भ्रष्टाचारविरुद्ध शून्य सहनशिलतासहितको सुधान्शुको प्रतिबद्धता



नेपालगन्ज ।

नेपाली काँग्रेसले बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुधान्शु कोइरालाले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको प्रतिबद्धतासहितको संकल्पपत्र सार्वजनिक गरेका छन् । कोइरालले नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरेको संकल्पपत्रमा कानुन–न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, यूवा खेलकुदको उत्थान र धर्म–संस्कृति जगेर्नाजस्ता विषयहरू समावेश छन् ।

उम्मेदवार कोइरालाको संकल्पपत्रमा लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव अग्रसर रहने प्रतिवद्धता गरिएको छ । कोइरालाले सुशासनका लागि सरकार वा संस्थाको काम पारदर्शी बनाउन, सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न, असललाई पुरस्कृत र खराबलाई दण्ड दिने नीति अवलम्बन गर्न भूमिका निर्वाह गर्ने दाबी गरेका छन् ।

नेपालगन्जमा वृहत चक्रपथ (रिङरोड) परियोजनालाई मूर्तरुप दिन पहल गर्ने, नेपालगन्ज र डुडुवा क्षेत्रका भौतिक पुर्वाधार (सडक, ढल, नाला) निर्माणका लागि विशेष प्राथमिकता दिने, ग्रामिण क्षेत्रमा रहेका फुसको छानालाई विस्थापित गरी कर्कट पाता लगायतको वैकल्पिक छानो व्यवस्थाका लागि पहल गर्ने लगायतका योजना उनले संकल्प पत्रमा समेटेका छन् ।

यसैगरी नेपालगन्ज आइसीपीको प्रभावकारी सञ्चालन गरिने, खुला सिमानाका कारण हुने चोरी, भन्सार मूल्यांकनलाई पुनरावलोकनका लागि पहल गर्ने, नयाँ उद्योग स्थापनाको लागि करमैत्री नीति लागू गर्न अग्रसर रहने, स्थानीय उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन र बजारीकरण गर्न आवश्यक पहल गर्ने लगायत संकल्प गरिएको छ ।

यसैगरी नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपान्तरण गर्न अग्रसरता लिइने, नेपालगन्ज–दिल्लीलगायत भारतीय सहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने पनि उनको संकल्प छ । बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, गौशाला हनुमान मन्दिर (१०८ फिट), राप्ती (सिधनियाघाट), राप्ती गंगा महाआरती, बेतहनी पाँझस्थित शिवधामलगायत क्षेत्रलाई धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पहल गर्ने उनले बताएका छन् ।

यस्तै संविधानमा आवश्यक संशोधनका लागि पहल गर्ने, शिक्षामा डिजिटलाइजेशन, भेरी अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नतिका लागि पहल गर्ने, साथै पुरानो ओपिडी ब्लकलाई भत्काएर अत्याधुनिक ब्लक निर्माणका लागि द्रुत गतिमा प्रक्रिया अगाडि बढाउन पहल गर्ने, युवा नीति कार्यान्वयनमा जोड दिइने, खेलकुदको समग्र विकासका लागि क्रिकेट, फुटबल लगायतका खेल मैदान निर्माण गर्न आवश्यक पहल गर्ने संकल्प पनि गरिएको छ । सद्भाव कायम गर्न, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्ने पनि उनले सार्वजनिक गरेको एजेण्डा छ ।

उम्मेदवार यादवले गरे सुधान्शुलाई समर्थन 

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय एकता दलको तर्फबाट उम्मेदवारी दिएका सिताराम यादवले नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु कोइरालालाई समर्थन गर्ने घोषणा गरेका छन् । चुनाव चिन्ह ‘तुलसीको बोट’ पाएका यादवले चुनावको पूर्वसन्ध्यामा काँग्रेसका कोइराला नै योग्य र सबैको भावनालाई समेट्न सक्ने उम्मेदवार भएकाले जित नजिक रहेको ठहर गर्दै समर्थन गरेको प्रेस विज्ञप्तिमार्फत बताएका छन् ।

मतदाताको भावना, प्रतिक्रिया र सुझावका आधारमा आफूले कोइरालालाई पूर्ण समर्थन गर्ने निर्णयमा पुगेको यादवको भनाइ छ । देशको लोकतान्त्रिक प्रक्रिया, स्थिरता, विकास र सुशासनलाई मजबुत बनाउन तथा यस क्षेत्रको समग्र हित र जनताको अपेक्षालाई पूरा गर्न कोइरालालाई आफ्नो समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ ।

युवा उम्मेदवार कोइराला योग्य, निष्कलंक, विकासप्रेमी तथा क्षेत्रको समृद्धिका लागि प्रतिबद्ध रहेको समेत नेता यादवको दाबी छ । आफ्नो निर्णयले यो क्षेत्रको सदभाव, एकता र जनहितमा मद्दत पु¥याउने यादवको विश्वास छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार