एउटै किसानले बिक्री गरे २० लाखको सुन्तला



म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गरेका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गरेका हुन् ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम रु दुई सयका दरले काठमाडौँबाट आएका व्यापारीले सुन्तला खरिद गरेर लगेका हुन् । म्याग्दीमा पुस महिनामा प्रतिकिलो ७० रूपैयाँका दरले सुन्तला बिक्री भएको थियो । ‘माघ लागेदेखि बढ्न सुरु भएको सुन्तलाको मूल्य फागुन २ गतेसम्म प्रतिकिलो दुई सयसम्म परेको हो,’ श्रेष्ठले भने, ‘गत वर्षको तुलनामा यसपाली उत्पादन ४० प्रतिशतले घटे पनि मूल्य राम्रो पाउँदा आम्दानीमा असर परेन ।’

उनले गत वर्ष सरदर प्रतिकिलो एक सयका दरले १५ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका थिए । श्रेष्ठको बगैँचामा रहेका ७०० मध्ये ३०० बोटमा यसपालि फल लागेको थियो । श्रेष्ठले आफ्नो बाहेक अन्य किसानको थप एक करोड ३० लाखको सुन्तला पनि बिक्रीको व्यवस्था मिलाएका छन् । दोसल्लेका ४२ घरपरिवार किसानले यस वर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री गरेका दोसल्ले सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए ।

बेनीमा पोल्टी र घरजग्गा व्यवसाय गर्दै आएका विकासले विसं २०७६ मा सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जंगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । पाखोबारीलाई घेराबार गर्ने, गरा बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिदसहित फार्ममा तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताए ।

‘कृषिबाट यति राम्रो कमाइ होला भनेर सोचेको थिइनँ, गर्न सकेमा हुँदो रहेछ भन्ने मैले महसुस र अनुभव गरेँ,’ उनले भने, ‘थप जमिन खरिद गरेर फार्म विस्तार गर्दैछु ।’ उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र बोइलर जातका कुखुरा पनि पालिएको छ । सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए ।

काठमाडौँको बल्खुका व्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए । घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्री फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ किसानका लागि उदाहरणको पात्र बनेका दोसल्लेका अगुवा किसान खगवीर पाइजाले बताए ।

‘उहाँ (विकास)ले बाँझिएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,’ पाइजाले भने, ‘गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याउनुभएको छ । उनको सिको गरेर बजार झरेका गाउँ फर्किएर सुन्तलाखेती गरेका छन् ।’ सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरू बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए ।

सुन्तलाबाट तनहुँका किसानले भित्र्याए करोडौँ रकम 

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गरेका थिए । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उनले बजारमा समस्या नरहेको सुनाए ।

त्यसैगरी, व्यास नगरपालिका–१३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरे । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु तीन लाखको सुन्तला बिक्री भएको उनले बताए । विदेशबाट फर्किएर सुन्तलाखेतीमा लागेका गिरबहादुरले यस वर्ष रु तीन लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए । यी त केही उदाहरण हुन्, तनहुँका कृषकले यस वर्ष रु ४५ करोड ५० लाखको सुन्तला बिक्री गरेका छन्। गत वर्ष यहाँका किसानले रु ४२ करोड ५० लाखको सुन्तला बिक्री गरेका थिए ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले यस वर्ष ५८२१.९ मेट्रिकटन सुन्तला बिक्री भएको जानकारी दिए । उनका अनुसार यस वर्ष ११८२१.७ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा १६७० हेक्टर सुन्तलाखेतीको क्षेत्रफल रहेकामा ९७७ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको परियारले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकास्थित डुम्रीखर्क, डाँडापानी, खोलागाउँ, झारपुङ, घिरिङ गाउँपालिकास्थित च्याचुल, उवाथोक, मेवापानी, पोखरीछाप, देवघाट गाउँपालिकास्थित नरम, छिपछिपे, लुम्रिङ, दगारा, भिमाद नगरपालिकास्थित अक्सपाङ्दी, चामबोट, कोखे, म्याग्दे गाउँपालिकास्थित बहपुर, उमाचोक, छाङ, ऋषिङ गाउँपालिकास्थित अर्चल्दी, दुवुङ, बन्दीपुर गाउँपालिकास्थित धरमपानी, कमलबारी, काफलस्वारा, झारगाउँ, बासपानी, व्यास नगरपालिकास्थित तनहुँसुर, बेनीकोट र शुक्लागण्डकी नगरपालिकास्थित नाम्सीकोट र ज्याङ्लादी सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार