ज्ञान ज्योतिले मनायो ३२औँ वार्षिकोत्सव



कोहलपुर ।

कोहलपुर नगरपालिका– ११ मा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय बगियाले आफ्नो ३२औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार विद्यालयले एक औपचारिक कार्यक्रमका बीच आफ्नो ३२औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरिन् ।

उनले सामुदायिक विद्यालयहरुमा गुणस्तर बढाउन नगरपालिकाले आर्थिक र नैतिक रुपमा सहयोग गर्दै आएको बताइन् । कोहलपुर नगरपालिकालाई शैक्षिक हब बनाउन नगरपालिकाले सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको उनको भनाइ थियो । स्थानीय सरकारको पहिलो प्रथामिक्ता नै गुणस्तर शिक्षा रहेकाले विद्यालयहरुले पनि त्यसमा सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्।

विद्यायलाहरुका भौतिक पूर्वधार निर्माणदेखि शिक्षक व्यवस्थापन नगरपालिकाले गर्दै आइरहेको बताइन् । नगरभित्रका रहेका सामुदायिक विद्यालयहरु टिनका छानामुक्त बनाउने अभियानमा नगरपालिका रहेको जानकारी दिइन् । विद्यालयले समयअनुसार गुणस्तरीय शिक्षासँग सँगै व्यवहारिक शिक्षामा जोड दिएको विद्यालयका प्रधानाध्यापक गोविन्द्र प्रसाद ढकालले बताए ।

उनले विद्यालयले आफूसँग भएका जनशक्ति र स्रोत साधानको प्रयोगबाट गुणस्तरीय शिक्षामा जोड दिएको जानकारी दिए । विद्यालय स्थपना कालदेखि ३२ औँ वार्षिकोत्सवसम्म आइपुग्दा सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरे । विद्यालयले आगामी दिनहरुमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने उनले प्रतिवद्धता जनाए ।

विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै ३२ औँ वार्षिकोत्सव मनाउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर शाहीले बताए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले पनि टिनको छानोमुनी रहेकाले त्यसको अन्त्य गर्न लागि परिहरहेको उनको भनाइ थियो ।

यस्तै विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले विद्यालय नगरपालिका सहरी क्षेत्रको सुगम ठाउँमा रहेपनि अझै पछाडी परेको बताए । विगतको भन्दा केही भौतिक सुधार भएपनि अझै विद्यालयको लागि धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार