जुम्ला ।
जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण गर्दा अनियमितता गरेको आरोपमा तीन जना कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण गर्दा अनियमितता गर्ने तीन कर्मचारी विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित रहेका १८ जनालाई नियमविपरीत सवारी चालक अनुमतिपत्र जारी गरिएको उजुरीमाथि अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएको छ । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७५–०७६ मा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित देखाइएका व्यक्तिहरूका नाममा ‘ए’ र ‘ई’ वर्गको अनुमतिपत्र जारी गरिएको पाइएको छ ।
विशेष गरी वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका शालिकराम भण्डारी नेपालमै नहुँदा लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गराई अनुमतिपत्र जारी गरिएको आयोगले जनाएको छ । भण्डारी २०७० भदौ १९ गते मलेसिया गएको र २०७५ भदौ २३ गते मात्र नेपाल फर्किएको अभिलेखमा देखिएको छ ।
आरोपपत्रमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटा, परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक गङ्गाराम विश्वकर्मा र मेकानिकल सुपरभाइजर शम्भु दाहाललाई प्रतिवादी बनाइएको छ । प्रयोगात्मक परीक्षाको नतिजा कम्प्युटर प्रणालीमा ‘एडिट’ गरी सच्याएर अनुमतिपत्र जारी गरिएको पुष्टि भएको आयोगले जनाएको छ ।
यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाको प्राविधिक विश्लेषणअनुसार निमित्त कार्यालय प्रमुख देवकोटाको ‘युजर आईडी’ प्रयोग गरी विवरण फेरबदल गरिएको पाइएको छ । प्रतिवादीहरूले गैरकानुनी लाभ पु¥याउने उद्देश्यले सरकारी अभिलेखमा अनधिकृतरूपमा परीक्षा परिणाम संशोधन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १३ अनुसार कैद तथा जरिवानाको मागदाबी सहित आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्