नारद कोहार । कपिलवस्तु ।
जिल्लाको मायादेवी गाउँपालिकामा रहेको श्री छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालय पछिल्लो समय शिक्षण–सिकाइमा आएको नवप्रयोगका कारण जिल्लाकै नमुना विद्यालयका रूपमा स्थापित हुँदै गएको छ । सीमित स्रोतसाधन हुँदाहुँदै पनि शिक्षकको सिर्जनशील सोच र निरन्तर प्रयासले यहाँको कक्षाकोठा जीवन्त बनेको छ ।
विद्यालयकी बालविकास शिक्षिका सरस्वती उपाध्याय विगत १० वर्षदेखि यही विद्यालयमा अध्यापन गराउँदै आएकी छिन् । लामो समयसम्म औपचारिक तालिमको अवसर नपाउँदा उनी परम्परागत शैलीमै सीमित रहेकी थिइन् । युनाइटेड मिसन टु नेपालद्वारा सञ्चालित ‘परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय (सीवाइसीसी)’ परियोजनाअन्तर्गत उनी क्रियाकलापमा आधारित शिक्षण–सिकाइ तालिममा सहभागी भइन् ।
तालिममार्फत नयाँ शिक्षण विधि, शैक्षिक सामग्री निर्माण र विद्यार्थीकेन्द्रित कक्षा सञ्चालनका सीप सिकेपछि उनको शिक्षण शैलीमा उल्लेखनीय परिवर्तन आयो । अहिले उनी कक्षाकोठामा आफैँ तयार गरेका सामग्री प्रयोग गरी बालबालिकालाई सक्रिय सहभागितामार्फत सिकाइ गराउँछिन् ।
विद्यालयमा मात्र होइन, बिदाको समयमा पनि उनी पसलबाट फालिएका बिस्कुट र चाउचाउका कार्टुन, कागज, बोतलजस्ता सामग्री संकलन गरी घरमै शैक्षिक सामग्री निर्माण गर्छिन् । यसरी तयार गरिएका सामग्रीले कक्षाकोठालाई आकर्षक बनाएको छ । विद्यार्थीहरू शिक्षक नहुँदा पनि आफैँ रमाउँदै अभ्यास गर्ने गर्छन् । यस प्रयासको परिणामस्वरूप विद्यार्थीको नियमित उपस्थिति बढेको छ ।
शिक्षिका उपाध्यायले भनिन्, ‘क्रियाकलापमा आधारित शिक्षणले विद्यार्थीको सुनाइ, बोलाइ र लेखाइ क्षमतामा सुधार आएको छ ।’ उनले विद्यालयमै कार्यमूलक अनुसन्धानसमेत गरेकी छिन् । यहाँको अभ्यासबाट प्रेरित भएर अन्य विद्यालयका शिक्षकहरूले पनि शैक्षिक सामग्री निर्माण थालेको उनले बताइन् ।
यसरी छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालय अहिले शिक्षण नवप्रयोग सिक्ने केन्द्र बन्दै गएको छ । प्रधानाध्यापक नरेन्द्रबहादुर कुर्मीले सरस्वतीको लगनशीलताले विद्यालयको शैक्षिक वातावरण रूपान्तरण भएको बताए ।









प्रतिक्रिया दिनुहोस्