राष्ट्रिय भेलामा साढे तीन हजार बढी कार्यकर्ता उतार्दै एमाले



सुर्खेत ।

नेकपा (एमाले)ले आगामी स्थानीय निर्वाचनको तयारीलाई गति दिने उद्देश्यसहित राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । भेलाले पार्टीको संगठनात्मक संरचनालाई थप चलायमान बनाउने तथा नेतृत्व र कार्यकर्ताबीच साझा राजनीतिक धारणा निर्माण गर्ने अपेक्षा छ । मंसिर २ र ३ गते काठमाडौँको कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि समेत कूल ३ हजार ४१४ जना नेता, कार्यकर्ता तथा विभिन्न तहका प्रतिनिधि सहभागी हुने भएका छन् ।

पार्टीको यो भेला सामान्य संगठनात्मक जमघटमा मात्र सीमित नरहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रीय नेतृत्वदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एउटै मञ्चमा उपस्थित गराएर पार्टीको राजनीतिक दिशा, संगठनको अवस्था र आगामी चुनावी रणनीतिबारे साझा समझदारी निर्माण गर्ने तयारी छ ।

एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्तुत गरेको विवरणअनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, पालिका, जनसंगठन तथा निर्वाचित जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ । यसले पार्टीको सांगठनिक अवस्थाको समीक्षा र तल्लो तहसम्मको राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने उनले बताए ।

प्रतिनिधिहरूको यो संरचनाले एमालेले राष्ट्रिय भेलालाई केन्द्रीय नेतृत्वको कार्यक्रमभन्दा व्यापक संगठनात्मक संवादको थलो बनाउन खोजेको संगठन विभाग प्रमुख ढकालले बताए । विशेषगरी पालिका कमिटीका प्रतिनिधिको ठूलो सहभागिताले पार्टीले स्थानीय तहको संगठन र राजनीतिक प्रभावलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

एउटै राजनीतिक सन्देश दिने रणनीति

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीका शीर्ष नेताहरू एउटै मञ्चबाट प्रस्तुत हुने भएकाले भेलालाई नेतृत्वको राजनीतिक सन्देश प्रवाह गर्ने अवसरका रूपमा पनि हेरिएको छ । पार्टीभित्रको संगठनात्मक एकता, नेतृत्वको कार्यदिशा, समसामयिक राजनीतिक परिस्थिति र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे नेतृत्वले धारणा राख्ने तयारी छ ।

एमालेले पछिल्लो राजनीतिक परिवेशमा आफ्नो संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने चुनौती सामना गरिरहेको छ । यस्तो अवस्थामा यति ठूलो सङ्ख्यामा प्रतिनिधि सहभागी गराएर गरिने भेलाको राजनीतिक महत्व पनि उत्तिकै रहने एमालेको दाबी छ । एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी स्थानीय निर्वाचनको तयारी प्रभावकारी रूपमा अघि बढाउने अवसरका रूपमा पनि लिएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पालिका कमिटी र जिल्ला तहका प्रतिनिधिलाई एकै प्रक्रियामा जोड्नुको उद्देश्य संगठन र जनप्रतिनिधिबीच समन्वय बलियो बनाउनु पनि हो ।

लगातार तीन दिन संगठनात्मक गतिविधि

एमालेले राष्ट्रिय भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।कार्यक्रमअनुसार मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला हुनेछ । उक्त कार्यक्रममा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।

त्यसको भोलिपल्ट अर्थात् मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ । राष्ट्रिय कार्यकर्ता भेला, स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठकलाई लगातार आयोजना गर्नुले एमालेले संगठन, जनप्रतिनिधि र केन्द्रीय नेतृत्वबीच समन्वयको प्रक्रिया अघि बढाउन खाजिएको छ । यी तीनवटै कार्यक्रमबाट प्राप्त हुने सुझाव, छलफल र निर्णयले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा निर्धारणमा भूमिका खेल्ने अपेक्षा छ ।

ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ता सहभागी हुने भएकाले एमालेले यातायात व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । पार्टीले सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थलमा उपस्थित हुन सहभागीहरूलाई आग्रह गरेको छ । यसले कार्यक्रमको व्यवस्थापन सहज बनाउनुका साथै काठमाडौँको सवारी चापलाई कम गर्ने उद्देश्य राखेको पार्टीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर २ गते मंगलबार