राजनीतिसँगै आर्थिक क्षेत्रमा पनि दख्खल राख्ने थापा उद्योग वाणिज्य संघ नवलपरासीका पूर्वअध्यक्ष हुन् । उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षको रूपमा उनले निजी क्षेत्रको हकहितका लागि मात्र लडेनन्, बरु जिल्लामा लगानी भित्र्याउन र साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेले । निजी क्षेत्र र आर्थिक विकासका मुद्दाहरूमा उनको विशेष दख्खल रहेकाले पनि युवा र व्यवसायीहरूमाझ उनी लोकप्रिय छन् ।
पुरुषोत्तम सुवेदी । नवलपरासी ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट युवा उम्मेदवार भिमबहादुर थापा (भरत) चुनावी मैदानमा छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहेका थापा स्थानीय तहमा कार्यकाल पूरा गरेका समाजसेवीका रूपमा चिनिन्छन् ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको संस्थापक नगरप्रमुखका रूपमा नेतृत्व गरिसकेका थापाले आफ्नो कार्यकालमा नगरको जग बसाल्न र विकासका योजनाहरूलाई गति दिन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको यही प्रशासनिक अनुभव र जनस्तरको पकड नै यसपटकको उम्मेदवारीको मुख्य आधार बनेको देखिन्छ ।
संघीयता कार्यान्वयनको पहिलो चरणमा सुनवल नगरपालिकाको संस्थापक नगरप्रमुख निर्वाचित हुनु थापाको राजनीतिक जीवनको कोशेढुङ्गा सावित भयो । शून्य अवस्थाबाट नगरपालिकाको संरचना खडा गर्ने, स्रोत जुटाउने र विकासको प्रारम्भिक गुरुयोजना बनाउने श्रेय उनलाई नै जान्छ । पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली काँग्रेसका तर्फबाट चर्चामा रहेका युवा थापा लोकप्रिय मानिन्छन् ।
संस्थापक नगरप्रमुख हुँदा उनले देखाएको काम र कोभिडकालमा गरेको उदाहरणीय कार्यलाई स्थानीयले अहिले निर्वाचनको मुखमा स्मरण गर्न थालेका छन् । नगरप्रमुखको पाँच वर्षे कार्यकालमा सरकारी गाडी र तलब–भत्ताजस्ता कुनै पनि आर्थिक सुविधा नलिई ‘स्वयंसेवक’का रूपमा काम गरेर थापाले सुशासनको नयाँ मानक स्थापित गरेका थिए । पदमा पुगेर व्यक्तिगत लाभ लिनेहरूको भिडमा आफ्नै निजी साधन चढेर जनताको काम गरेका कारण उनी चर्चामा छन् ।
त्यस्तै, कोरोना महामारीको समयमा जिल्लामै पहिलोपटक प्रभावकारी उपचार केन्द्र सञ्चालनमा ल्याएर नागरिकको ज्यान बचाउन उनले खेलेको भूमिकालाई अहिले पनि सुनवलवासीले गौरवका साथ सम्झने गर्छन् । यही जनसेवाको जगमा उभिएर थापाले यसपटक क्षेत्र नं. २ को भौतिक र सामाजिक विकासका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको बताउँछन् ।
राजनीतिसँगै आर्थिक क्षेत्रमा पनि दख्खल राख्ने थापा उद्योग वाणिज्य संघ नवलपरासीका पूर्वअध्यक्ष हुन् । उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षको रूपमा उनले निजी क्षेत्रको हकहितका लागि मात्र लडेनन्, बरु जिल्लामा लगानी भित्र्याउन र साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेले । निजी क्षेत्र र आर्थिक विकासका मुद्दाहरूमा उनको विशेष दख्खल रहेकाले पनि युवा र व्यवसायीहरूमाझ उनी लोकप्रिय छन् ।
थापाले यसपटकको निर्वाचनमा ‘भौतिक विकास र आर्थिक रूपान्तरण’लाई मुख्य चुनावी एजेण्डा बनाएका छन् । उनका अनुसार क्षेत्र नं. २ को समग्र विकासका लागि सडक सञ्जालको स्तरोन्नति, व्यवस्थित सहरीकरण र कृषि पूर्वाधारको निर्माण अनिवार्य छ । उनले क्षेत्र नं. २ भित्रका रणनीतिक सडकहरूको कालोपत्रे र नयाँ सडक सञ्जाल विस्तार, स्थानीय उत्पादनलाई बजारसँग जोड्न कृषि बजार र शीतभण्डारको व्यवस्थान, औद्योगिक वातावरण निर्माण गरी युवाहरूका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना र शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारमा परिवर्तन मुख्य चुनावी एजेण्डाहरू बोकेर हिँडेका छन् ।
पार्टीभित्र र बाहिर पनि मिलनसार र स्पष्ट वक्ताका रूपमा चिनिने थापाको उम्मेदवारीले विशेषगरी युवा मतदाताहरूमा उत्साह जगाएको छ । नेपाली काँग्रेसको संगठन सुदृढीकरणमा लामो समयदेखि सक्रिय थापाले यसपटकको निर्वाचनमा आफूले जनताको विश्वास जित्ने र क्षेत्र नं. २ लाई विकासको नमुना बनाउने दाबी गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्