ब्रिजको पाँचौँ फाउन्डर कप सम्पन्न



दीपेन्द्र खड्का । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–५ स्थित ब्रिज इन्टरनेशनल स्कुलको पाँचौँ फाउन्डर कप तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार विद्यालयको एक औपचारिक कार्यक्रमकाबीच पाँचौँ फाउन्डर कप तथा अभिभावक दिवस सम्पन्न भएको हो । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

उनले विद्यालयले शैक्षिक गुणस्तर सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको भन्दै खुसी व्यक्त गरिन् । उनले कोहलपुरलाई शैक्षिक हब बनाउने एक मात्रै एजेन्डा नगरपालिकाको रहेकाले त्यसलाई सफल पार्न निजी विद्यालयहरूको पनि ठूलो भूमिका रहेको भन्दै उनले कोहलपुर अहिले शैक्षिक हबका रूपमा विकसित हुँदै गएको उल्लेख गरिन् ।

विगतमा जस्तो आगामी दिनहरूमा कोहलपुरका बालबालिकाहरूले गुणस्तरीय शिक्षाको खोजिमा राजधानी जानुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ थियो । उनले अब गुणस्तरीय शिक्षा कोहलपुरमै प्राप्त गर्न सकिने बताइन् । नगरपालिकाले पनि शैक्षिक क्षेत्रलाई प्रथामिकता दिनुका साथै सबैभन्दा धेरै बजेटसमेत विनियोजन गरेको उनको भनाइ थियो ।

भौतिक पूर्वधारको विकासदेखि शिक्षक व्यवस्थापन नगरपालिकाले गरेको बताइन् । ब्रिज इन्टरनेशनल स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण अभिभावकहरूको मन र विश्वास जित्न सफल भएको भन्दै उनले विद्यालयले प्रदान गरेको गुणस्तर शिक्षा र अतिरिक्त क्रियाकलापले नतिजा पनि देखिन थालेको बताइन् ।

विद्यार्थीहरूको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्न र व्यक्तित्व विकासका लागि फाउन्डर कप सञ्चालन गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । उनले विगतका चार वर्षदेखि विद्यालयले भव्य रूपमा मनाउँदै आएको जानकारी दिए । चार दिन अघिदेखि सञ्चालन भएको कपको मर्यादित र शान्तपूर्ण रूपमा सम्पन्न भएको उनले बताए । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको भन्दै उनले फाउन्डर कप ब्रिज स्कुलको पहिचान स्थापित गर्ने प्रतियोगिता रहेको बताए ।

यस वर्षको फाउन्डर कपको उपाधि सगरमाथा हाउसले जितेको शिक्षक चन्द्रप्रसाद पंगालीले जानकारी दिए । उनका अनुसार अतिरिक्त तथा अन्य क्रियाकलापमा २३३ अंकका साथ सगरमाथा हाउसले उपाधि उचालेको हो । उनले मार्चपासमा अन्नपूर्ण हाउसले १२४ अंक प्राप्त गरेर विजेता भएको बताए ।

उक्त अवसरमा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्काउने नृत्य, जनचेतनामूलक सडक नाटक तथा विज्ञान प्रदर्शनीसमेत गरेका थिए । विद्यार्थीहरूले गरेका अतिरिक्त क्रियाकलापले अभिभावकहरूको ध्यान खिच्न सफल भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार