सल्यान ।
जिल्लाका दुई हजार ६६९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउने तयारी गरिएको हो ।
यो अभियानअन्तर्गत गत वर्ष खोप लगाउन छुटेका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेटिने छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार खोप अभियान जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन हुनेछ । जनस्वास्थ्य अधिकृत तथा खोप संयोजक तारा रिजालले जिल्लाभर रहेका २४७ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने बताइन् ।
उनका अनुसार देशव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम माघ २७ गतेदेखि फागुन ५ गतेसम्म चल्नेछ । ‘विद्यालय जाने किशोरीलाई विद्यालयमै खोप दिइनेछ भने विद्यालय नजाने किशोरीलाई नजिकको खोप केन्द्रबाट खोप लगाइने व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘खोप अभियानलाई प्रभावकारी बनाउन करिब ५०० स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गर्ने तयारी छ । जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी अभियान सञ्चालन गरिने छ ।’
जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समिति संयोजक वेलाराम रावलले सल्यानमा खोपको पहुँच राम्रो रहेको उल्लेख गर्दै आगामी दिनमा कसैलाई पनि खोपबाट नछुटाउन निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले खोप अभियानलाई प्रभावकारी बनाउँदै सबै किशोरीको पहुँचमा खोप पु¥याउन सरोकारवाला सबै निकाय सक्रिय हुनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्