मुलुकी अपराधसंहिता, २०७४ ले आत्महत्यालाई अधिकारको रूपमा स्वीकार गरेको देखिँदैन । आत्महत्या दुरुत्साहन भन्नाले कसैले कसैलाई आत्महत्या गर्नेसम्मको काम गर्न उद्दत गर्न नहुने, आत्महत्या गर्न पुग्ने अवस्थासम्मको परिस्थिति खडा गर्न या गराउन नहुने, या आत्महत्या गर्ने गराउने अवस्थाको सिर्जना गर्न नहुने भन्ने अर्थमा बुझ्न सकिन्छ ।
नरेन्द्र देवकोटा ‘प्रशान्त’
पृष्ठभूमिः
मानिसको जीवन एकदमै अमूल्य र महत्त्वपूर्ण छ । अझै आफ्नो प्राण र शरीर अत्यन्तै प्यारो पनि छ । सबैभन्दा अगाडि ऊ आफ्नो सुरक्षा गर्न चाहन्छ । आफूलाई सुरक्षित राख्न विवाह गर्दछ, छोराछोरी जन्माउँछ । धन सम्पत्ति र घर घडेरी जोड्दछ । बिरामी हुँदा औषधि उपचार र सुरक्षित साथ बस्न उसले घर जग्गालाई पर्खाल घेराबार लगाउँछ । तर पनि मानिसले जीवनमा मानसिक रूपमा पूर्ण सन्तुष्टि लिन सकिरहेको हुँदैन । अन्ततः व्यक्तिले जीवनका सबै सुन्दर पक्षलाई त्यागेर आत्महत्यालाई रोज्न पुग्दछ । यसरी ज्यान लिनु मरेर जानेको लागि त सबै कुरा सकिन्छ, बाँच्नेका लागि भने जीवनभरी पीडा छोडेर जान्छ, मुटुमा पीडाको किला गाढेर जान्छ, निकाल्दा निक्लिन्नँ, मेटेर मेटिन्नँ पीडाको खाटा । आत्महत्या गर्नेले कुनै न कुनै समाजलाई प्रश्न छोडेर जान्छ, समाजको लागि उसको मृत्यु हुनुमा कौतुहलता र कारण छोडेर मृत्यु रोजेको हुन्छ, जसको उत्तर सहज छैन । आत्महत्या भनेको जानीबुझी आफैँले आफ्नो ज्यान लिनु हो, जुन मानसिक, व्यावहारिक, सामाजिक परिवेश तथा पारिवारिक समस्याले उत्पन्न हुन पुग्छ । यस्तो हुुनु गम्भीर समस्या हो । आत्महत्या गर्नुमा खासगरी निको नहुने रोग लाग्नु, मानसिक समस्याहरू देखिनु ऋण लाग्नु, बेरोजगार हुनु, लोग्नेस्वास्नीबीच सम्बन्ध विच्छेद हुनु, अनावश्यक समुदाय र समाजमा सामाजिक लाञ्छना लाग्नु आत्महत्याका कारण बन्ने गरेका छन् । बाँच्नुको अर्थ नदेखेर कुनै मानिसले आफूले आफैँले आफैँलाई हत्या गरि समाप्त गर्ने कार्य आत्महत्या हो । मानिसले आफूले आफूलाई आफ्नै हातबाट जीवनको अन्त्य गर्नु, जुनसुकै तरिका र विधिबाट कोही कसैको संलग्नता, सहायताबिना प्राण जाने काम गर्नुलाई आत्महत्या भन्दै आएको पाइन्छ ।
मानिस जीवन र जगतप्रति दिक्क भएर खिन्न बनेपछि, कुनै पनि परिस्थितिसँग जुध्न तथा सामना गर्न नसकेपछि आफूलाई समाजबाट सँधैसँधैको लागि टाढा रहन खोज्दछ । समाजशास्त्रीले कुनै व्यक्तिले आत्महत्या गर्नुको कारण समाज रहेको भन्दै आएका छन् । प्रशिद्व समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्याको सिद्धान्त प्रतिपादन गरेका छन् । दुर्खिमको आत्महत्याको सिद्धान्तले आत्महत्या केवल व्यक्तिगत कुरा नभई सामाजिक कारणले हुने घटना हो भनी व्याख्या गरेको पाइन्छ । समाजनै कारक हुने तर्क अगाडि बढाएको पाइन्छ । अर्थात् समाजले व्यक्तिलाई गरेको जुनसुकै कारणले सहन नसकेर व्यक्तिले मृत्युलाई अंगालेको हुन्छ भन्ने तर्क रहेको छ । उनले व्यक्ति आफ्नो कारणले आत्महत्या गर्दैन भन्ने सिद्धान्त प्रतिपादन गरेका छन् । नागरिक, २२ भाद्र २०७६ मा प्रेमनारायण भुसाल लेख्दछन्– कुनै पनि विषयमा देखापरेको असामञ्जस्य यिनका लागि अत्यन्त पीडादायी बन्छ । यसैले सोही निहुँमा आत्महत्यासमेत गर्न पछि पर्दैनन् ।
आत्महत्याको अर्थ र परिभाषाः
आत्महत्याको अर्थ खोज्नु अगाडि आत्म भनेको के हो त्यो बुझ्न जरुरी छ । खसिया आखर, खश भाषा–शब्दकोषको पृष्ठ ४६ मा आत्माको अर्थ यसरी लगाइएको छ– ना। ९सं० शरीर रहँदासम्म त्यसलाई जीवन्त राख्ने, क्रियाशील बनाउने र शरीरमा प्राण नरहेपछि त्यसलाई मुर्दाका रूपमा छाडेर अर्को स्थान खोज्दै जाने अनश्वर, अतीन्द्रिय।।।। सत्–चित् आनन्दको रसानुभूति । यसै शब्दकोषको पृष्ठ ४५ मा आत्मघात शब्द उल्लेख गर्दै यसको अर्थ आत्महत्या, घाती ९वि०– आफूलाई आफैँ मार्ने भनिएको छ । पृष्ठ ४६ मा आत्महत्याको अर्थ र परिभाषा यसरी लगाइएको छ– ना।९सं० आफ्नो ज्यान आफैँले लिने, आफ्नो हत्या आफैँले गर्ने काम, आपूहत्ते, आत्मघात भनी परिभाषित गरिएको छ । प्रज्ञा बृहद् शब्दकोषमा आफूले आफैँलाई मार्ने काम, जानीजानी आफैँले आफ्नो हत्या गर्ने काम, आत्मघात भनिएको छ । सो बृहद् शब्दकोषमा आत्महत्याको अधिकारको पनि अर्थ लगाईएको छ– ना। अतिवृद्ध भएमा अशक्त भएमा, आफ्नो काम आफैँ गर्न नसक्ने भएमा, ज्यादै रोगी भएमा आफैँ मर्न पाउनुपर्छ भन्ने अधिकार आत्महत्याको अधिकार भनी अर्थ लगाइएको छ । नेपाल प्रहरीको तथ्यांकले विगतमा भन्दा आत्महत्या निकै बढेको देखाउँछ । यसतर्फ सरकारी निकाय र नेपाली समाज समयमै गम्भीर र चिन्तनशील हुन जरुरी देखिन्छ । आगामी दिनमा आत्महत्याको बाटो रोज्न दिनबाट रोक्न हरेक सचेत नागरिक लाग्नु पर्ने बेला आएको छ । आत्महत्याको बाटो रोज्ने प्रायः पुरुष देखिन्छन् । त्यसपछि महिला र तेस्रो स्थानमा बालिकाहरू रहेको पाइन्छ । विश्व मानचित्रमा आत्महत्या बढी गर्ने देशमा भारत पनि पर्दछ । तथ्यांकअनुसार आत्महत्या गर्ने बढी मुलुकमा दक्षिण तथा पूर्वी एसिया क्षेत्र मानिन्छ । आखिर किन आत्महत्यालाई रोज्न पुग्दछन् त मानिस रु अध्ययन गर्दै जाँदा विभिन्न कारणहरू प्रमुख रहेका देखिन्छन् ।
कानुनी व्यवस्था–आत्महत्या दुरुत्साहन
मुलुकी अपराधसंहिता, २०७४ ले आत्महत्यालाई अधिकारको रूपमा स्वीकार गरेको देखिँदैन । आत्महत्या दुरुत्साहन भन्नाले कसैले कसैलाई आत्महत्या गर्नेसम्मको काम गर्न उद्दत गर्न नहुने, आत्महत्या गर्न पुग्ने अवस्थासम्मको परिस्थिति खडा गर्न या गराउन नहुने, या आत्महत्या गर्ने गराउने अवस्थाको सिर्जना गर्न नहुने भन्ने अर्थमा बुझ्न सकिन्छ । मुलुकी अपराधसंहिता, २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने भन्ने व्यवस्था गर्दै यस दफामा भनिएको छ– कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भनिएको छ । यो कानुनी व्यवस्थाले आत्महत्या गरेर मर्ने व्यक्ति आफू आफ्ना कारणले नमरी समाज वा समाजको कुनै व्यक्ति वा व्यक्तिहरूको समूहको कारणले आत्महत्या गरेको हुनसक्छ भन्ने कानुनी मूल्यमान्यता राखी यदि कसैका कारणले कसैले आत्महत्या गरेको भए ऊ मानिस दण्डित हुनुपर्छ भन्ने मान्यताले यो संहितामा यस्तो कानुनी व्यवस्था रहेको पाइन्छ । यदि कसैले पनि आत्महत्या गर्न दुरुत्साहन ग¥यो भन्ने जाहेरी दरखास्त नपरेको अवस्थामा कसैउपर मुद्दा चलाइँदैन । यदि कसैले फलानाका कारणले मरेको हो भन्ने उजुरी परेमा कानुनमा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था रहेको छ । यदि कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन्छ वा त्यस्तो आत्महत्या गराउनेसम्मको परिस्थिति कसैले खडा गर्छ वा गराउँछ भने त्यस्तो व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ भन्ने कानुनी व्यवस्था गरिएको छ ।
आत्महत्या गर्ने मानिसका अगाडि कुनै न कुनै किसिमको समस्या हुन्छ, त्यो समस्यालाई मृत्यु रोज्ने मानिसले ठूलो समस्या देखिरहेको हुन्छ । त्यस्ता समस्यासँग जुध्न नसक्ने मानिसले समाधानका बाटा देख्दैन । जब कुनै व्यक्तिले समस्या समाधानका बाटा देख्दैन भने आफ्नो जीवन आफैँबाट समाप्त पार्न अगाडि बढ्दछन् र आत्महत्याका बाटो रोज्दछन् । मृत्युका विविध कारणमध्ये कृत्रिम कारण हो– आत्महत्या ।
आत्महत्याको बाटो कसैले पनि रहड र लहडमा रोज्दैन । नेपालमा मृत्युको प्रमुख कारणमध्ये आत्महत्या देखिएको छ । सरकारी तथ्यांक हेर्दा आत्महत्याको भयावह तथ्यांक छ । यति सानो देश नेपालमा दैनिक ७ देखि १० जनाले आत्महत्याको बाटो रोज्ने गरेको विभिन्न तथ्यांकबाट देखिन्छ । आखिर यस्तो डरलाग्दो तथ्यांकप्रति किन चिन्तित बन्न सकेको छैन समाज रु किन गम्भीरतापूर्वक लिन सकेको छैन रु सोच्न जरुरी छ सम्बन्धित सरोकारवाला निकायहरूले ।
सरकारी तथ्यांक
नेपाल प्रहरीको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–२०८० मा मुलुकभरी ६०९० जनाले आत्महत्या गरेको देखिन्छ । यस तथ्यांकलाई दैनिक रूपमा हुने घटनाको रूपमा लिने हो भने १६–१७ जनाभन्दा बढी सिकार भएको देखिन्छ ।
आत्महत्याको मूल कारण
बालविवाह, गरिबी, सन्तानबीच गरिने विभेद, शिक्षाको कमी, घरेलु हिंसा, महिला हिंसा, बलात्कार, बलात्कारबाट रहेको गर्भ, अवैध गर्भ रहेका कारण समाजमा अनुहार देखाउन लोकलज्जा मानेर, प्रेममा फसेर धोका पाएपछि पनि आत्माहत्या गर्ने गरेको पाइन्छ । घरमा छोराछोरी भएर पनि उचित रेखदेख र मायाप्रेम नपाएको कारणले पनि आत्महत्या गरेको पाइन्छ । घरपरिवारले स्कुले छोराछोरीलाई अनावश्यक पढाइमा दबाब दिएपछि पनि गलत बाटो रोज्न पुग्दछन् । आवश्यकताभन्दा बढी ऋण गरेर ऋणको भार बोक्नु पर्दा आत्महत्या गर्ने गरेको पाइन्छ ।
बिनासित्तिको उक्साहट, बिनासित्तिको उत्तेजना, लोग्नेस्वास्नीले एकअर्कालाई विश्वास गर्नु भन्दा आशंकाले हेर्नु, सामाजिक सञ्जालको दुरुपयोग गर्नाले पनि मानिसले आत्महत्या गर्न पुग्दछ । बेरोजगारी बस्नु पर्दा पनि आत्महत्याको बाटोलाई रोज्ने गरेको पाइन्छ । यसैगरी मानिसले आफ्नो लक्ष्य र गन्तव्यमा पुग्न नसकेपछि आत्मसन्तुष्टि प्राप्त भएको महसुस नभएमा पनि व्यक्ति आत्महत्यलाई रोज्ने गरेको पाइन्छ । विशेषगरी विष सेवन गरेर, डोरी, कपडाको पासोमा झुन्डिएर, पुलबाट नदी पोखरीमा हाम फालेर पनि आत्महत्या गरेको पाइन्छ । यसैगरी सम्मान गर्नुपर्ने निकाय या अधिकारीले सम्मानित नगर्दा पनि आत्महत्या गरेको पाइन्छ ।
आत्महत्या गर्ने मानिसका संकेतहरू
आत्महत्या गर्न मन लागेको कुरा बारम्बार गरिरहनु, जीवनलाई अवसरको रूपमा बुझ्न नसकी समस्याको रूपमा बुझ्नु र समाधानको उपाय नदेख्नु । जीवनलाई महत्व नदिएर व्यर्थ ठान्नु, जीवन र जगतलाई महत्व नदिएर बारम्बार निरासावादी कुरा गर्नु । साथीभाइसँग घुलमिल हुन नसक्नु । परिवारबाट टाढा बस्नु । अत्यधिक जोखिमयुक्त कामहरू गरिरहनु, समाजसँग जुध्न र हेलमेल गर्न नसक्नु आदि आत्महत्या गर्नुका संकेतहरू हुन् । डोरी, नाम्लो, बीषजस्ता सजिलै आत्महत्या गर्न मिल्ने सामानहरू खरिद गर्नु । पहिलेको भन्दा अरुसँग बोलचाल, खानेपिउने, बसउठ गर्ने बानी तथा सुत्नेउठ्ने बानीमा परिवर्तन गरिरहनुलाई पनि संकेतको रूपमा बुझ्न सकिन्छ ।
आत्महत्याबाट पर्ने असरः
बुवाआमाले अत्यन्तै मेहिनतसाथ हुर्काइ बढाइ गरेर माया ममता पाइएला, बुढेसकालको सहारा बन्ने बेलमा पीडाबोध गरेर बाँच्नु पर्ने । परिश्रमको फल चाख्नु पर्ने बेलामा दुःख गरेर बाँच्नु पर्ने, केटाकेटी बालबच्चा टुहुरा हुने, महिला बितेमा पुरुषले एक्लो महसुस गर्ने, कहिलेकाहीँ दोस्रो विवाह गर्नु पर्दा केटाकेटीले सौतेनी व्यवहार भोग्नुपर्ने, श्रीमान् बितेमा सबै जिम्मेवारी महिलाको काँधमा आउने । समाजबाट विधुवाको रूपमा व्यवहार गरिने । आमाबुवाले सन्तान गुमाएमा पीडा बोध हुने आदि ।
आत्महत्या रोक्ने उपायः
नागरिक, २२ भाद्र २०७६ मा प्रेमनारायण भुसाल विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनलाई उद्धृत गर्दै आत्महत्यालाई निम्न उपायहरूद्वारा रोक्न सकिन्छ भनेर लेख्छन्– आत्महत्या गर्न सकिने सामानमा विशेष ध्यान पु¥याउने । सामाजिक रूपमा आत्मविश्वासको जगेर्ना गर्ने । आत्महत्या गलत हो भनेर प्रचारप्रसार गर्ने, जनचेतना प्रवाह गर्ने, एकअर्काका समस्या सुन्ने सुनाउने आदि । सामाजिक सञ्जालमा भेटिएको एक तथ्यांकअनुसार– आत्महत्या रोकथाममा काम गर्दै आएको संस्था टिपिओ नेपालका चिकित्सा मनोविज्ञ भरत गौतमको धारणा यस्तो छ– पाटन अस्पतालका डा। वासुदेव कार्कीका अनुसार आत्महत्या बढ्नुका कारण धेरै छन् । त्यसबारे अध्ययन पनि भएका छन् तर जनचेतनाको भने कमी छ । विशेषगरी मानिसले देखाउने केही पूर्वसंकेत– जसमा आत्महत्याका विचार समावेश हुने उनको धारणा छ । त्यस्तो अवस्था आएमा साइकोथेरापी, औषधि वा अन्य सेवा लिन सकिनेस जसले गर्दा आत्महत्या हुन सक्ने जोखिम न्यूनीकरण हुन सक्ने उनको बुझाइ छ । ‘अहिले आत्महत्याका पछाडि मनोसामाजिक कारण वा मानसिक समस्या जोडिएका हुन्छन्,’ उनले भने, ‘सिभियर डिप्रेसन ९डिप्रेसनको गम्भीर अवस्था० भएको व्यक्तिले आफूलाई अन्त्य गर्न सक्ने जोखिम बढी हुन्छ ।’ उनका अनुसार यसबाहेक आर्थिक समस्या, सम्बन्धमा आएको खराबी, जीवनका कतिपय घटनामा असफलता, उद्देश्य नहुनु, एक्लोपना आदिले तत्कालीन रूपमा निम्त्याएको परिणामले पनि आत्महत्या हुने गरेका छन् । आत्महत्या हुनुपूर्व मानिसको अवस्था र उसले देखाएको व्यवहारबारे केही जानकारी भएमा त्यो जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । जसमा परिवारले आफ्नो सदस्यको अवस्था हेरेर आवश्यक सेवा लिनका लागि सम्बन्धित निकाय ९मनोवेत्ता वा अस्पताल०मा लैजान सक्नुपर्छ । त्यस्तै वरिपरिका साथीहरूले यसमा ध्यान दिएर सुरुवाती चरणमा उसका कुरा सुनिदिएर उनलाई बुझ्न कोसिस गरेमा आत्महत्याको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने मनोचिकित्सकको बुझाइ छ ।
उपंसहार
कुनै व्यक्तिले किन आफ्नो जीवनलाई आफैँले आत्मघात ग¥यो भन्ने सोचेर कारण, प्रभाव र समाजमा पर्ने असरलाई बुझेर समाधान गर्नतर्फ कारण खोज्नु पर्दछ । हरेक समाजमा यसको असर देखिँदै जाने र समाजमा भयावह अवस्था आउन पुग्दछ । यस समस्यालाई रोक्न समाजका हरेक पक्षले गम्भीर रूपमा सोच्न ढिला भएको छ । यसलाई एउटाको समस्याको रूपमा नलिइ समाजकै समस्याको रूपमा लिइ समाधानको उपाय खोज्न ढिला गर्न हुँदैन ।









प्रतिक्रिया दिनुहोस्