जुम्ला ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै हिमाली जिल्ला जुम्लामा त्यतिबेला चुनावी सरगर्मी ह्वात्तै बढेको छ । हिउँदेयाममा परेको हिउँसँगै बढेको जाडोको कुनै प्रवाह नगरी उम्मेदवारहरू आफ्नो ‘एजेन्डा’सहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । गाउँबस्तीदेखि सदरमुकाम खलङ्गा बजारका सार्वजनिक स्थल र चिया पसलमा चुनावी बहस गर्माएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा एक जना स्वतन्त्र र नौ विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट नरेश भण्डारी उम्मेदवार छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही, नेकपा माओवादीबाट बिर्खबहादुर शाही र भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुल ७१ हजार ७३९ जना मतदाता रहेको जिल्लामा महिला ३४ हजार २८० जना र पुरुषतर्फ ३७ हजार ४५९ जना रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा एमालेले निर्वाचनसम्बन्धी गतिविधि तीव्र पारेको छ । वडास्तरदेखि टोलस्तरसम्म छलफल, भेला र बैठकहरू भइरहेका छन् । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई तीव्र बनाएको नेकपा एमालेले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले पनि निर्वाचन लक्षित गतिविधि बढाउँदै लगेको छ । मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रमलगायतका गतिविधि गरेको छ ।
निर्वाचनका लागि एक हजार ९९९ जना निर्वाचन परिचालन समिति गठन गरिएको निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य गोमा गौतमले बताए । फागुन ४ गतेपछि मात्रै खुला प्रचार प्रसार गर्न पाइने भएकाले नेपाली कांग्रेसले भने पार्टीले आन्तरिक तयारीमा जोड दिएको छ । सङ्गठन सुदृढीकरण र कार्यकर्ता परिचालन नै अहिलेको मुख्य एजेन्डा रहेको कांग्रेस जुम्लाका नेताहरूको भनाइ छ।
सङ्गठनात्मक प्रभाव, व्यक्तित्व र माहोल बन्न सक्छ निर्णायक
सामान्यतया जुम्लाका मतदाताहरूले स्वविवेकका आधारमा प्रत्येक निर्वाचनमा मत परिवर्तन गरिरहेको पनि पाइन्छ । यहाँका कतिपय निर्वाचन क्षेत्रमा चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई निर्वाचित गराउने गरेका छन् । २०७९ को आधारमा तुलना गर्दा यसपटकको निर्वाचनमा जुम्लाको चुनावी परिणाममा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।
पहिले के थियो
जुम्लामा २०६४ को संविधान सभाको निर्वाचनमा नेकपा माओवादीबाट नरेश भण्डारी विजयी हुनुभएको थियो । विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका ललितजङ्ग शाही विजयी भएका थिए । विसं २०७४ मा भएको निर्वाचनमा माओवादी र नेकपा एमालेलगायत अरु पाटीसँग गठबन्धन हुँदा माओवादीबाट पुनः गजेन्द्र महत उम्मेदावर बने कांग्रेसका दीपेन्द्र शाहीलाई पराजित गरेर महत निर्वाचित भए ।
विसं २०७९ को निर्वाचनमा कांग्रेस, नेकपा ९माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलको गठबन्धन भएको थियो । गठबन्धनबाट उम्मेदावर बनेकी माओवादीका गोमा गौतमलाई पराजित गरी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही निर्वाचित भएका थियो । राप्रपाका शाहीले २२ हजार ८१९ मत ल्याएका थियो भने गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत आएको थियो । एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेको थियो ।
बदलिँदो राजनीतिक वातावरण
विसं २०७९ पछि देशले सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका थुप्रै चरण भोगिसकेको छ । पछिल्ला सरकारप्रतिको बढ्दो असन्तुष्टि र युवा मतदाताको राजनीतिक चेतनाले २०८२ को माहोल परिवर्तन हुने देखिन्छ ।
साथै नयाँ मतदाताको प्रवेश र सामाजिक सञ्जालमार्फत धारणा निर्माणले पनि निर्वाचन २०८२ लाई अछुतो नछोड्ने निश्चित छ । यी सबै कारणले २०८२ को निर्वाचन २०७९ भन्दा फरक बन्ने सम्भावना बढाएको छ । सरकार सञ्चालनप्रति उठेका प्रश्न, युवा मतदाताको बदलिँदो प्राथमिकता र पुराना पार्टीलाई धक्का पुग्ने अनुमान गरिएको छ ।
बढ्यो राजनीतिक गतिविधि
घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा जुम्लामा राजनीतिक गतिविधि बढेको छ । दलहरु चुनाव लक्षित अभियान र कार्यक्रममा केन्द्रित बनेका छन् । जेनजी आन्दोलनपछि केही समय सुस्ताएको दलीय गतिविधि पुनःपुरानै लयमा फर्किएको छ । रासस









प्रतिक्रिया दिनुहोस्