काठमाडौँ ।
नेपालको डिजिटल बैंकिङ क्षेत्रलाई थप सहज र ग्राहकमुखी बनाउने उद्देश्यका साथ कुमारी बैंकले ‘कुमारी फोनलोन’अन्तर्गत ‘मल्टी डिस्बर्सल’ सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल कर्जा प्रवाहको अग्रणी प्लेटफर्म फोनलोन र कुमारी बैंकबीचको सहकार्यमा सुरू भएको यो सेवाले अब ग्राहकलाई आफ्नो आवश्यकताअनुसार कर्जाको सीमाभित्र रहेर पटक–पटक रकम निकाल्ने स्वतन्त्रता दिएको छ ।
यसअघि स्वीकृत भएको सम्पूर्ण कर्जा रकम एकैपटक लिनुपर्ने र अर्को कर्जाका लागि पुरानो ऋण चुक्ता गर्नुपर्ने बाध्यता रहेकामा यो नयाँ सुविधाले उक्त झन्झटलाई पूर्णरूपमा अन्त्य गरिदिएको छ । यो नवीन सेवाअन्तर्गत योग्य ग्राहकले आफूलाई बैंकले तोकिदिएको कूल कर्जा सीमाबाट चाहिएको बेला चाहिए जति मात्र रकम निकाल्न सक्नेछन् ।
यसरी लिइने कर्जाको सबैभन्दा ठूलो विशेषता भनेको ग्राहकले जति रकम प्रयोग गर्छन्, त्यतिमा मात्र ब्याज लाग्नेछ । बाँकी रहेको कर्जा सीमा भने भविष्यका लागि सुरक्षित रहनेछ, जसका कारण प्रयोगकर्तालाई अनावश्यक ब्याजको भार नपर्ने र वित्तीय व्यवस्थापनमा पारदर्शिता आउने विश्वास गरिएको छ । कुनै पनि कागजी प्रक्रिया वा बैंकको शाखासम्म पुग्नु नपर्ने गरी मोबाइल बैंकिङ एपमार्फत नै यो सुविधा तत्कालै उपभोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।









प्रतिक्रिया दिनुहोस्