शिक्षालाई अनुशासन, श्रम, नैतिकतासँग जोडिरहेको ‘गोरखा स्कुल’



बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती भव्य रूपमा मनाएको छ । शिक्षालाई अनुशासन, श्रम, जिम्मेवारी, सहकार्य र नैतिकतासँग जोडेको स्कुलले ‘बुक फ्री फ्राइडे’, परियोजना कार्य, फिल्ड भिजिट, जीवनोपयोगी सीप, सिर्जनात्मक अभ्यास र सामूहिक सिकाइका माध्यमबाट विद्यार्थीलाई कक्षाकोठा बाहिरको समाजबारे जानकारी दिँदै आएको छ ।
      शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर–२ आनन्दनगरस्थित गोरखा युनाइटेड पब्लिक स्कुल पश्चिम नेपालको उत्कृष्ट शैक्षिक थलोको पहिचान बनाएको स्कुल हो । यो स्कुल २०५७ सालमा स्थापना भएको हो । ‘गुणस्तरीय शिक्षाका लािग सकारात्मक सोच’ स्कुलको मुख्य नारा हो । उक्त स्कुल आजभन्दा २५ वर्षपहिले ३३ जना सेवानिवृत्त बेलायती सैनिक र उनीहरूका परिवारका सदस्य गरी ४५ जनाको टिमले स्थापना गरेको थियो ।

१६५ जना विद्यार्थीबाट पठनपाठन सुरु भएको स्कुलमा हाल १ हजार ७ सय बढी विद्यार्थी र १३५ शिक्षक–कर्मचारी छन् । हाल दुई बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको स्कुलको बैजनाथ–४ मा ६ बिघा जग्गा खरिद गरी भवन निर्माण गरिएको छ । शिक्षालाई अनुशासन, श्रम, जिम्मेवारी, सहकार्य र नैतिकतासँग जोडेको स्कुलले ‘बुक फ्री फ्राइडे’, परियोजना कार्य, फिल्ड भिजिट, जीवनोपयोगी सीप, सिर्जनात्मक अभ्यास र सामूहिक सिकाइका माध्यमबाट विद्यार्थीलाई कक्षाकोठा बाहिरको समाजबारे जानकारी दिँदै आएको छ ।

शिक्षा मन्त्रालयबाट समेत पटक पटक उत्कृष्ट संस्थागत विद्यालयको राष्ट्रिय सम्मानबाट पुरस्कृत हुँदै ‘क’ श्रेणीको विद्यालयको मान्यता पाइसकेको स्कुलले स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती भव्य रूपमा मनाएको छ । रजत जयन्तीको अवसरमा माघ १५, १६ र १७ गते विभिन्न गतिविधि गरेर मनाइएको हो । रजत जयन्तीको अवसरमा माघ १५ गते उद्घाटन समारोह सम्पन्न भएको थियो ।

स्कुलका विद्यार्थीहरूको सहभागितामा खेलकुद गतिविधि सञ्चालन गरिएको स्कुलले जनाएको छ । १६ गते विभिन्न शैक्षिक र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । तेस्रो दिन १५ देखि २० वर्षसम्म सेवा गरेका ३९ शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयमा स्थापनाकालदेखि हालसम्म निरन्तर सेवा प्रदान गर्ने शिक्षक कर्मचारीहरू र पूर्वविद्यार्थीहरू, पूर्वशिक्षक÷कर्मचारी र पूर्वअभिभावकहरूलाई सम्मान गरिएको थियो भने विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनीलगायत गतिविधि गरिएको विद्यालयले जनाएको छ ।

रजत जयन्तीको अवसरमा विद्यालयको हाताभित्र रहेको शिलालेखको अनावरण गरियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालले शिलालेख र रजत जयन्तीको अवसरमा स्कुलले प्रकाशन गरेको ‘गोरखा स्मारिका’को समेत विमोचन गरेका थिए । उक्त अवसरमा बोल्दै जयन्ती समापन समारोहका प्रमुख अतिथि समेत रहेका अर्यालले स्कुलले हासिल गरेको शैक्षिक उचाइप्रति मुक्तकण्ठले प्रसंशा गर्दै देशलाई चाहिने योग्य जनशक्ति निर्माणमा गोरखा स्कुलको महत्वपूर्ण भूमिका रहेको बताए ।

समारोहमै विद्यालयका पूर्वविद्यार्थीहरू डाक्टर, इन्जिनियरहरूको रूपमा कार्यक्रममा सहभागिता जनाउनुले पनि गोरखाको ओज गर्विलो भएको पुष्टि भएको बताए । संघीय शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चुडामणी पौडेलले गोरखा स्कुल पश्चिम क्षेत्रमै शैक्षिक क्षेत्रमा चलायमान विद्यालय भएको औँल्याउदै देशकै नवीनतम ज्ञान, सीप र क्षमता भएका जनशक्ति उत्पादन गर्नेमा आपूm विश्वस्त रहेको विचार व्यक्त गरे । उनले बाँकेमा आपूm जिल्ला शिक्षा अधिकारी रहँदा विद्यालय स्थापना भएको स्मरण गर्दै विद्यालयले विगत दुई दशकभन्दा बढी समयदेखि यस क्षेत्रको शैक्षिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरे ।

विद्यालयका संस्थापक अध्यक्ष केशरबहादुर आलेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा अभिभावकलक्षित स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमका साथै विभिन्न स्टलहरूमार्फत शैक्षिक कलाको प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष आलेले शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा एवं बालबालिकाको चाहनाबमोजिमकोे शिक्षा प्रदानमा गोरखा स्कुलले कुनै कञ्जुस्याइँ नगरेको चर्चा गर्दै समयसापेक्ष शैक्षिक क्यालेन्डर सुधार गर्दै लगिरहेको बताए ।

उनले विद्यालय पञ्चवर्षीय कार्ययोजनाअनुरुप सञ्चालन हुँदै आएको औँल्याउदै विषयविज्ञ तथा परामर्शदाताको प्रत्यक्ष निगरानीमा शिक्षण सिकाइका क्रियाकलापहरू हँुदै आएको बताए । आफूले विगतका सबै दुःख, कष्टहरू भुलेको समेत स्मरण गर्दै संस्थापक आलेले समयको गतिसँगै शिक्षालाई आधुनिकीकरण एवं वैज्ञानिक र व्यवहारिक गराउन नवीनतम शैक्षिक विधिहरू विद्यालयले अंगीकार गर्नेमा जोड दिए ।

विद्यालयका शैक्षिक परामर्शदाता ढुन्डीराज गिरीले विद्यालयको शैक्षिक कार्यपत्र पेश गरेको कार्यक्रमको समापन समारोहमा ५ सय बढी अतिथि, अभिभावक एवं विद्यालय परिवारले कार्यक्रममा सहभागिता जनाएको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल साधना थापाको स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरूले नेपाली कला र संस्कृति झल्किने विभिन्न लोक नृत्यहरू प्रस्तुत गरेका थिए भने चर्चित गायिका टिका पुनको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो ।

प्रदेशसभा सदस्य, जनप्रतिनिधिलगायत बाँके जिल्लाका कार्यालय प्रमुखहरू, क्याम्पस प्रमुखहरू, सरकारी तथा संस्थागत विद्यालयका संस्थापक÷प्रधानाध्याकहरू, संस्थापक सेयर धनीहरू, पूर्वअभिभावक, विद्यार्थी र सामाजिक व्यक्तिवहरूको उल्लेख्य सहभागिता रहेको थियो।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार