नागरिकको जीवनस्तर सुधार गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता



वीरेन्द्रनगर ।

सुर्खेतका दुई निर्वाचन क्षेत्रमा नेकपा एमाले उम्मेदवारले सुशासनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी प्रचार–प्रसारलाई व्यापक बनाउँदै शुक्रबार नेकपा एमाले प्रचार विभाग सुर्खेतद्वारा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक नवराज रावतले उम्मेदवारी दर्तापछि निर्वाचन अभियानअन्तर्गत पार्टीका आन्तरिक भेला तथा बैठकहरू सम्पन्न गरिएको जानकारी दिए । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार ध्रुवकुमार शाहीले समावेशी विकास, रोजगारी सिर्जना, युवा तथा कृषक केन्द्रित कार्यक्रम र सुशासनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुर्खेतलाई आर्थिक र शैक्षिक केन्द्रका रूपमा विकास गर्न संघीय सरकारबाट अधिकतम बजेट र योजना ल्याउने उनको दावी छ । यता निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणी देवकोटाले पश्चिमसुर्खेतको पूर्वाधार विकास, औद्योगिकीकरण, कृषि आधुनिकीकरण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिने बताए ।

स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै रोजगारी सिर्जना र दिगो विकासमार्फत सुर्खेतको समृद्धि सुनिश्चित गर्ने उनले प्रतिबद्धता जनाए । एमाले सुर्खेतले आगामी निर्वाचनलाई लोकतन्त्र, संविधान र विकासको पक्षमा जनमत संग्रहका रूपमा लिँदै दुवै निर्वाचन क्षेत्रमा स्पष्ट बहुमतसहित विजय हासिल गर्ने उनको दाबी छ ।

उनका अनुसार जिल्लाका नौ वटै स्थानीय तहअन्तर्गतका पालिका कमिटी, ९९ वडा कमिटी तथा दुई सयभन्दा बढी टोल कमिटीले प्रारम्भिक निर्वाचन परिचालन गतिविधि पूरा गरिएका छन् । ती गतिविधिमा पार्टीका १० हजारभन्दा बढी संगठित सदस्य परिचालित भएको उनले बताए ।
भदौ २३ र २४ गतेपछिको राजनीतिक घटनाक्रमले मुलुकमा संवैधानिक संकट र प्रतिनिधिसभा रिक्तताको अवस्था सिर्जना गरेको उनले उल्लेख गरे ।

यता एमालेले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा आवधिक निर्वाचन नै लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख मेरुदण्ड भएको स्पष्ट पारेको छ । एमाले केन्द्र र सुर्खेत जिल्ला कमिटीले केही दिनमै निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार