कोहलपुर ।
बाँकेको कोहलपुुर नगरपालिका–१२ चप्परगौडीस्थित ज्ञानज्योति माध्यमिक विद्यालयले आफ्नो ४१औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विद्यालयले ४१औँ वार्षिकोत्सवको अवसर पारेर पूर्वसन्ध्यामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा सँगसँगै समाजसँग जोड्न सरसफाइ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपानेले बताइन् । वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरदेखि चप्परगौडी बजार सरसफाइ गरिएको उनले जानकारी दिइन् ।विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी बनाउन र फोहोर गर्नु हुँदैन भन्ने सचेतना फैलाउन सरसफाइ कार्यक्रमले मद्दत पुग्ने उनको भनाइ थियो ।
आफ्नो घरआँगन आफैँ सफा गर्ने बानीको विकास गर्न सबैलाई उनले आग्रह गरिन् । चप्परगौडी पुलदेखि रोहिणी पुलसम्मको सडकखण्डका दायाँ र बायाँ भागहरूमा रहेका नकुहिने प्लास्टिकजन्य फोहोरहरूको सरसफाइ गरिएको उनले बताइन् । ‘हाम्रो सहर र हाम्रो बजार हामीले सफा नगरे कसले गर्ने ?’ उनले भनिन्, ‘त्यसैले बालबालिकालाई समाजप्रति जिम्मेवार बनाउन र सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने शिक्षा दिएका हौँ ।’
आफूले प्रयोग गरेका प्लास्टिकजन्य फोहोरहरू जथाभावी नफाल्न आग्रह गर्दै उनले डम्पिङ साटइमा पाल्न सुझाव दिइन् । ज्ञानजयोति माध्यमिक विद्यालयको आयोजना, जटायु रिसाइलक प्रालि, नगर प्रहरी, ट्राफिक प्रहरीको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । विद्यालयले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा चप्परगौडी बजारक्षेत्र सरसफाइ गर्दा सकारात्मक सन्देश दिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।
नगर प्रहरी पनि सरसफाइ कार्यक्रममा सहभागी भएर स्वच्छ र सफा कोहलपुर अभियानमा विद्यालयले गरेको सरसफाइ कार्यक्रम सराहनीय रहेको उनको भनाइ थियो । विद्यालयले आज आफ्नो ४१औँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर मनाउँदै छ ।









प्रतिक्रिया दिनुहोस्