सुर्खेत ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी कर्णाली प्रदेशमा १३ स्वतन्त्रसहित १३४ जना चुनावी मैदानमा उत्रिएका छन्। कर्णालीका १० वटै जिल्लामा मंगलबार शान्तिपूर्ण रूपमा उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी प्रतिस्पर्धामा उत्रिनेको सङ्ख्या १३४ पुगेको हो । कर्णालीमा प्रतिनिधिसभाका लागी १२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
उक्त निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टीलगायतका दलहरूले सहभागिता जनाएका छन् । कर्णालीका सुर्खेत र दैलेखमा दुई÷दुई वटा निर्वाचन क्षेत्र रहेका छन् भने अन्य सबै जिल्लामा एक÷एक निर्वाचन क्षेत्र कायम छन् ।
जसमा हुम्लामा आठजना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने एक कालीकोटमा १३ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार जाजरकोटमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने डोल्पामा नौजनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सल्यानमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने रुकुम पश्चिममा १२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै जुम्लामा १० जना, मुगुमा सातजना र दैलेखमा १८ जनाले मनोनयन दर्ता गरेका छन् । उनीहरूबीच यस पटकको चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
सुर्खेतका दुई क्षेत्रमा ३० उम्मेदवार
कर्णाली प्रदेश राजधानी सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. १ मा १३ जना र निर्वाचन क्षेत्र नं. २ मा १७ जनाको मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । कार्यालयका अनुसार सुर्खेत–१ मा नेपाली काँग्रेसबाट विष्णु खड्का, नेकपा (एमाले)बाट ध्रुवकुमार शाही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जीतबहादुर राना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टेकबहादुर सिंह ठकुरीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रविकिरण हमाल, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी, नेकपा माओवादीबाट हिरू शाही र राष्ट्रिय जनमोर्चाबाट मोहन थापाले पनि चुनावी प्रतिस्पर्धाका लागी मनोनयन दर्ता गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीबाट वीरबहादुर राना, आम जनता पार्टीबाट रेशम सेञ्चुरी, जनता समाजवादी पार्टी नेपालबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट र मितेरी नेपालबाट प्रकाश बुढा मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
यता सुर्खेत–२ मा भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल, नेपाली काँग्रेसबाट नारायणकुमार कोइराला, नेकपा (एमाले)बाट कुलमणि देवकोटा र रास्वपाबाट रमेश सापकोटाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै यो निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धाका लागी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविराम पुरी, उज्यालो नेपाल पार्टीबाट गम्भीरसिंह भुल, नेपाल मजदुर किसान पार्टीबाट तुल्छी खड्का, जनता समाजवादी पार्टी नेपालबाट दीपबहादुर नेपाली, नेकपा माओवादीबाट धर्मराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पवन थापा मगर र राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट प्रेमबहादुर तारामी, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रामजाली र नेपाल जनसेवा पार्टीबाट हृदयन्द्र अधिकारीसहित तीन स्वतन्त्र उम्मेदवार रमेश परियार, कृष्ण खत्री र उदीराम चुनाराले पनि मनोनयन दर्ता गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्