काठमाडौँ ।
डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक जित्दै इतिहास रचेकी नेपाली कराते स्टार एरिका गुरुङले डब्लुकेएफ वरियतामा पनि फड्को मारेकी छिन् । उनले डब्लुकेएफ वरियताको महिला ६८ केजीमाथि तौल समूहमा फड्को मार्दै १३औँ स्थानमा पुग्न सफल भएकी छिन् । नेपाली करातेमा यो अर्को ऐतिहासिक उपलब्धी हो ।
डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक जितेपछि एरिकाको प्रिमियर लिगमा भने दोस्रो वरियतामा रहेकी छिन् । वल्र्ड च्याम्पियनसिप, कराते वान प्रिमियर लिग विश्व स्तरीय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी एरिकाले वरियतामा पनि फड्को मारेकी हुन्।
उनले पछिल्लो दुई वर्ष नियमित अन्तर्राष्ट्रिय कराते प्रतियोगिता प्रतिस्पर्धा गर्दै आएकी छिन् ।
त्यसमा केहीलाई छाडेर सबै जसोमा एरिकाले पदक जितेकी छिन् । कराते वान प्रिमियर लिग जस्तो विश्वकै प्रतिष्ठित प्रतियोगितामा लगातार दोस्रो वर्ष मेडल जितेपछि एरिकाको चर्चा अन्तर्राष्ट्रिय स्तरमै फेरि बढेको छ । यसअघि सन् २०२५ मा मोरक्कोको रावतमा पहिलो पटक कराते वान प्रिमियर लिग खेल्दा कांस्य पदक जितेकी एरिकाले यस पटक टर्किएको इस्तानबुलमा भएको कराते वान प्रिमियर लिगमा अझ सुधार गर्दै रजत जितेकी हुन् ।
उनली फाइनलमा कजाखस्तानकी सोफियासँग ४–२ ले पराजित हुँदा स्वर्ण जित्ने लक्ष्य भने पूरा हुन सकेन । यद्यपी एरिकाले विश्व स्तरको करातेमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपाली कराते र नेपाली खेलकुदमा उपलब्धी थप्दै आएकी हुन् । यसअघि कराते वान प्रिमियर विगमा कांस्य जितेपछि एरिका २७औँ स्थानमा उक्लेकी थिइन् । त्यसपछि उनको वरियता तलमाथि हुँदै आएको थियो ।
तर अहिले प्रिमियर लिगमा रजते जितेपछि उनी वरियतामा पनि अघि बढ्दैछिन् । एरिकाले अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा विश्वकै शीर्ष वरियताका खेलाडीहरूसँग लगातार खेल्दै आएकी छिन् भने शीर्ष वरियताका खेलाडीहरूलाई समेत पराजित गरिसकेकी छिन् । कात्तिकमा इजिप्टको कायरोमा भएको डब्लुकेएफ वल्र्ड च्याम्पियनसिपमा एरिकाले मिश्रित प्रदर्शन गरेकी थिइन् ।
तीन फाइट जितेपनि निर्णायक फाइटमा पराजित हुँदा एरिकाले वल्र्ड च्याम्पियनसिपमा भने पदक जित्न सकिनन् । त्यसअघि असोजमा मलेसियामा भएको कराते वान सिरिज ए मा भने एरिकाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औँ एसियन गेम्समा ६८ केजी तौल समूहमाथि रजत पदक जितेपछि नेपाली करातेमा एरिकाको चर्चा हुन थालेको थियो ।
त्यसअघि नै उनले विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । तर हान्झाउको रजतपछि उनको असली चर्चा सुरु भएको थियो । यस्तै हान्झाउमै भएको एसियन कराते च्याम्पियनसिपमा पनि उनले रजत पदक जितेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्