६५ मत प्राप्त गरेको हो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रतयक्षतर्फ निर्वाचन जितेपनि समानुपातिकतर्फ भने २० हजार ३२९ मतसहित दोस्रो भएको छ ।

यस्तै, तेस्रोमा नेपाली काँग्रेसले १६ हजार ०६१ मत ल्याएको छ भने नेकपा एमाले १४ हजार ९२ मतसहित चौथो स्थानमा सीमित भएको छ । २०७९ को निर्वाचनमा जिल्लामै पहिलो भएको एमाले यसपटक चौैथोमा सीमित भएको हो । जिल्लामा समानुपातिक एक लाख ६२ हजार ५४५ मतदाता रहेका थिए ।

जसमा ८३ हजार ८२५ मत खसेको थियो । कूल तीन हजार ३५ मत बदर हुँदा ८० हजार ७९० मत मात्र सदर भएको थियो । प्रत्यक्षतर्फ नेकपाका रमेशकुमार मल्ल २३ हजार १८९ मत ल्याएर निर्वाचित भएका छन् । मल्लका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।

यस्तै, नेपाली काँग्रेसका केशबहादुर विष्ट १७ हजार ५५८ र नेकपा एमालेका गुलाबजंग शाह १५ हजार ३७३ मतमै सीमित रहे । राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरिन् । एक लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ८३ हजार १६७ मत खसेको थियो । प्रत्यक्षतर्फ निवाचित ४७ वर्षीय रमेशकुमार मल्ल विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका नेता हुन् ।

२८ माघ २०३५ मा सल्यानको कुमाख गाउँपालिका ५ बाल्लेमा जन्मिएका मल्ल पछिल्लो तीन दशकदेखि राजनीतिमा क्रियाशील छन् । २०५० सालमा उनले तत्कालीन माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार