‘विकास र समृद्धिका लागि सिंहदरबारमा बाघजस्तै गर्जिने छु’



नेपाल देश बचाउन, राष्ट्रियता बचाउन हामीलाई भोट दिनुपर्छ । नेपाललाई समृद्धि र दिगो विकास हाम्रो प्राथमिकतामा छ ।त्यसकारण हामीलाई भोट दिनुपर्छ । अहिले राष्ट्र, राष्ट्रियता र स्वधीनता जोखिममा छ । त्यसकारण हामीलाई भोट दिनुपर्छ । हाम्रो पार्टीको नेतृत्वको देशको लागि चाहिने राजनीतिक नेतृत्व हो । हामी विकास र निकास चाहन्छौँ । त्यसकारण जनताले हामीलाई भोट दिनुपर्छ ।

नरेन्द्र पाण्डे जेम्स, बाँके निर्वाचन क्षेत्र नम्बर १ नेकपाका उम्मेदवार

आसन्न निर्वाचनमा तपाईँको उम्मेदवारी किन ?

देश निर्वाचनमा अघि बढेको छ । निर्वाचनमा नेकपाले मलाई बाँके क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ । देशमा शान्ति, समृद्धि, दिगो विकास र स्थायी सरकार निर्माणको लागि मेरो उम्मेदवारी हो । संविधानका अप्ठ्याराहरू सुल्झाएर संविधान संशोधन, भ्रष्टाचारमुक्त देशका लागि मेरो उम्मेदवारी हो ।

जेनजी आन्दोलनका कारण छिटो निर्वाचन गर्नुपर्ने अवस्था आयो, तपाईँलाई के लाग्छ, यो आन्दोलन आवश्यक थियो ?

२०५२ फागुन १ गते नेपालमा जनस्तरबाट महान जनयुद्ध सुरुवात भएको थियो । त्यो जनयुद्ध नेपाली जनताले मुक्तिको लागि बन्दुक उठाएको दिन हो । जनयुद्धले तीसौँ वर्ष पार गरेको छ । अहिले जुन व्यवस्थामा छौँ, त्यो जनयुद्धको उपज हो । देशमा व्याप्त गरिबी थियो, भ्रष्टाचार थियो । असमानता, विभेद थियो । त्यसका विरुद्ध हामी जनयुद्धमा होमिएका थियौँ ।

गाउँमा अन्याय र देशमा असमानता रहेका कारण म आफैँ १६ वर्षको उमेरमा भूमिगत भएको थिएँ । जनयुद्धले व्यवस्था परिवर्तन गर्न भूमिका खेल्यो । देशको अवस्था बदल्न जेनजी आन्दोलन भएको हो । राज्यले सुशासन दिन नसकेपछि जेनजीले शान्त विद्रोह गरे । सरकारले डेलिभरी दिन नसक्दाको अवस्था हो । राज्यले सामाजिक सञ्जाल बन्द गरेको थियो । त्यसै कारण पनि जेनजी आन्दोलन भएको हो । तर सरकारले युवाको आन्दोलनलाई दमन ग¥यो ।

बाँके १ का मतदाताहरूले तपाईँलाई भोट किन दिने ?

नेपाल देश बचाउन, राष्ट्रियता बचाउन हामीलाई भोट दिनुपर्छ । नेपाललाई समृद्धि र दिगो विकास हाम्रो प्राथमिकतामा छ । त्यसकारण हामीलाई भोट दिनुपर्छ । अहिले राष्ट्र, राष्ट्रियता र स्वधीनता जोखिममा छ । त्यसकारण हामीलाई भोट दिनुपर्छ । हाम्रो पार्टीको नेतृत्वको देशको लागि चाहिने राजनीतिक नेतृत्व हो । हामी विकास र निकास चाहन्छौँ । त्यसकारण जनताले हामीलाई भोट दिनुपर्छ ।

अहिले घरदैलोमा हुनुहुन्छ, के भन्छन् त मतदाताहरू ?

म बाँके क्षेत्र नम्बर १ का ३० वटा वडामा पुगिसकेको छु । घरघरसम्म पुगेको छ । वृद्धवृद्धादेखि जेनजीसम्मलाई भेटेँ । उहाँहरूले हामीलाई माया र न्यानो स्वागत गर्नु भएको छ । उहाँहरूलाई देश बनाउने पार्टी नेकपा हो भन्ने लागेको छ । उहाँहरू अहिलेको अवस्थामा जुन परिवर्तन भएको छ । त्यो नेकपाले गरेको भन्नुहुन्छ । उहाँहरू त तारामा भोट हाल्न आतुर देखिनु भएको छ । किनभने हामीले जनताको लागि ज्यान बलिदान दिएका छौँ । केही बिगारेका छैनौँ । उहाँहरूको अधिकारका लागि हिजो पनि लड्यौँ । आज पनि लडिरहेका छौँ । भोलि जितेर गयौँ भने झनै ज्यानै दिएर अघि बढ्नेछौँ । तारामा भोट हाल्ने निर्णय गरिसक्नु भएको छ बाँके १ का मतदाताहरूले ।

जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ, त्यसको आधार के छ ?

म ढुक्कले जित्छु । त्यसका धेरै आधार छन् । देशको व्यवस्था बदल्न हामीले बन्दुक उठायौँ । नेपालका भुइँमान्छेहरूलाई अधिकार दिन संघर्ष हामीले गरेको हो । त्यो हो हामीले चुनाव जित्ने आधार । उत्पीडित क्षेत्र र वर्गलाई समाजको मूल प्रवाहमा ल्याउन हामीले भूमिका खेलेको हो । महिला, जनजाति, दलित, मुस्लिमहरूको पक्षमा सबैभन्दा बढी वकालत गर्ने पार्टी नेकपा हो । हामीले देशको लागि पसिना मात्रै होइन रगत बगाएका छौँ । दलितमाथिको विभेद अन्त्य गर्ने पार्टी नेकपा हो । महिलामाथि जुन किसिमको ज्यादती हुन्थ्यो । अहिले संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । समावेशिताका लागि हामी लडेको हो । अझ हामीले सरकारमा गएपछि जनपक्षीय काम गरेको आधार हो । २०६४ पछि जसरी विकास भएको छ । त्यसको नेतृत्व हामीले गरेको हो ।

बाँके १ को विकास र समृद्धिका लागि के के छन् प्रतिबद्धता ?

मेरो निर्वाचन क्षेत्रमा कोहलपुर नगरपालिका, राप्ती सोनारी र नरैनापुर गाउँपालिका रहेका छन् । यहाँ गर्नुपर्ने धेरै कुरा छन् । मेरा चुनावी एजेण्डाहरू धेरै छन् । जेनजी आन्दोलनको भावना र मर्मलाई आत्मसात् गर्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई अवलम्बन गर्दै संविधान संशोधन गरी जनपक्षीय कानुन निर्माण गर्न पहल गर्ने मेरो पहिलो प्राथमिकता हो । कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडेमी निर्माण गर्ने, राप्ती नदीको कटान र डुबान नियन्त्रणका लागि बनेको गुरुयोजना कार्यान्वयन गर्ने, राप्ती सोनारी, नरैनापुरको समग्र विकासका साथै कोहलपुर आधुनिक सहरको रूपमा विकास गर्ने विषय मेरो प्रतिबद्धता रहेको छ ।

कोहलपुरलाई आर्थिक केन्द्र, राप्ती सोनारीलाई कृषि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने मेरो प्रतिबद्धता रहेको छ । यस्तै कोहलपुरलाई एक विकसित आधुनिक ट्रान्जिट सहरको रूपमा विकास गर्न, राप्ती सोनारी र नरैनापुरलाई साना व्यापारिक नयाँ सहरका रूपमा विकास गर्न पहल गर्ने मेरो प्रतिबद्धता रहेको छ । चप्परगौडीलाई स्मार्ट अटो भिलेजका रूपमा विकास गर्ने, कोहलपुर चक्रपथ निर्माण कार्यलाई व्यवस्थित तवरले पूर्णता दिनेछु । मैले जितेँ भने मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न सिंहदरबारमा बाघझैँ गर्जिने छु ।

आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिसक्नु भएको छ, कस्ता छन् प्राथमिकता ?

प्रतिबद्धतापत्रमा मैले धेरै कुरा उल्लेख गरेको छु । त्यसमा शिक्षा स्वास्थ्यदेखि विपद् व्यवस्थापनसम्म मेरा प्राथमिकतामा छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी तथा सरसफाइ, स्थानीय कला संस्कृति प्रवद्र्धन, व्यापार व्यवसाय र बजार व्यवस्थापन गरिबी निवारण, सूचना तथा सञ्चार, सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, सिँचाइ, युवा तथा खेलकुद, विद्युत्, उद्योग, सडक यातायात र विपद् व्यवस्थापन रहेका छन् । कूल ६ वटा बुँदा समेटिएको शिक्षातर्फ निर्वाचन क्षेत्रका ३ विद्यालयलाई आधुनिक, प्रविधिमैत्री र आवासीय नमुना विद्यालयका रूपमा विकास गर्न पहल गर्ने, कोहलपुरलाई शैक्षिक हबको रूपमा विकास गर्ने, बागेश्वरी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा, राप्ती सोनारीको सिद्धेश्वर बहुमुखी क्याम्पस र लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसमा प्राविधिक धार सञ्चालन गर्ने प्रतिबद्धता रहेको छ ।

पालिकास्तरमा रहेका १५ शय्याबाट अस्पताललाई २५ शय्यामा स्तरोन्नति गरिनेछ । कोहलपुर, राप्ती सोनारी र नरैनापुरमा रहेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार, उद्यमशिलता विकास गरिनेछ । राप्ती सोनारी र नरैनापुरलाई विशेष उत्पादन क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको छ । जनताको घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण, सुकुम्वासीलाई लालपुर्जा वितरण, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिद परिवार, वेपत्ता र घाइतेहरूलाई विशेष राहत कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ । सिक्टा सिँचाइ आयोजना निर्माण कार्यलाई पूर्णता दिई जनताको खेतमा सिँचाइ हुने व्यवस्था मिलाइनेछ ।

अन्त्यमा सम्पूर्ण मतदाताहरूलाई के भन्न चाहन्छु ?

आसन्न फागुन २१ गतेको निर्वाचनका लागि म नेकपाबाट उम्मेदवार भएको छु । म सानै उमेरदेखि देशको परिवर्तनका लागि होमिएको एक साधारण मानिस हुँ । सर्वहारा, गरिब र दुःखीको पक्षमा वकालत गर्ने योद्धा हुँ । यस्तै म हालसम्म कुनै राजकीय पद नलिएको व्यक्ति हुँ । मैले जनताको सेवा गर्ने अवसर पाएँ भने आफूलाई प्रमाणित गरे देखाउने छु । म जनताको पक्षमा उभिएको व्यक्ति हुँ । म जितेर गएपछि पनि यहाँको सुख दुःखमा कहिल्यै टाढा रहने छैन् । यहाँको विकासका लागि इमान्दार भएर लाग्नेछु । म माननीय होइन कामदारको रूपमा खटिनेछु । ठूलो संघर्षको यात्राबाट आएको छु । तपाईँहरूले मलाई माया गरेर अमूल्य भोट गरिदिन हुनका लागि अनुरोध गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार