अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ। नूकस्थित अमेरिकी वाणिज्यदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

वाणिज्यदूतावासका अनुसार यो भ्रमण ग्रिनल्याण्ड सरकारको निमन्त्रणामा हुन लागेको हो। तर प्रतिनिधिमण्डलमा सहभागी हुने सबै सांसदको नाम सार्वजनिक गरिएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार सिनेटर लिसा मर्कोव्स्की भ्रमणमा सहभागी हुने अपेक्षा गरिएको छ।
मर्कोव्स्की हालै डेनमार्क भ्रमणमा गएकी थिइन्। सो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन चाहेको अभिव्यक्तिपछि उत्पन्न तनावबारे छलफल गर्न केन्द्रित थियो।
भ्रमणका क्रममा अमेरिकी सांसदहरूले ग्रिनल्याण्डका स्थानीय अधिकारी, संसद् सदस्य तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्नेछन्। वाणिज्यदूतावासका अनुसार उक्त भेटघाटको उद्देश्य ग्रिनल्याण्ड सरकार र जनताको दृष्टिकोण बुझ्नु तथा द्विपक्षीय सम्बन्धबारे छलफल गर्नु रहेको छ।
यसैबीच, शुक्रबार फ्रान्स र क्यानडाले नूकमा आ–आफ्ना वाणिज्यदूतावास स्थापना गरेका छन्। फ्रान्सले ग्रिनल्याण्डमा वाणिज्यदूतावास खोलेसँगै स्वशासित डेनिस भूभागमा कूटनीतिक कार्यालय स्थापना गर्ने पहिलो युरोपेली संघको सदस्य राष्ट्र बनेको फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्