बाँके ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिसँग छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा मंगलबार नेपालगन्जमा छलफल गरिएको हो । राप्ती सोनारी गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखालाई सञ्चार नीति निर्माणको जिम्मा दिएको छ ।
त्यही अनुसार मंगलबार कार्यसमिति लगायतसँग छलफल गरिएको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले जानकारी दिए । महासंघले अध्यक्ष गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा महासंघका सचिव कृष्ण ओली र पत्रकार प्रियास्मृति ढकाल सदस्य रहेका छन् । प्रारम्भिक मस्यौदामाथि कार्यसमितिमा छलफल गरिएपछि अब बाँकेका अग्रज पत्रकार र पालिकासँग छलफल गरिने अध्यक्ष गिरीले बताए ।
स्थानीय मिडिया र मिडियाकर्मीको व्यवस्थापनका लागि राप्ती सोनारीमा बन्न गइरहेको सञ्चार नीतिले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । मस्यौदा समितिका सदस्य समेत रहेका पत्रकार प्रियास्मृति ढकालले मस्यौदा प्रस्तुत गरेका थिए । त्यसक्रममा सहभागीहरूले स्थानीय मिडिया र मिडियाकर्मीको संरक्षण मस्यौदाको प्राथमिकतामा पर्नुपर्ने बताए ।
छलफलमा महासंघ बाँकेका सचिव कृष्ण ओली, कार्यसमिति सदस्यहरू कृष्णराज अधिकारी, आशा विक, शम्भु थारू लगायतले सुझाव दिएका थिए । सञ्चार नीतिको मस्यौदामा पत्रकारहरूको सुझावपछि कार्यपालिकासँग छलफल गरेर पालिकाले पारित गरी कार्यान्वयनमा आउनेछ ।
डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श
डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसँग छलफल गरेको हो । पालिकाले चालू आर्थिक वर्षभित्रै डुडुवा मिडिया नीति निर्माण गर्ने तयारी गरेको हो । त्यसका लागि विभिन्न चरणमा सुझाव लिने काम भइरहेको मिडिया नीति निर्माणका सदस्यसचिव सञ्जयकुमार कर्णले जानकारी दिए ।
कार्यक्रममा सहजीकरण गर्दै विज्ञ पत्रकार राकेशकुमार मिश्रले मिडियाहरूलाई व्यवस्थित गर्न पालिकाले आफ्नै मिडिया नीति बनाउन लागेको जानकारी दिए । यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले डुडुवाले मिडिया व्यवस्थापनका लागि नीतिगत रूपमै पहल गरेकोमा धन्यवाद दिए ।
सञ्चार क्षेत्रको व्यवस्थापनका लागि पालिकाले मिडिया नीति बनाउन लागेको छ । पालिकाले मिडिया नीति निमार्णका लागि पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीको संयोजकत्वमा पालिकाबाट सूचना अधिकारी सञ्जयकुमार कर्ण सदस्यसचिव र विज्ञ सदस्यमा पत्रकार राकेशकुमार मिश्र र प्रियास्मृति ढकाल रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्