धनगढी (कैलाली) ।
कैलालीका कर नतिर्ने ५३ फर्मको नाममा सूचना जारी भएको छ । आन्तरिक राजस्व कार्यालय धनगढीले कर नतिर्ने फर्मलाई कर बक्यौता दाखिला गर्न १५ दिने सूचना जारी गरेको हो । ५३ मध्ये केहीले आयकर र केहीले मूल्य अभिवृद्धि कर तिर्न बाँकी छ भने कतिपयले दुवै कर दाखिला गर्न बाँकी रहेको सूचनामा उल्लेख छ ।
लामो समयदेखि कर बक्यौता रकम दाखिला गर्न फोन सम्पर्क, एसएमएस तथा पत्राचार गरी जानकारी गराइएको र कर दाखिला गर्न चासो नदिएकोले सूचना प्रकाशन गरिएको बताइएको छ । १५ दिनभित्र बक्यौता फरफारक नभएमा मूल्य अभिवृद्धि कर ऐनबमोजिम आवश्यकताअनुसार केही वा सबै प्रक्रिया अपनाई कर असुल उपरको कानुनी कारबाही सुरु गरिने कार्यालयले जनाएको छ ।
सञ्चालक तथा साझेदारलाई व्यक्तिगत जिम्मेवार बनाएर व्यक्तिहरूको चलअचल सम्पत्ति कब्जा गरी, लिलाम बिक्री गरी, बैंक तथा वित्तीय संस्थामा रहेको रकम कट्टा गर्न लगाई तथा फर्मको कारोबार रोक्का समेत गरी बक्यौता असुल गरिने कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्