जुम्ला ।
कानुनी प्रावधानअनुसार २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाइन्छ । सन् २०३० सम्म बालविवाह शून्य बनाउने नेपाल सरकारको दिगो विकास लक्ष्य रहे पनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको छ । समाजमा बालविवाह प्रशस्त देखिए पनि जिल्ला प्रहरी कार्यालय जुम्लामा भने बालविवाहसम्बन्धी उजुरी शून्य छ । उजुरी नआउँदा समाजमा बालविवाह नभएकोजस्तो देखिए पनि स्वास्थ्य संस्थाका तथ्यांकले भने विपरीत चित्र प्रस्तुत गर्छन् । बालविवाहले किशोरीहरू धमाधम बालकैमा आमा बन्दै छन् ।
यसले उनीहरूको स्वास्थ्य र शिक्षामा गम्भिर असर परेको छ । जिल्लाका धेरै प्रसूति गृहमा २० वर्षमुनिका सुत्केरीको सङ्ख्या उल्लेख्य छ । जिल्लाको चन्दननाथ नगरपालिका–८ करकोटस्थित तलिउम स्वास्थ्य चौकीको प्रसूति गृहमा चालू आर्थिक वर्ष २०८२–०८३ को पुस अन्तिम सातासम्म २१ जना सुत्केरी भएका छन् । तीमध्ये ६ जना २० वर्षमुनिका छन् । यसमा १६ वर्षमुनिका दुई जना, १७ वर्षमुनिकी एकजना र १८ वर्षमुनिकी तीनजना रहेका छन् ।
सोही स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०८१–०८२ मा २९ जना सुत्केरीमध्ये सातजना २० वर्षमुनिका थिए । आर्थिक वर्ष २०८०–०८१ मा ३८ सुत्केरीमध्ये ८ जना २० वर्षमुनिका रहेको तथ्यांक छ । जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्ष २०८२–०८३ को पुससम्म २० वर्षमुनिका १०३ जना सुत्केरी भएका छन् । पातारासीमा १२, कनकासुन्दरीमा आठ, सिंजामा पाँच, चन्दननाथमा ४५, गुठीचौरमा १०, तातोपानीमा १०, तिलामा नौ र हिमा गाउँपालिकामा चारजना २० वर्ष नपुग्दै सुत्केरी भएका छन् ।
आर्थिक वर्ष २०८१–०८२ मा भने २० वर्षमुनिका सुत्केरीको सङ्ख्या २७० पुगेको जनस्वास्थ्य नर्स टिका पुनमगरले जानकारी दिइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चालू आर्थिक वर्षको पुससम्म ३४० सुत्केरीमध्ये ४० जना २० वर्षमुनिका छन् । आर्थिक वर्ष २०८१–०८२ मा ८३२ सुत्केरीमध्ये ११० जना र २०८०–०८१ मा ८४४ मध्ये ११२ जना २० वर्षमुनिका रहेको मेडिकल रेकर्डर मेघराज बुढाले बताए । प्रतिष्ठानमा जुम्लासहित कालीकोट, मुगु र डोल्पाका सेवाग्राही बढी आउने गरेका छन् ।
स्वास्थ्य संस्थाका यस्ता तथ्यांकले प्रहरीमा उजुरी नपरे पनि समाजमा बालविवाह व्यापक रहेको पुष्टि गर्छ । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास भइरहेका छन् । पछिल्लो समय बालबालिका र अभिभावक सचेत बन्दै जाँदा केही वडा तथा बस्ती बालविवाहमुक्त घोषणा हुन थालेका छन् ।
जिल्लाका ८ स्थानीय तहका ६० वडामध्ये २१ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । हिमा गाउँपालिका (१–७), कनकासुन्दरी–२, ४, ५, पातारासी–५, तिला–४, ५, ६, ८, गुठीचौर–४ र सिंजा–२, ३, ४, ६ नम्बर वडा बालविवाहमुक्त घोषणा भएका छन् । केही वडा बालमैत्री तथा पोषणमैत्री घोषणासमेत भएका छन् ।
उमेर नपुगी विवाह गर्ने वा गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानुनी व्यवस्था छ । तर कार्यान्वयन पाटो निकै फितलो छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नविनबाबु रेग्मीले प्रहरीमा बालविवाहसम्बन्धी उजुरी शून्य रहेको जानकारी दिए । त्रिवर्षीय प्रतिवेदनमा पनि यस्तो मुद्दा नदेखिएको उनको भनाइ छ ।
विवाहपछि पछुतो
जिल्लाको सिंजा गाउँपालिकाकी एक १४ वर्षीया बालिकाले कलिलै उमेरमा विवाह गरिन् । विवाह गरेको अहिले एक वर्ष बितिसकेको छ । उनका पति १६ वर्षका छन् । प्रेम सम्बन्धपछि उनीहरू भागेर विवाह गरेका हुन् । ती बालिकाकी मिल्ने साथीले पनि १५ वर्षको उमेरमै विवाह गरेकी थिइन् । साथीको देखासिकी र लहैलहमा लागेर आफूले पनि बालविवाह गरेको उनी बताउँछिन् । साथीका पति–पत्नी भने हाल भारत गएका छन् ।
कक्षा ७ पास गरेपछि विवाह गरेकी उनले अहिले पढाइ पनि छोडिसकेकी छन् भने उनका पतिले पनि पढाइ छाडेर घरायसी काममा लागेका छन् । ती १५ वर्षीया बालिकाका अनुसार भागेर विवाह गरे पनि अहिले उनीहरू सँगै बस्दैनन् । उमेर पुगेपछि विवाहलाई निरन्तरता दिने सोचमा उनीहरू आआफ्नो घरमा बस्छन् । तर यो निर्णय र भविष्यको सोचले के फरक र असर पर्ला त्यो त हेर्न बाँकी नै छ ।
‘मेरो पतिले पनि कक्षा ८ मै पढाइ छोडे । बहिनीको पनि १३ वर्षको उमेरमै विवाह भइसकेको छ,’ उनले भनिन्, ‘सानैमा विवाह गर्नु हुँदैन भन्ने सामान्य जानकारी हुँदाहुँदै पनि गाउँघरको वातावरण र साथीभाइको प्रभावले बाध्यताजस्तो बनायो ।‘ विपन्न परिवार, घरमा पढ्ने वातावरण नहुनु र बाबुआमा भारतमै बस्ने अवस्थाले पढाइ निरन्तर राख्न नसकेको उनी बताउँछिन् ।
उनका अनुसार अहिले सानै उमेरमा विवाह गर्नु गलत रहेछ भन्ने सोच आउन थालेको छ । उनले थपिन्, ‘धेरै साथीहरूले पढाइ छोडेर भारत जानुपरेको देखेँ । शिक्षा लिएर आत्मनिर्भर बनेपछि मात्रै विवाह गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ, अब पछुताएर काम छैन, तर अरु कसैले बालविवाह नगरुन् ।’









प्रतिक्रिया दिनुहोस्