नन्दराम जैशी । सुर्खेत ।
आर्थिक वर्ष २०८२–०८३ मा कर्णाली प्रदेशको कूल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ताको मूल्यमा दुई खर्ब ७७ अर्ब रूपैयाँँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय, तथ्यांक समन्वय कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको तुलनामा प्रदेशको अर्थतन्त्रमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको हो ।
कृषि, पर्यटन, जलविद्युत् तथा सेवा क्षेत्रको विस्तारसँगै कर्णालीको आर्थिक गतिविधिमा सुधार देखिएकाले जीडीपी वृद्धि हुने प्रक्षेपण गरिएको हो । विशेषगरी कृषि उत्पादन, निर्माण क्षेत्र तथा साना तथा मझौला उद्योगको योगदान बढ्दै गएको तथ्यांकले देखाएको छ । सहायक तथ्यांक अधिकृत विनोद आचार्यका अनुसार कर्णाली प्रदेशको स्थिर मूल्यमा मापन गरिएको कूल गार्हस्थ उत्पादन वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान गरिएको छ ।
चालू आर्थिक वर्ष २०८१–८२ मा भने यो वृद्धिदर ५.२५ प्रतिशत रहने संशोधित अनुमान गरिएको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०८१–८२ मा प्रदेशको कूल गार्हस्थ उत्पादन दुई खर्ब ६३ अर्ब रूपैयाँँ रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान आगामी आर्थिक वर्षमा ४.२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको आचार्यले बताए ।
जुन चालू आर्थिक वर्षको ४.३ प्रतिशतभन्दा केही कम हो । तथ्यांकअनुसार कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तीय तथा बीमा सेवा क्षेत्रमा हुने अनुमान गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन तथा ऋण प्रवाह विस्तार हुँदै जाँदा यस क्षेत्रको गतिविधि बढ्ने अपेक्षा गरिएको हो,’ उनले भने, ‘पछिल्लो समय प्रदेशमा बैंकिङ पहुँच विस्तार, सहकारी तथा वित्तीय कारोबार बढ्दै गएकाले वित्तीय क्षेत्रले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।’
त्यस्तै विद्युत् तथा ग्यास क्षेत्रमा पनि उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ । औद्योगिक तथा घरायसी विद्युत् उपभोगमा भएको वृद्धिका कारण उक्त क्षेत्रको विस्तार हुने बताइएको छ । यातायात पूर्वाधार विस्तार तथा सडक पहुँच बढ्दै जाँदा यातायात तथा भण्डारण क्षेत्रमा समेत सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ । तर सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने न्यून वृद्धि हुने प्रक्षेपण छ ।
सरकारी खर्च अपेक्षाअनुसार विस्तार हुन नसक्दा उक्त क्षेत्रमा आर्थिक गतिविधि सुस्त रहने तथ्यांक कार्यालयले जनाएको छ । प्रदेशगत रूपमा हेर्दा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर सबैभन्दा उच्च रहने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वित्तीय तथा बीमा सेवा क्षेत्रले सबैभन्दा धेरै वृद्धि गर्ने अनुमान गरिएको छ ।
प्रतिवेदनमा मधेश प्रदेशमा कृषि क्षेत्रको वृद्धिदर ऋणात्मक रहने उल्लेख गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ । त्यस्तै कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ ।
यसैबीच आर्थिक वर्ष २०८२–०८३ मा नेपालको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक हजार पाँच सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । कर्णाली प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन भने एक हजार एक सय आठ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान गरिएको छ ।
चालू आर्थिक वर्ष २०८१–०८२ मा कर्णालीको प्रतिव्यक्ति आय एक हजार एक सय २१ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयले डलरको विनिमयदरमा आएको वृद्धिका कारण प्रतिव्यक्ति आयमा प्रभाव परेको जनाएको छ । उत्पादन, लगानी र सरकारी खर्च अपेक्षाअनुसार विस्तार हुन नसक्दा कर्णालीको आर्थिक वृद्धिदरमा दबाब परेको विश्लेषण गरिएको छ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीमा उत्पादनमुखी उद्योग, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिन सके आर्थिक गतिविधि विस्तार भई प्रदेशको अर्थतन्त्र थप सुदृढ बन्न सक्ने बताए ।
‘प्रदेश सरकारका अनुसार उपभोक्ताको मूल्यमा गरिएको गणनाअनुसार कर्णालीको अर्थतन्त्र क्रमशः विस्तार हुँदै गएको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा सडक पहुँच विस्तार, ऊर्जा उत्पादन तथा निजी क्षेत्रको लगानी वृद्धि पनि आर्थिक वृद्धिका प्रमुख आधार मानिएको छ ।’
आयोगका सदस्य असोकनाथ योगीले बेरोजगारी, पूर्वाधार अभाव तथा उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी नहुनु अझै चुनौतीका रूपमा रहेको बताए । प्रदेश सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र उद्योग विकासलाई प्राथमिकतामा राखेर आर्थिक वृद्धिदर थप सुदृढ बनाउने लक्ष्य लिएको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्